logo
२०८१ बैशाख ८ शनिवार



कोरोना भएको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा

फिचर |
अन्तर्राष्ट्रिय |


कोरोना भएको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा


कम्पाला, जेठ २३ गते।
युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थाल्नुभएको छ । उहाँसँग सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उहाँले एकान्तमा बस्ने घोषणा गर्नुभएको हो ।
उहाँको सम्पर्कमा रहेका व्यक्तिलाई शुक्रबार कोरोना पुष्टि भएपछि प्रधानमन्त्री आफैँ आइसोलेसनमा बस्नुभएको अधिकारीहरूले जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा उहाँले लेख्नुभएको छ, “साथीहरू म आफैँ आइसोलेसनमा बस्न थालेको छु, कोरोनाभाइरस परीक्षणका क्रममा मेरो रिपोर्ट ठीक आएको भएपनि मेरो सम्पर्कमा रहेको व्यक्तिमा सङ्क्रमण पुष्टि भएकोले स्वास्थ्य अधिकारीहरूको निर्णय र सुझाव अनुसार म आइसोलेसनमा बस्न लागेको हुँ ।”
उहाँ कोरोनाभाइरस विरुद्धको लडाइँमा देशको नेतृत्व गरिरहनुभएको थियो । उहाँमातहत नै यससम्बन्धी समिति रहेको थियो । स्वास्थ्य मन्त्रालयले सबै मन्त्रीहरूको स्वास्थ्य परीक्षण गरेपछि प्रधानमन्त्रीलाई अलग बस्नुपर्ने निष्कर्ष निकालिएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता इम्यानुएल एनेब्युनाले उहाँहरूको फेरि केही दिनमा दोहोर्याएर परीक्षण गरिने जानकारी दिनुभयो । “मन्त्रीहरू विभिन्न ठाउँमा जाने गरेको, मानिसहरूलाई भेट्ने गरेको भएकाले शङ्का लागेर कोरोना परीक्षण गरिएको थियो,” उहाँले भन्नुभयो ।
युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार युगाण्डामा शुक्रबारसम्ममा ५५७ व्यक्ति सङ्क्रमित रहेका छन् भने ८२ जना निको भएर घर फर्किएका छन् । युगाण्डामा अहिलेसम्म सङ्क्रमित व्यक्तिको मृत्यु नभएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?