logo
२०८१ बैशाख ४ मंगलवार



दिल्लीका मुख्यमन्त्री केजरीवाल बिरामी, भोलि कोभिड–१९ परीक्षण गरिने

अन्तर्राष्ट्रिय |


दिल्लीका मुख्यमन्त्री केजरीवाल बिरामी, भोलि कोभिड–१९ परीक्षण गरिने


नयाँ दिल्ली, जेठ २७ गते ।
भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ हुनुभएको छ । ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरू उहाँलाई देखिएको केजरीवाल निकटस्थ स्रोतले जानकारी दिएका छन् ।
कोरोनाभाइरसको सङ्क्रमण हुँदा देखिने लक्षणसँग मिल्दाजुल्दा लक्षणहरू देखिएपछि उहाँ सोमबारदेखि आफ्नै निवासमा छुट्टै बस्न थाल्नुभएको छ । उहाँको भोलि मङ्गलबार कोरोना परीक्षण गर्ने तयारी भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।
आइतबार दिउँसोदेखि उहाँले आफ्ना सबै बैठक तथा भेटघाटहरूलाई स्थगित गर्नुभएको जनाइएको छ । आम आद्मी पार्टीका नेतासमेत रहनुभएका ५१ वर्षीय केजरीवाललाई कोरोनाभाइरसका बिरामीलाई देखिनेजस्तै लक्षण देखिएको र मङ्गलबार परीक्षण गर्ने तयारी भएको पार्टीका अर्का नेता तथा राज्य सभा सदस्य सन्जय सिंहले जानकारी दिनुभयो ।
“दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाललाई आइतबार दिउँसोदेखि ज्वरो र घाँटी दुख्ने लगायतका लक्षणहरू देखिएको छ, चिकित्सकहरूले कसैसँग सम्सर्गमा नरहने गरी अलग्गै बस्न सुझाव दिएका छन्,” सिंहले भन्नुभयो । मुख्यमन्त्री केजरीवाललाई चाँडै निको होस् भनेर आफूले कामना गरेको र कोरोनाभाइरस नलागेको विश्वास व्यक्त गर्नुभयो ।
उहाँ छुट्टै बस्न थालेर भेटघाट तथा बैठकहरू स्थगित गरेपनि दिल्ली सरकारको काम कारबाहीमा कुनै असर नपर्ने समेत सिंहले दाबी गर्नुभयो । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा अहिलेसम्म २८ हजार ९३६ जना सङ्क्रमित भएका छन् भने कोरोनाका कारण दिल्लीमा मात्रै ८१२ जनाको मृत्यु तथ्याङ्क राज्य सरकारको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?