logo
२०८१ बैशाख ११ मंगलवार



दक्षिण कोरियाको सत्तारुढ दललाई संसदमा बहुमत प्राप्त

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियाको सत्तारुढ दललाई संसदमा बहुमत प्राप्त


सियोल, वैशाख ४ गते । दक्षिण कोरियाको बामपन्थी झुकाव राख्ने सत्तारुढ पार्टीले बुधबार सम्पन्न संसदीय निर्वाचनमा जित हासिल गरेको छ । कोरोनाभाइरस महामारीकै बीचमा सम्पन्न चुनावमा राष्ट्रपति मून जाए–इनको पक्षमा जनलहर देखिएको छ ।
राष्ट्रपति मूनको डेमोक्र्याटिक पार्टीले राष्ट्रिय सभामा पूर्ण बहुमत हासिल गरेको छ । विगत १२ वर्षमा संसदमा यसपटक मात्र कुनै दललाई पूर्ण बहुमत प्राप्त भएको हो । करिब ६६ प्रतिशत मतदान भएको यस पटकको चुनावमा जनसहभागिता दृष्टिले सन् १९९२ यताकै यो सबैभन्दा बढी हो । केही महिना अघि मात्र मूनमाथि शक्तिको दुरुपयोग गरेको र मुलुकको आर्थिक बृद्धि कमजोर बनेको भन्दै आलोचना हुन थालेको थियो । कतिपय आलोचकले राष्ट्रपति मूनले उत्तर कोरिया मामिलामा चालेका कदमहरु पनि अपरिपक्व रहेको बताउँदै आएका थिए ।
तर कोरोना महामारीलाई दक्षिण कोरियाले द्रुत र प्रभावकारी ढंगबाट व्यवस्थापन गरेपछि मूनमाथि जनताले फेरि विश्वास व्यक्त गरेका छन् । यसबीचमा कोरियाले २० भन्दा बढी मुलुकमा कोरोना परीक्षण किट समेत उपलब्ध गराएर उदाहरणीय कार्य गरेको छ ।
अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीकी राजनीतिशास्त्री मिन्सोन कुले “कोरोनाभाइरस कुटनीति” जस्ता कदमले मून प्रशासनको शाख बढाउनुका साथै जनतामा आत्मविश्वास बढाएको बताउनुभयो । मूनले कम्तिमा २० वटा देशका सरकार प्रमुखहरुसँग भिडियो कन्फरेन्स मार्फत कुराकानी गर्नु भएको थियो ।
कोरोनाभाइरसको महामारीकै त्रासबीच दक्षिण कोरियामा बुधबार संसदको चुनाव भएको थियो । मतदान केन्द्रहरुमा आम मतदाताहरु सामाजिक दूरी कायम गर्दै मास्क लगाएर उपस्थित भएका थिए । राष्ट्रपति मून जाए–इनका लागि मध्यावधि जनमतसंग्रहका रुपमा हेरिएको यस संसदीय चुनावलाई स्थगन गर्न दबाब दिइए पनि सरकारले चुनाव नसार्ने निर्णय गरेको थियो ।
कोरियाली मतदाताहरु विचारधारात्मक, पुस्तागत मान्यता तथा क्षेत्रीयताका आधारमा बाँडिएका भए पनि पछिल्लो चुनावी मतसर्वेक्षणले राष्ट्रपति मून र उहाँको उदारवादी पार्टीले स्पष्ट बहुमत हासिल गर्न सक्ने देखाएका थिए । खासगरी, चीन, युरोप र उत्तर अमेरिकी मुलुकमा कोरोनाभाइरसले सर्वाधिक असर पारेको भए पनि कोरियाले अपनाएको कोरोना परीक्षण र क्वारेन्टिनको चुस्त शैलीले आमजनतामा विश्वास बढाएको पाइएको छ ।
दक्षिण कोरियाको ३०० सदस्यीय संसदको प्रत्येक चार वर्षमा चुनाव हुने गर्दछ । संसदका २५३ जना विभिन्न जिल्लाबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ४७ स्थान समानुपातिक प्रतिनिधित्व हुने गर्दछ । दर्जनौं पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा रहेका भएपनि राष्ट्रपति मून जाए–इनको सत्तारुढ डेमोक्र्याटिक पार्टी र मुख्य विपक्षी युनाइटेड फ्युचर पार्टीबीच मुख्य रुपमा प्रतिस्पर्धा हुने देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार मूनको डेमोक्र्याटिक पार्टीले १६३ स्थान जितेको छ भने यसको गठबन्धन दलले पनि १७ स्थान जितेको छ । यसबाट डेमोक्र्याटिक पार्टीले कूल १८० स्थान प्राप्त गर्नेछ ।
विपक्षी युनाइटेड फ्युचर पार्टीले १०३ स्थान जितेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?