logo
२०८१ बैशाख १२ बुधवार



फ्लोयडको अन्त्येष्टिमा सहभागीले भने, “उहाँ विश्वलाई नै परिवर्तन गर्ने प्रेरणा हो”

अन्तर्राष्ट्रिय |


फ्लोयडको अन्त्येष्टिमा सहभागीले भने, “उहाँ विश्वलाई नै परिवर्तन गर्ने प्रेरणा हो”


होस्टन
जेठ २८ गते। अमेरिकामा हत्या गरिएका अश्वेत नागरिक जर्ज फ्लोयडको मङ्गलबार अन्त्येष्टि गरिएको छ । उहाँका इष्टमित्र, छिमेकी र समर्थकहरूले अन्त्येष्टि समारोहमा उहाँलाई “महान फ्लोयड” भन्दै स्मरण गरेका थिए ।
एक जना श्वेत प्रहरीले अश्वेत फ्लोएडलाई घाँटी थिचेर हत्या गरेको देखाउने भिडियो सार्वजनिक भएकाले उहाँको हत्या भएको दाबी गरिएको छ । ह्युस्टन चर्चमा भएको अन्त्येष्टि समारोहमा झण्डै पाँच सय जना शुभेच्छुक तथा इष्टमित्रहरू सहभागी भएका थिए । उनीहरू सबैले कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिनका लागि मुखमा मास्क लगाएका थिए ।

हत्या भएको झण्डै दुई हप्तापछि उहाँको अन्त्येष्टि भएको हो । उहाँको हत्या भएको र अमेरिकामा अश्वेत नागरिकहरूलाई यस्तै अन्याय पटकपटक हुने गरेको भन्दै आन्दोलन भएको थियो । उनीहरूले यस्ता घटना फेरि दोहोरिन नदिन र फ्लोयडलाई न्याय दिन माग गरेका थिए ।

फ्लोयडको हत्याको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरूले अहिलेको आन्दोलनले विश्वव्यापी रुप लिएको र आगामी दिनमा यस्ता घटना हुन नदिन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । अन्त्येष्टिमा सहभागीहरूको भनाइ थियो, उहाँको हत्याकाे विरुद्धमा भएको आन्दोलनले यस्ता घटना न्यूनीकरणका लागि सहयोग गर्ने विश्वास गर्न सकिन्छ ।

उनीहरूले ४६ वर्षीय फ्लोएड हत्याकाण्ड र त्यसपछिको आन्दोलनले विश्वलाई नै परिवर्तन गर्ने र प्रेरणाको श्रोत हुने पनि बताएका छन् । उहाँको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा हिरासतमा रहेको बेला निधन भएको थियो । उहाँको हत्या सम्बन्धी भिडियोमा उहाँलाई आठ मिनेट ४६ सेकेण्डसम्म घाटी थिचिएको देखाइएको छ ।

घाटी थिचिरहँदा आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै छट्पटाई रहेको भिडियोले आन्दोलनकारीलाई थप आन्दोलित बनाएको उहाँका समर्थकहरूको भनाइ छ ।अमेरिकाबाहेक अन्य धेरै देशमा उहाँको हत्याका विरुद्धमा आन्दोलन भएको थियो भने अमेरिकामा मात्रै दर्जनभन्दा बढी मानिसको यही आन्दोलनका क्रममा मृत्यु भएको छ ।

आन्दोलन चर्किएकाले अमेरिकाका ४० भन्दा बढी सहरमा कर्फ्यु लगाउनुपरेको थियो । प्रदर्शनकारीले कर्फ्युसमेत तोडेर प्रदर्शन गरेका थिए । प्रहरी र प्रदर्शनकारीका बीचमा भएको झडपका क्रममा दर्जनौँ घाइते भएका थिए भने सयौँ गिरफ्तार भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप