logo
२०८१ बैशाख ४ मंगलवार



अमेरिकासँग कैदीबन्दी आदानप्रदान गर्न तयार रहेको इरानको भनाइ

अन्तर्राष्ट्रिय |
फिचर |


अमेरिकासँग कैदीबन्दी आदानप्रदान गर्न तयार रहेको इरानको भनाइ


तेहरान, वैशाख २८ गते। इरानले अमेरिकासँग कैदीबन्दी आदानप्रदान गर्नका लागि तेहरान तयार रहेको आइतबार बताएको छ । यसका लागि कुनै पूर्वशर्त राखिनु नहुने धारणा तेहरानको छ । यसबारे अमेरिकी धारणा भने आइसकेको छैन ।
“तेहरानले सबै इरानी र अमेरिकी कैदीबन्दीको आदानप्रदान गर्न तयार रहेको धारणा हामीले केही समय पहिले नै सार्वजनिक गरेका थियौँ,” इरानी समाचार संस्था आइएसएनएले सरकारका प्रवक्ता अलि रबीईलाई उद्धृत गरी समाचार लेखेको छ । “अमेरिका पहिलेभन्दा अहिले यो अवस्थालाई अन्त्य गर्न बढी इच्छुकजस्तो देखिएको छ,” उहाँले भन्नुभयो । इरानले कैदीबन्दी आदानप्रदानका लागि अमेरिकी प्रतिक्रियालाई पर्खिरहेको उहाँले बताउनुभयो ।
“वासिङ्टनलाई कैदीबन्दी आदानप्रदानका लागि हाम्रो तत्परताबारे जानकारी भएको छ त्यसैले कुनै मध्यस्थताको आवश्यकता छैन ।” इस्लामिक गणतन्त्रले गत वर्षको डिसेम्बरमा एक अमेरिकी शिक्षाविद् सियु वाङसँग इरानी वैज्ञानिक मसोउद सुलेमानीलाई फिर्ता गरेको थियो । उक्त समय नै इरानले समानरूपमा हुने कैदी आदानप्रदानका लागि इरान तयार रहने बताएको थियो ।
अमेरिकामा जैलमा रहेका आफ्ना नागरिकको स्वास्थ्यबारे इरान चिन्तित रहेको इरानी सरकारका प्रवक्ताले बताउनुभयो । अमेरिकी जेलमा रहेका इरानी नागरिकलाई असल व्यवहार नभएको रबीईले दावी गर्नुभयो । अमेरिकी जेलमा रहेका इरानी वैज्ञानिकमध्ये एक सिरोअस अस्गारी विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित बनेको इरानी विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ताले गत हप्ता सबै कुरा तयारी भएको र उहाँ छिट्टै इरान फर्किने घोषणा गर्नुभएको थियो । तर उहाँले यसबारे विस्तृत कुरा गर्नुभएको थिएन ।
इरानले अमेरिकी नागरिक साइमक नमाजी, उहाँका पिता बाकेर र वातावरणविद् मोराद तावेजलाई जासुसी गरेको लगायतका विभिन्न आभियोग लगाई उक्त मुद्दामा दोषी ठहर गर्दै जेलमा राख्दै आएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार उच्च अमेरिकी नौसैनिक अधिकारीलाई मार्च १९मा अस्थायी रूपमा रिहा गरेको थियो । अमेरिका र इरान दुवै मुलुकले कोरोना भाइरसको प्रकोपलाई ख्याल गर्दै कैदीहरूलाई छाड्न आग्रह गर्दैआएका छन् ।
इरान महामारीका कारण मध्यपूर्वमा सबैभन्दा बढी प्रभावित र विश्वकै धेरै प्रभावितमध्ये एउटा मुलुक हो । त्यस्तै अमेरिका कोरोनाभाइरस सङ्क्रमणबाट विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । इरानले मार्चपछि अहिलेसम्ममा आफ्नो देशको जेलमा रहेका करिब एक लाख कैदीलाई कोरोनाभाइरसको जोखिमका कारण विभिन्न चरणमा रिहा गरेको इरानी न्यायपालिकाले जनाएको छ ।
इरान र अमेरिकाबीच दशकौँदेखि वैमनस्यता कायम रहँदै आएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा इरानसँग विश्वका शक्तिराष्ट्रहरूले गरेको आणविक सम्झौताबाट फिर्ता हुने र इरानमाथि थप प्रतिवन्ध घोषणा गरेपछि सम्बन्धमा थप जटिलता रहँदैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?