logo
२०८१ बैशाख १३ बिहीवार



पृथकतावादी समूहले स्वशासन घोषणा गरेपछि यमनमा सङ्कट अझ गहिरियो

अन्तर्राष्ट्रिय |


पृथकतावादी समूहले स्वशासन घोषणा गरेपछि यमनमा सङ्कट अझ गहिरियो


दुबई, वैशाख १४ गते । सरकारसँग शान्ति सम्झौता भङ्ग भएलगत्तै यमनको पृथकतावादी एक समूहले आइतबार बिहान देशको दक्षिणी राज्यमा स्वशासन घोषणा गरेको छ । देशको अधिकांश उत्तरी भूभागमा नियन्त्रण कायम राखेका हुथी विद्रोहीहरूसँग जारी लामो द्वन्द्वलाई यस घोषणाले अझ जटिल बनाएको छ ।
दक्षिणी संक्रमणकालीन परिषद (एसटिसी)ले यमन सरकार शान्ति सम्झौताको मर्म विपरीत अघि बढेको तथा दक्षिणी क्षेत्रका जनताको भावनामाथि “षडयन्त्र” गरेको जनाउँदै शनिबार मध्यरातिदेखि लागू हुने गरी स्वशासन सुरु भएको घोषणा गरेको छ । यमन सरकारले एसटिसीको उक्त कदमको निन्दा गर्दै दक्षिणी क्षेत्रमा उत्पन्न हुन सक्ने मानवीय सङ्कटको जिम्मेवार उनीहरु आफैं हुनुपर्ने चेतावनी दिएको छ । इरान समर्थित हुथी विद्रोहीहरूको बिरूद्धको लडाइँमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धनले कोरोनाभाइरसको महामारी रोक्नका लागि हाल एकपक्षीय युद्धबिराम घोषणा गरेको छ । यद्यपी हुथी विद्रोहीहरुले उक्त युद्धविरामलाई अस्वीकार गरेका छन् ।
यमनका दक्षिणी पृथकतावादीहरुले गत नोभेम्बरमा साउदी अरेबियाको रियादमा शक्ति बाँडफाँड गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । “गृहयुद्ध भित्र गृहयुद्ध” का रुपमा लिइएका यी पृथकतावादीले गत वर्ष अगस्टमा यमनको दोस्रो ठूलो शहर एडनलाई कब्जामा लिएका थिए । दक्षिणी क्षेत्रका लागि समान प्रतिनिधित्व सहित नयाँ मन्त्रिपरिषद् गठन गर्ने तथा सैन्य बलको पुनर्गठन लगायतका महत्वपूर्ण कार्य गर्ने म्याद गुज्रिएसँगै रियाद सम्झौता विफल भएको थियो ।

एसटिसीले जारी गरेको विज्ञप्तिमा आफूहरुले “दक्षिणमा अप्रिल २५ शनिबारको मध्यरातदेखि लागू हुनेगरी स्वशासन घोषणा गरिएको” उल्लेख छ ।“परिषदका अध्यक्षले तोकेका कामहरु एक स्वशासन समितिले पूरा गर्नेछ,” विज्ञप्तिमा भनिएको छ । एडेनवासीहरूले शहरमा एसटिसी आबद्ध सेनाको व्यापक तैनाथी शुरु भएको जनाएका छन् । पृथकतावादी समूहको एक स्रोतले एएफपीलाई आफूहरुले केन्द्रीय बैंक र एडेनको बन्दरगाह लगायत सबै सरकारी कार्यालयहरुमा जाँच चौकीहरु स्थापना गरेको बताएका छन् ।
एडेन शहरभरि सैन्य सवारी साधनहरू एसटिसीका झण्डा रखेर दौडिएका छन् ।
यमनको दक्षिणमा राजनीतिक परिदृश्य जटिल छ, र एसटिसीको घोषणाका बाबजुद केही दक्षिणी शहरहरूले आफूहरु पृथकतावादीले गरेको स्वशासनको घोषणालाई मान्यता नदिने र केन्द्रीय सरकारसँग मिलेर बस्ने बताएका छन् ।
यमनका विदेश मन्त्री मोहम्मद अल–हधरामीले एसटिसीको कदम “सशस्त्र विद्रोहको निरन्तरता रहेको र गत अगस्टमा सम्पन्न रियाद सम्झौताको खारेजी” हो भन्नुभएको छ । विगत पाँच वर्षको अवधिमा सरकार र हुथी विद्रोही बीचको युद्धमा भोकमरिबाट ग्रस्त यमनमा दशौं हजार सर्वसाधारणको मृत्यु भइसकेको छ । यस महिनाको शुरूमा यमनको दक्षिणी प्रान्त हाद्रामातमा कोरोनाभाइरसको पहिलो घटना रिपोर्ट गरिएको थियो । यसले यमनमा कोरोना संक्रमणको त्रास बढाएको थियो ।
देशभित्र गृहयुद्ध र कोरोनाको संक्रमण त छँदैछ, हालै मात्र यमनमा आएको बाढीमा परेर कम्तीमा २१ जनाको मृत्यु भएको थियो । एडन शहरभित्र बाढी पस्नुका साथै घरहरु भत्किएका थिए ।
गत अगस्टमा एसटिसी र सरकारी फौजबीच भिषण लडाइँ भएको थियो, र दक्षिणी प्रमुख शहर एडेनलाई एसटिसीले नियन्त्रणमा लिएको थियो । यमनको राजधानी सानाबाट हुथी विद्रोहीले विस्थापित गरेपछि राष्ट्रपति एबेद्राबो मन्सुर हाडीले फेब्रुअरी २०१५ मा यही शहरमा शरण लिएका लिनु भएको थियो ।
हुथी विद्रोही विरुद्ध बनेको गठबन्धनका साझेदार मुलुकहरु साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सबीच नै तिक्तता उत्पन्न भएको छ । किनभने साउदी अरेबियाले हाडी नेतृत्वको सरकारलाई समर्थन गर्दछ भने युएईले रहस्यमय ढंगबाट एसटिसीलाई समर्थन जनाएको पाइएको थियो ।
रियाद सम्झौतालाई यमन संकट समाधानमा एउटा महत्वपूर्ण कदम भन्दै स्वागत गरिएको थियो । यसलाई यमनमा व्यापक द्वन्द्व अन्त्य गर्ने सम्भाव्य पाइलाको रूपमा स्वागत गरिएको थियो । तर सम्झौताको कार्यान्वयनमा विस्तारै संकट देखा पर्न थाले । खासगरी दक्षिणी भागमा देखिएको खाद्यान्न अभाव, मुद्राको तीव्र गिरावट, र सार्वजनिक क्षेत्रका कर्मचारीहरूलाई तलब दिन रकमको अभाव भएपछि आशंकाहरु बढ्न थालेका थिए ।
हुथी बिरूद्धको लामो युद्धमा सरकार र एसटिसी प्राविधिक रूपमा सहयोगी रहेका छन् तर पृथकतावादीहरु दक्षिणी क्षेत्रलाई समेटेर स्वतन्त्र राज्य बनाएरै छाड्ने अभियानमा निरन्तर क्रियाशील छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?