logo
२०८१ बैशाख ७ शुक्रवार

  अन्य विकसित राष्ट्रको तुलनामा अमेरिकी प्रहरी  



नागरिकलाई कैद, नियन्त्रण र इन्काउण्टर गर्ने निकै बढी

अन्तर्राष्ट्रिय |


नागरिकलाई कैद, नियन्त्रण र इन्काउण्टर गर्ने निकै बढी


इश्वरचन्द्र झा
काठमाडौँ, जेठ २६ गते । अमेरिकामा पछिल्लो दुई सातादेखि प्रमुख शहरका सडक र गल्लीमा विरोध प्रदर्शन गर्दैआएका हजारौँ अमेरिकीको एउटै माग छन् । जर्ज फ्लोयडको मृत्युले न्याय पाउन र अफ्रिकी मूलका अमेरिकी नागरिकको प्रहरीद्वारा मारिने क्रम रोकियोस् ।
अमेरिकी प्रमुख शहरका सडक र गल्ली हुँदै उक्त प्रदर्शन विश्वव्यापी बनेको छ । अमेरिकामा जर्ज फ्लोयडको मृत्युपछि सुरु भएको प्रदर्शन क्यानाडा, बेलायत हुँदै अष्ट्रेलियासम्म पुगेको छ । अमेरिकी अश्वेत नागरिकमाथिको ज्यादतीविरुद्धको प्रदर्शनमा विश्वभरिबाट ऐक्यबद्धता जनाइएको छ ।
जर्ज फ्लोयड प्रत्येक वर्ष प्रहरीद्वारा मारिने थुप्रै अमेरिकीमध्ये एक हुन् । तर अन्य विकसित राष्ट्रमा भने यस्ता घटना विरलै मात्रै भेटिन्छ । तथ्याङ्कगत तुलनाले अमेरिकी प्रहरीबाट अन्य विकसित राष्ट्रको तुलनमा नागरिकलाई नियन्त्रणमा लिने, कैद गर्ने वा इन्काउन्टर गर्ने निकै बढी पाइएको छ ।
प्रस्तुत विवरण समेटिएको सबै राष्ट्र ‘जी सेभेन’ अन्तर्गतका हुन् । र सबैको अर्थतन्त्र करिब उही हो । विश्वव्यापीरुपमा सम्पन्नता, स्वतन्त्रता र प्रजातान्त्रिक सूचकमा पनि करिब समानता हो । तर पुलिसिङ् र अपराधिक न्यायमा अमेरिका उलेख्य रुपमा फरक देखिन्छ । र अश्वेत अमेरिकी अव्यवहारिक र असमान रुपले प्रभावित बनेको देखिन्छ ।

थुनामा मृत्यु
अमेरिकामा प्रहरी थुनामा हुने मृत्यु अष्ट्रेलियाको भन्दा दोब्बर र बेलायतको भन्दा छ गुणा बढी छ । अष्ट्रेलियामा प्रतिएक लाख थुनुवामध्ये पाँच जनाको मृत्यु हुन्छ । बेलायतमा उक्त सङ्ख्या दुई हुँदा अमेरिकामा औसतमा १२ जना थुनुवाको प्रहरी नियन्त्रणमा मृत्यु हुन्छ ।
(प्रहरी हिरासतमा मृत्युको तथ्याङ्क जुन २०१५ देखि मार्च २०१६ सम्म ब्यूरो अफ जस्टिस स्टेटिस्टक्स अमेरिका, इन्डेपेन्डेन्ट अफिस फर पुलिस कन्डक्ट, अष्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलोजी ग्राफिकबाट लिइएको हो ।)
गिरफ्तार, मृत्यु र थुनुवाको सङ्ख्या विकसित राष्ट्रमा एकरुपले पाउन कठिन छ । जसले गर्दा यथार्थमा अमेरिकी प्रहरी नियन्त्रणमा प्रत्येक वर्ष हुने मृत्युको तथ्याङ्क पाउनु असम्भवजस्तै छ । राष्ट्रव्यापी रुपमा यस प्रकारको सूचनाको विवरण अमेरिकी निकायमा उपलब्ध छैन् ।
अमेरिकी सङ्घीय अनुसन्धान निकाय (एफबीआई)का पूर्व निर्देशक जेम्स कोमीका अनुसार तथ्याङ्क उपलब्ध नरहेकोले तथ्यगत बहस गर्न सकिन्न । सन् २०१५ मा हाउस जुडिसियरी कमिटि समक्ष कोमीले दिनुभएको एक बयानमा भन्नुभएको छ, “पछिल्लो साता कतिजना अमेरिकी चलचित्र हेर्न सिनेमा घर पुगेको तथ्याङ्क सर्वसाधारणबाट पाउन सकिन्छ तर यस महिना वा वर्षमा अमेरिकी प्रहरीद्वारा कतिजना मारिए तथ्याङ्क कतै उपलब्ध छैन ।”
त्यसैले आफूहरू अनुमानमा भर पर्न बाध्य भएको एफबीआईका पूर्व निर्देशक कोमी बताउनुहुन्छ ।
सन् २०१५ को जुनदेखि २०१६ को मार्च महिनासम्म नौ महिनामा एक हजार ३४८ जना अमेरिकीको प्रहरी नियन्त्रणमा सम्भावित मृत्यु भएको छ । सोही अवधिमा अष्ट्रेलियामा २१ र बेलायतमा १३ जनाको मृत्यु भएको हो । मासिक रुपमा १३५ जना अमेरिकी प्रहरी नियन्त्रणमा मारिन्छ । प्रत्येक दिन चार जनाको मृत्यु हुन्छ

इन्काउन्टरको अवस्था
अमेरिकी प्रहरी विकसित अन्य राष्ट्रको अपेक्षा व्यक्ति हत्यामा पनि अगाडि छन् । एकजना प्रहरी अधिकारीले सन् २०१८ मा ४०७ जनालाई ऐनमै व्यवस्था गरिएको ‘उचित हत्या’मा संलग्न रहेको तथ्याङ्क एफबीआईसँग छ । विगतकाे वर्षको अपेक्षा उक्त सङ्ख्यामा कमी आएको एफबीआईले जनाएको छ । व्यक्ति हत्यापछाडि उचित कारण देखाइए पनि एफबीआईको तथ्याङ्कमा प्रत्येक हत्याको तथ्याङ्क जोडिन्न ।
वाशिङ्गटन पोष्टका अनुसार सन् २०१९ मा एक हजार सात जना अमेरिकी प्रहरी कारबाहीमा मारिए । सन् २०१८ मा अमेरिकी प्रहरीको ‘इन्काउन्टर’मा एक हजार जना मारिएका छन् । प्रति एक करोड व्यक्तिमा ‘इन्काउन्टर’मा मारिनेको सङ्ख्या ३१ जना छन् । सन् २०१८ मै जर्मनीमा प्रहरी ‘इन्काउन्टर’मा ११ जना मारिएका छन् । प्रति एक करोड व्यक्तिमा एक जनाको मारिन्छ ।
अष्ट्रेलियामा प्रहरी ‘इन्काउन्टर’मा सन् २०१७ मा आठ जना मारिएका छन् । प्रति एक करोडमा उक्त सङ्ख्या तीन छ । स्वीडेनमा सन् २०१८ मा छ जना ‘इन्काउन्टर’मा मारिएका छन् । औसतमा प्रति एक करोडमा छ जना मारिन्छ ।
न्युजिल्याण्डमा सन् २०१८ मा एक र बेलायतमा तीन जना प्रहरी ‘इन्काउन्टर’मा मारिएका छन् । बेलायतमा प्रति एक करोड व्यक्तिमा एक जना र न्युजिल्याण्डमा दुई जना मारिन्छ ।
(स्रोत–वाशिङ्गटन पोष्ट र प्रहरी तथा मीडिया हिंसा विश्लेषण सम्बन्धी अमेरिकी प्रतिवेदन, इन्डेपेन्डेन्ट अफिस फर पुलिस कन्डक्ट(बेलायत), अष्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलोजी, यूनिभर्सिटि अफ अप्लाइड साइन्स फर पुलिस एन्ड एडमिनिस्ट्रेशन, जर्मनी, स्वीडीश नेशनल पुलिस बोर्ड र न्युजिल्याण्ड पुलिस ग्राफिक ।)
गिरफ्तारी
सन् २०१८ मा अमेरिकामा औसतमा प्रति एक सय व्यक्तिमा तीन जना प्रहरी नियन्त्रणमा लिइएको देखियो । सन् २०१८ को जुलाईदेखि सन् २०१९ को जुनसम्म अष्ट्रेलियामा दुई र बेलायतमा प्रति एक सय जनामा एक जना प्रहरी नियन्त्रणमा लिइएको तथ्याङ्कले देखाउँछ ।
प्रहरी नियन्त्रणमा पर्नेमध्ये विश्वका अन्य विकसित राष्ट्रको तुलनामा थुप्रै अमेरिकी थुनामा पर्छन् । सन् २०१८ मा अमेरिकामा एक करोड तीन लाख ९६० जना अमेरिकी गिरफ्तार गरिए । औसतमा प्रत्येक ३२ अमेरिकी नागरिकमा एक जना गिरफ्तार भएको पर्न आउँछ ।

अश्वेत नागरिकको अवस्था
सन् २०१६ को एक तथ्याङ्कबमोजिम अमेरिकी प्रहरीले गोरा नागरिकभन्दा चार गुणा बढी बल अश्वेतमाथि लगाउँछन् । प्रति एक लाखमध्ये २७३ जना अश्वेत नागरिक गिरफ्तार गरिन्छ । गोरा अमेरिकीको सङ्ख्या प्रति एक लाखमा औसत ७६ पर्न आउँछ ।
(स्रोत– सेन्टर फर पुलिस इक्विटि)
अमेरिकी जर्नल अफ हेल्थले सन् २०१६ मा सार्वजनिक गरेको एक प्रतिवेदन बमोजिम प्रहरी हस्तक्षेपमा गोरा अमेरिकीभन्दा अश्वेत अमेरिकीको मारिने सम्भावना तीन गुणा बढी हुन्छ ।

अमेरिकामा कैदीको अवस्था
अमेरिकीमा कैदीको सङ्ख्या पनि विश्वमै सबैभन्दा बढी छन् । लण्डनमा कार्यालय रहेको ‘वल्र्ड प्रिजन ब्रिफ’का अनुसार सन् २०१८ मा अमेरिकामा औसतमा प्रति एक लाख व्यक्तिमा ६५५ जना कारागारमा छन् । बेलायतमा १४०, क्यानाडामा ११४, फ्रान्समा १००, इटालीमा ९८, जर्मनीमा ७५ र जापानमा ४१ जना कारागारमा छन् ।
अमेरिकी कारागारमा रहेका कैदीको सङ्ख्या बराबर अमेरिकाको चारवटा शहरका बासिन्दाको जनसङ्ख्या हुन आउँछ । अमेरिकी कारागारमा करिब २२ लाख कैदी छन् । वाशिङ्गटन, डीसी, बोस्टन र मियामीबासीको जनसङ्ख्या जोड्दा कैदीको हाराहारीमा हुन आउँछ । ‘प्रिजन पोलिसी इनिसिएटिभ’का अनुसार एक राज्यलाई राष्ट्रको रुपमा मान्दा अमेरिकाको ३१ राज्य विश्वमा सबैभन्दा बढी कैदी हुने राष्ट्रमा आउँछ ।
ओकलाहम, लुसियाना र मिसिसिपि राज्यमा औसतमा प्रत्येक एकसय जनामा एक जना जेलमा हुन्छन् । अमेरिकापछि कारागारमा सबैभन्दा बढी व्यक्ति एल साल्भाडोरमा छन् । एल साल्भाडोरमा प्रति एक लाख व्यक्तिमा ६१४ जना कारागारमा छन् ।
अमेरिकाको कुल जनसङ्ख्याको आठौँ भाग अफ्रिकी मूलका अमेरिकीको सङ्ख्या छन् । तर कारागारमा भने कुल कैदीको एक तिहाइ अफ्रिकी मूलका अमेरिकी छ्न् । प्रति एक लाख कैदीमा २७३ जना अश्वेत नागरिक छन् । ७६ जना गोरा छन् ।
(स्रोत–सेन्टर फर पुलिसिङ् इक्विटि)
बेलायत र क्यानाडामा पनि अश्वेत नागरिकमाथिको विभेद सामान रुपमा रहेको बताइन्छ । तर यतिको ठूलो सङ्ख्यामा यस प्रकारको असमानता देखिन्न ।
यी तथ्यहरूका आधारमा अफ्रिकी मुलका अमेरिकी नागरिकमाथिको व्यवहारले फ्लोयडको प्रहरी नियन्त्रणमा हत्यापछि प्रदर्शनको क्रममा न्यायिक सुधारको माग गरेको सुनिश्चित हुन आउँछ ।
(सीएनएनका लागि रब पिचेटा र हेनरिक पेटरसनको रिर्पोटको अनुवादित अंश )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?