logo
२०८१ बैशाख ८ शनिवार



इटालीले युरोपेली मुलुकका लागि पर्यटक आगमन खुला गर्ने

अन्तर्राष्ट्रिय |
पर्यटन |


इटालीले युरोपेली मुलुकका लागि पर्यटक आगमन खुला गर्ने


रोम, जेठ २१ गते। इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ । कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो ।
गर्मी मौसम शुरु भएसँगै इटालीको मुख्य व्यवसाय पर्यटन उद्योगलाई पुनर्जीवित तुल्याउने आशाका साथ इटालीले उक्त कदम चालेको हो । पर्यटकहरूले भेनिस समेत महत्वपूर्ण पर्यटकीय क्षेत्रमा भ्रमण गर्न सक्नेछन् ।
तर ठूलो सङ्ख्यामा मानिसको कोरोनाभाइरसका कारण मृत्यु भएको इटाली भ्रमण गर्न पर्यटकलाई त्यति सहज भने हुने छैन । युरोपकै अन्य देश पनि महामारीको चपेटामा परेकाले निर्बाध र निःसंकोच इटाली घुम्न पर्यटकलाई मानसिक तनाब हुने अनुमान गरिएको छ ।
युरोपमै कोरोनाभाइरसका कारण हटस्पटका रुपमा रहेको इटालीमा शुरुआती दिनहरूमा ठूलो सङ्ख्यामा मानिसको मृत्यु हुनुका साथै कोरोना सङ्क्रमितको सङ्ख्या ठूलो थियो । हालसम्म इटालीमा ३३ हजारभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।
कोरोनाभाइरस फैलन नदिने उपायस्वरुप इटालीले मार्च महिनाको शुरुआतदेखि नै लकडाउन जारी गरेको थियो । लकडाउन कडा पारिए पछि मात्र कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आउन थालेको थियो । दोस्रो विश्यवयुद्ध पछि पहिलोपटक अर्थतन्त्रमा मन्दीको अनुभव गरेको इटालीको अर्थतन्त्रमा सुधार ल्याउन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका हुनेछ, र यो जतिसक्दो चाँडो खुला गरिनु आवश्यक छ ।
तर अझै पनि इटालीमा दैनिक दर्जनौं व्यक्ति कोरोना सङ्क्रमित भेटिएका छन्, खासगरी उत्तरी लोम्बार्डी क्षेत्रमा कोरोना सङ्क्रमित देखिएका छन् । विज्ञहरूले इटालीले यात्रामा खुकुलो पार्न हतार गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय उडानहरू इटालीका मुख्यतः तीनवटा शहरहरू मिलान, रोम र नेपल्समा हुनेछ । तर कार, रेल र पानी जहाजबाट इटाली आउने मानिसहरू जहाँ पनि जान सक्नेछन् ।
स्वीट्जरल्यान्डले आफ्ना नागरिकलाई इटालीको भ्रमण गरेर फर्किए आवश्यक स्वास्थ्य सकर्तता अपनाउन चेतावनी दिएको छ । स्वीट्जरल्यान्डले यही जुन १५ मा इटाली बाहेक जर्मनी, फ्रान्स र अस्ट्रियासँगको सीमा खोल्दैछ । अस्ट्रियाले पनि मध्य जुनदेखि इटाली बाहेकका जर्मनी, स्वीट्जरल्यान्ड, चेक गणतन्त्र, स्लोभाकिया र हंगेरीसँगको सीमा खोल्दैछ ।
इटालीमा लकडाउनले आर्थिक क्षेत्रमा सर्वाधिक प्रभाव पारेको अध्ययनहरूले देखाएका छन् । पर्यटन क्षेत्रको योगदान इटालीको अर्थतन्त्रमा १३ प्रतिशतको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) रहेको छ ।
लकडाउनका कारण इटालीका ऐतिहासिक क्षेत्रहरू, रेस्टुराँ, होटल तथा अरु पर्यटकीय गतिविधिका क्षेत्रहरू बन्द गरिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?