logo
२०८१ बैशाख ७ शुक्रवार



कोभिड–१९ को प्रकोपका कारण खाद्यान्न आपूर्तिलाई प्रभावित पार्नसक्छ- विश्व बैंक

अन्तर्राष्ट्रिय |


कोभिड–१९ को प्रकोपका कारण खाद्यान्न आपूर्तिलाई प्रभावित पार्नसक्छ- विश्व बैंक


वाशिङ्टन, वैशाख १२ गते ।
कोरोनाभाइरस सङ्क्रमणको महामारी र यसलाई नियन्त्रणमा ल्याउनका लागि सरकारले अपनाउने नीतिका कारण खाद्यान्न आपूर्ति प्रक्रियामा अवरोध आउनसक्ने विश्व बैंकले चेतावनी दिएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण विश्वभरी बन्दाबन्दी घोषणा वा सङ्क्रमणको त्रासमा व्यवसायिक गतिविधिमा अवरोध आएपनि खाद्यान्नको मूल्य भने स्थिर रहने विश्व बैंकले बिहीबार सार्वजनिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

बन्दाबन्दी र कोभिड–१९ नियन्त्रणका लागि अवलम्वन गरिने उपायका कारण कृषि सामानहरूको मागमा कुनै कमी नआएको र महामारीका समयमा पनि ती सामग्रीको मूल्य तेल, धातु वा अन्य औद्योगिक सामग्रीको तुलनामा स्थिर रहने उक्त प्रतिवेदनमा बताइएको छ । “कृषि सामग्री आर्थिक वृद्धिसँग कम सम्बन्धित रहेको र सन् २०२० को पहिलो त्रैमासिकमा यस क्षेत्रको कारोबारमा यातायातका साधनमा प्रयोग हुने रबर बाहेकका कृषि उत्पादनमा सामान्य गिरावट देखिएको छ,” विश्व बैंकले भनेको छ ।“कृषि उत्पादनको मूल्य यस वर्ष ‘व्यापाकरूपमा स्थिर’ रहनेछ किनकि अत्यावश्यक खाद्यान्नको ‘उत्पादन अवस्था र भण्डारणमा उच्च वृद्धि’ हुनेछ,” बैंकका अधिकारीहरूले बताए । अधिकारीले चेतावनीको भाषामा भनेका छन्,“सन् २०२० मा उत्पादकहरूले व्यापार र वितरणमा भएको अवरोधका कारण मल, किटनाशक सामग्री तथा श्रमिकको उपलब्धतामा भने समस्या झेल्नेछन् ।”

“यूरोपमा फूलको निर्यात गर्ने केन्या र तान्जिनियामा सङ्क्रमणका कारण पूर्णतया बन्द अवस्था रहेको छ भने उत्तर अफ्रिकी तरकारी तथा फलफुल आपूर्तिकर्ता मुलुकहरू सङ्क्रमणका कारण प्रभावित बनेका छन्,” प्रतिवेदन लेखनमा सहायक भूमिका रहेका बैंकका अर्थशास्त्री जोन ब्याफेजले भन्नुभयो । व्याफेजले एएफपीसँग भन्नुभयो, “आपूर्ती प्रक्रिया कति जटिल छ भनेर हामी देख्न सक्छौ ।”

सङ्क्रमणले महामारीको रूप लिएपछि विश्वका अधिकांश मुलुकमा व्यापार तथा सामान्य दैनिक गतिविधिमा विभिन्न प्रकारका अवरोधहरू आएका छन् । रूसले गहुँ र भियतनामले चामलको आपूर्र्तिलाई सिमित गरेका छन् भने फिलिपिन्सले पनि अत्यधिक चामल निर्यातलाई नियन्त्रण गर्ने नीति अघि सारेको छ ।“अद्यापि ती उपायहरूलाई व्यापकरूपमा प्रयोगमा ल्याइएको नभएपनि त्यसलाई कडाईका साथ कार्यान्वयनमा ल्याइयो भने यसले समस्या निम्त्याउनेछ ,” प्रतिवेदनमा भनिएको छ ।यसैगरी सन् २०२० मा इन्धनको मूल्यमा ४० प्रतिशतको गिरावट आउने अनुमान गरेको छ तर यसमा सन् २०२१ सम्ममा पूरानो अवस्था आइपुग्ने विश्व बैंकले जनाएको छ ।

सन् २०२० मा तेलको औसत मुल्यमा प्रतिव्यारेल ३५ डलर कायम हुने प्रक्षेपण गरिएको छ । यो अघिल्लो वर्षको भन्दा भण्डै ३४ प्रतिशतको गिरावट हो । सन् २०१९ मा तेलको औसत मूल्य प्रति व्यारेल ६१ अमेरिकी डलर कायम रहेको थियो । विश्वव्यापी आर्थिक वृद्धिमा प्रभावकारी भूमिका रहने धातुजन्य पदार्थहरू फलाम, तामा र जस्ता ९जिङ्क० जस्ता सस्तो धातुजन्य पदार्थको मूल्यमा औसत १३ प्रतिशतले गिरावट आउने बैंकको रिपोर्टमा प्रक्षेपण गरिएको छ ।प्रतिवेदन तयारमा सम्लग्न अर्थविद्हरूले दैनिक उपभोग्य वस्तुहरूमा पनि ‘दीर्घकालीन प्रभाव’ पर्ने सम्भावना दर्शाएका छन् । सामाजिक दूरी कायम गर्नुर्ने बाध्यताका कारण यातायात सेवामा पर्ने प्रभाबका कारण तेलको मूल्यमा अहिलेको मूल्यमा अझ गिरावट आउने प्रक्षेपण उनीहरूले गरेका छन् । सङ्क्रमण नियन्त्रणका लागि यातायातका साधनहरू नचल्दा प्रमुख आपूर्ति प्रक्रियामा प्रभाव पर्ने र कच्चा पदार्थको अभावमा धेरै उत्पादनहरूमा ह्रास आउने अर्थविद्हरूको व्याख्या रहेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?