logo
२०८० चैत्र १५ बिहीवार



फ्रान्समा कोरोना सङ्क्रमित र मृतकको सङ्ख्या घट्दै

अन्तर्राष्ट्रिय |


फ्रान्समा कोरोना सङ्क्रमित र मृतकको सङ्ख्या घट्दै


पेरिस, जेठ १ गते। फ्रान्समा कोरोना भाइरसको सङ्क्रमितहरूको सङ्ख्या घट्दैगएको देखिएको छ । यहाँका अधिकारीहरूले यसलाई नियन्त्रणउन्मुख भएको भनेका छन् । पछिल्लो २४ घण्टामा जम्मा ८३ जनाको मात्र निधन भएको छ । यहाँ गएको दुई दिनदेखि लगातार रुपमा मृतकको सङ्ख्या घटेको हो ।

प्राप्त समाचारअनुसार मङ्गलबार ३४८ जनाको ज्यान गएको थियो । तर त्यसपछि बुधबार र बिहीबार पनि यो सङ्ख्यामा कमी आएको छ । यो अवस्थालाई फ्रान्सका अधिकारीहरूले खुसीको खबर भनेका छन् । उनीहरूले पछिल्लो समयमा फ्रान्समा जारी रहेको कडा लकडाउनका कारण यहाँको अवस्थामा सुधार हुन लागेको बताएका छन् ।

साथै यस हप्ता अस्पतालमा भर्ना हुने नागरिकको सङ्ख्यामा पनि नाटकीय रुपमा कमी आएको बताइएको छ । फ्रान्समा बुधबारसम्मको तथ्याङ्कअनुसार २७ हजार ७४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । साथै सङ्क्रमित हुने र अस्पताल भर्ना हुनेको सङ्ख्यामा पनि यो हप्ता कमी आएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले बिरामी भएर अस्पताल आउनेहरुमध्ये मङ्गलबारको तुलनामा बुधबार सङ्ख्या घटेको बताएको छ । मङ्गलबार अस्पतालहरूमा भर्ना हुने २१ हजार ७५ जनामात्र रहेको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

उक्त मन्त्रालयले जनाएअनुसार यसको अघिल्लो दिन अर्थात सोमबार मात्र २१ हजार ५९५ जना बिरामी अस्पताल भर्ना भएका थिए । यसरी अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या यो हप्ता घट्दै गएको बताइएको छ । फ्रान्समा कोरोना सङ्क्रमणबाट १ लाख ७८ हजार सङ्क्रमित भएका छन् ।

साथै सङ्क्रमणबाट कुल मृतकको सङ्ख्या २७ हजार ७४ जना पुगेको छ । फ्रान्समा मृतक सङ्ख्या पनि क्रमिक रुपमा घट्दो छ । उपचारपछि निको भएर फर्किएकाको सङ्ख्या ५८ हजार ६७३ रहेको छ । साथै अस्पतालमा अहिलेसम्म ९२ हजार ३१३ जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?