logo
२०८१ बैशाख १२ बुधवार



डिसेम्बरमै फ्रान्समा कोभिड–१९ को आगमन भएको दाबी

अन्तर्राष्ट्रिय |


डिसेम्बरमै फ्रान्समा कोभिड–१९ को आगमन भएको दाबी


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २३ गते । फ्रान्सको पेरिस नजिक निमोनिया ठहर गरिएका एक जना बिरामीमा कोरोनाभाइरसको संक्रमण डिसेम्बर महिनामै फेला परेको दाबी गरिएको छ । संक्रमितको परीक्षण गरेका चिकित्सकले डिसेम्बर २७ मै ती व्यक्तिमा कोभिड–१९ को संक्रमणको पुष्टि भएको दाबी गरेका हुन् ।
फ्रान्सेली सञ्चारमाध्यमसँग कुराकानी गर्नुहुँदै डा. येभ्स कोहेनले नाकको स्वाबको नमूना लिएर परीक्षण गर्दा उक्त व्यक्तिमा कोभिड–१९ को पुष्टि भएको खुलाउनुभएको छ । करिब ५० वर्ष उमेरका तीन व्यक्ति अहिले पूर्णरुपमा निको भइसकेका छन् । कुनै पनि संक्रमित क्षेत्रको भ्रमण नगरेकोले ती व्यक्तिमा संक्रमण कहाँबाट फैलिएको हो सम्बन्धमा स्पष्ट भइसकेको छैन् ।
उक्त सूचनाले फ्रान्समा भाइरसको आगमन औपचारिक रुपमा दत्र्ता गरिएको भन्दा एक महिना अघि नै भइसकेको खुलेको छ । हालसम्म फ्रान्समा कोभिड–१९ को पहिलो पुष्टि जनवरी २४ मा एकैपटक तीनजनामा भएको आधिकारिक रुपमा उल्लेख गरिन्छ । तीनजनामध्ये दुईजना चीनको वुहान शहरको भ्रमण गरेका थिए । तेस्रो व्यक्ति दुबैजनाका आफन्त हुन ।
पेरिस नजिक अभिसिन र जिन–भर्डर अस्पतालका आकस्मिक उपचार सेवाका प्रमुख समेत रहनुभएका डा. कोहेनले बिरामीको फाइल अध्ययन गर्दा डिसेम्बर र जनवरीमा उक्त व्यक्ति फ्लु जस्तो लक्षण भएर अस्पताल भर्ना भएको उल्लेख गर्नुभयो । उहाँले आफूले १४ जनाको स्वाब परीक्षण गरेको बताउनुभयो ।
त्यत्तिबेला आफूहरुले कोरोनाभाइरसको संक्रमण पुष्टि गर्न नाकको स्वाब परीक्षण गरेको उहाँको भनाइ छ । १४ जनामध्ये एकजनामा संक्रमणको पुष्टि भयो । “गल्ती औंल्याउन हामीले दुईपटक परीक्षण गर्यौं, दुबै परीक्षणमा पुष्टि भयो ।”–डा. कोहेनले प्रष्ट्याउनुभयो ।
लगत्तै आफूले राष्ट्रिय जनस्वास्थ्य प्रतिष्ठान र भाइरस विज्ञलाई आग्रह गरेर स्वाबको पुर्नपरीक्षणको लागि आग्रह गरेको उहाँले बताउनुभयो । बीबीसीका अनुसार उहाँले यसै सातापछि उक्त प्रतिवेदनको पूर्ण अंश एन्टीमाइक्रोबियल एजेन्टको अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन गरिने बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?