logo
२०८० चैत्र १६ शुक्रवार



पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १० घर जोखिममा

प्रदेश |


पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १० घर जोखिममा


बैतडी, असार २१ गते ।  वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पु¥याउन थालेको छ । पुर्चौँडी नगरपालिका–७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पु¥याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिनुभयो । गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरेको छ भने शौचालय भत्काएको छ । उहाँले भन्नुभयो, “बस्तीमाथिबाट खसेको पहिरोले सो ठाउँका १० घर जोखिममा परेका छन् ।”

पहिरोले घरमा क्षति पु¥याएपछि मङ्गल ऐरको परिवार विस्थापित भएर अहिले अर्को घरमा बसिरहेको छ । यस्तै पुर्चौँडी–३ मा गएरातिको वर्षाले दुई पानीघट्ट, एक कल्भर्ट र खेतबारीमा क्षति पु¥याएको छ । नगरपालिकाको वडा नं ३ स्थित सपैया खोलामा रहेका दुई घट्ट र एक कल्भर्ट बाढीले बगाएको स्थानीय खेमराज जोशीले जानकारी दिनुभयो । सपैयाखोलामा रहेको कल्भर्ट बगाउँदा नगरपालिकाको केन्द्र, वडा कार्यालय र डिलाशैनी गाउँपालिका आवतजावतमा समस्या भएको छ ।

दार्चुलामा पनि क्षति

दार्चुलाको नौगाड गाउँपालिका–४ कपडेमा बाढी र पहिरोले क्षति पु¥याएको छ । गएरातिको वर्षाले वीरकोर खोलामा आएको बाढीले एउटा घट्ट बगाएको छ भने वीरकोर खानेपानी योजना पूर्णरूपमा नष्ट गरेको स्थानीय कालुसिंह ठगुन्नाले जानकारी दिनुभयो । यस्तै पहिरोका कारण हर्क ठगुन्ना, देवसिंह ठगुन्ना र प्रेमसिंह धामीको घर जोखिममा परेका छन् ।

यसका साथै नौगाड–४ मा होपरी चट्केमा रहेको डाडाबाग आधारभूत विद्यालय पनि पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट पहिरो खस्न थालेकाले विद्यालय उच्च जोखिममा परेको स्थानीय कुमार ठगुन्नाले जानकारी दिनुभयो । साथै होपरीको ठाउँठाउँमा पहिरो जाँदा आवतजावतमा पनि समस्या भएको छ । यही असार १४ गतेको पहिरोले होपरीगाड लघुजलविद्युत्को नहर भत्किएपछि हालसम्म पनि उक्त क्षेत्रमा विद्युत् सेवा सञ्चालन हुनसकेको छैन । सोही नहर भत्किएर पहिरो जाँदा होपरीमा दुई जनाको ज्यान गएको थियो भने पाँच घाइते भएका थिए ।

खोलाले बगाउँदा एक महिलाको मृत्यु

खोलाले बगाउँदा बैतडीमा शनिबार एक महिलाको मृत्यु भएको छ । पुर्चौँडी नगरपालिकास्थित जमाडी खोलाले बगाउँदा अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । जमाडीखोलाले बगाएर ल्याएको अवस्थामा गिरीजाबगर भन्ने स्थानमा महिलाको शव फेला परेको हो ।

उहाँले भन्नुभयो, “मृत महिलालाई खोलाले बगाएर ल्याएको जस्तो छ ।” शनिबार मध्याह्न स्थानीय बासिन्दाले खोला किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?