logo
२०७७ असार २३ मंगलवार

सोमालियामा बाढीका कारण २९ जनाको मृत्यु, १० लाख प्रभावित

अन्तर्राष्ट्रिय |


2020-06-05-15842


मोगादिसु, जेठ २३ गते।
सोमालियामा भारी वर्षापछि नदीहरूमा आएको बाढी किनार क्षेत्रका बस्तीमा पस्दा कम्तीमा २९ व्यक्तिको मृत्यु भएको राष्ट्रसङ्घीय मानव सहायता संस्था ‘ओसीएचए’ ले शुक्रबार जानकारी गराएको छ ।
अप्रिलदेखि अहिलेसम्म आएका बाढीका कारण २९ जनाको मृत्यु भएको र करिब १० लाख सोमालियाली नागरिक प्रभावित बनेको राष्ट्रसङ्घीय निकायले बताएको हो । सोमालियाका विभिन्न २९ जिल्लामा बाढीका कारण चार लाख १८ हजार व्यक्ति विस्थापित बनेका छन् । मानवीय सहयोगका लागि विस्थापितसम्म राहत र पालहरू लिएर पुग्नका लागि राष्ट्रसङ्घको प्रयास निरन्तर रहेको बताइएको छ ।

ठूलो वर्षापछि हजारौँ हेक्टर जमिनमा लगाएको बाली बाढीले पुरेको वा बगाएको छ भने यसका कारण सोमालियाका बाढी प्रभावित क्षेत्रमा खाद्य सङ्कट बढेको ओसीएचएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रसङ्घ मानवीय सहयोग निकायहरू वर्षा र बाढीका कारण भएका विनाशकारी असरलाई कम गर्न दुई लाख ५५ हजार मानिसका लागि खाद्यान्न, औषधि तथा अतिआवश्यकीय मानवीय सहयोगसहित घटनास्थलमा पुगेका छन् ।

“सहयोगमा खाद्यान्न, सफा पिउने पानी, आकस्मिक बासस्थान, पोषण र औषधिजन्य सामग्रीको आपूर्ति भएको छ,” उक्त संस्थाले बताएको छ । राष्ट्रसङ्घीय निकायका अनुसार सोमालियामा वार्षिक वर्षाको औसत ७५ प्रतिशत मात्रा अप्रिलदेखि जुन महिनामा हुने भएकोले यो समयमा बढी वर्षा हुने र बाढी आउने र बस्तीहरू डुबानमा पर्ने गर्दछन् । वर्षाका कारण आफ्नो जीविकोपार्जनको एकमात्र उपाय मान्ने कृषिमा आश्रित समुदायहरू बढी प्रभावित हुने गर्छन् । विश्वव्यापी महामारीसँग जुझिरहेका सोमालियाली नागरिकलाई बाढी र डुबानले थप सङ्कटग्रस्त बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप