logo
२०८१ बैशाख १३ बिहीवार



चीनमा वर्षाको कहर, १२ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


चीनमा वर्षाको कहर, १२ जनाको मृत्यु
तस्विर-गुगलन्युज


बेइजिङ, असार १५ गते । चीनको दक्षिणमा अवस्थित सिचुवान प्रान्तमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । वर्षादको मौसम भएका कारण ठूलो सङ्ख्याका मानिसको उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको प्रान्तीय अधिकारीहरूले जनाएका छन् ।
सिचुवानको मियानिङ काउन्टीमा भएको भारी वर्षाका कारण पुलहरू र राजमार्गमा क्षति पुग्नुका साथै केही सवारी साधन बाढीले बगाएको छ । स्थानीय उद्धारकर्मीका अनुसार मियानिङमा अरु १० जना बेपत्ता भएका छन् भने सात हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
दक्षिणी चीनमा जुन महिना सुरु भएलगत्तै भारी वर्षा भइरहेको र त्यसबाट सिर्जित बाढी र पहिरोले मानिसको मृत्यु हुने क्रम बढेको छ । विपद व्यवस्थापन मन्त्रालयका अनुसार हालसम्म ७८ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले धनसम्पत्तिको क्षति, सडक अवरोध र अन्य किसिमका अवरोधका कारण दक्षिणी चीनका झण्डै एक करोड २० लाख मानिस प्रभावित भएको जनाएको छ । मन्त्रालयले करिब सात लाख २० हजार मानिसलाई सुरक्षित स्थलमा स्थानान्तरित गरिएको बताएको छ ।
बाढी, पहिरोका कारणबाट दक्षिण चीनमा हालसम्म करिब तीन अर्ब ६० करोड डलर बराबरको क्षति पुगिसकेको पनि मन्त्रालयले जनाएको छ । स्थानीय टेलिभिजनमा प्रसारित फुटेजहरूमा पूरै गाउँ र खेती जलमग्न भएको देखिएको छ ।
चोङकिङ महानगरमा पनि पानीको सतह खतराको स्तरभन्दा झण्डै पाँच मिटर माथि देखिएको छ, र यो पछिल्ला वर्षको उच्चत्तम रेकर्ड हो । चीन सरकारले बाढी पीडित नागरिकको उद्धार र राहतका लागि ठूलो बजेट विनियोजन गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?