logo
२०८१ बैशाख ८ शनिवार



ट्रम्पले सचिनलाई ‘सूचिन’उच्चारण गरेपछि .....

अन्तर्राष्ट्रिय |
खेलकुद |


ट्रम्पले सचिनलाई ‘सूचिन’उच्चारण गरेपछि .....


एजेन्सी
काठमाडौं, फागुन १३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा हुनुहुन्छ । अमेरिकी मीडियालाई फेक मीडिया भन्दै आलोचना गर्दै आउनुभएका ट्रम्पले भारत भ्रमणको क्रममा भारतीय क्रिकेटरदेखि बलिऊडसम्मको चर्चा गर्न भ्याउनुभयो । र उहाँले उक्त चर्चा गरिरहँदा भारतीय सत्तारुढ दलका नेता, मन्त्रीदेखि उपस्थित सर्वसाधारणले पनि ताली बजाएर उहाँको सम्बोधनमा उत्साह थपेका थिए ।
भारतको अहमदाबादमा करिब एक लाख बढीले खचाखच भरिएको मोटेरा रङगशाला ट्रम्पको एक नामको उच्चारणले हाँसोसँगै तालीले गुञ्जयमान भयो । उहाँले विश्वकै चर्चित क्रिकेटर सचिन तेन्दुलकर र विराट कोहलीबारे टिप्पणी गर्दै भन्नुभयो, “भारतीय जनता विश्वकै चर्चित क्रिकेटर ‘सूचिन’ तेन्दुलकर र विराट कोहलीलाई लिएर उत्सव मनाउँछन् ।” रङ्गशालामा उपस्थित दर्शकले ताली बजाउँदा नजिकै रहेका सत्तारुढ दलका नेता तथा मन्त्री भने हाँस्न थाले ।
तर त्यसको प्रभाव त्यत्तिकैमा रोकिएन । ट्रम्पलाई सामाजिक सञ्जालमा ‘ट्रोल’ गर्न सुरु गरियो । जसमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) र एशियाली क्रिकेट काउन्सिल(एसीसी)ले पनि प्रतिक्रिया दिन भ्यायो ।


आईसीसीले ‘ट्रोल’ गर्दै गरेको ट्वीटमा करिब ७५४ जनाले रिट्वीट गर्न भ्याएका छन् । आईसीसीले सच–सुच–सैच–सुच–सूच लेख्दै १५ सेकेण्डको भिडियो अपलोड गरेको छ । जसमा अबदेखि सचिन तेन्दुकलरको नाम सू–चिन तेन्दुलकर राखेर प्रकाशित गर्नुपर्ने देखाइएको छ ।
रुद्रप्रताप सिंह भन्ने ट्वीटर प्रयोगकत्र्ताले आईसीसीको ट्वीटमा जवाब दिदै लेख्नुभएको छ, “राजनीतिक मामिलामा आईसीसीले किन चासो राख्नुपर्यो ?, पक्कै कुनै लेफ्टिस्टले आईसीसीको ट्वीटर हयाण्डल गरेको हुनुपर्छ ।” कुल्लै रेड्डीले लेख्नुभएको छ, “उहाँको सल्लाहकारले यस्तो सूचना दिएको हुनुपर्छ, भारतीय क्रिकेटमा केही राम्रो हुँदैछ भने त्यो महिन्दर सिंह धोनीको कारणले हो, उहाँले कसरी धोनीको नाम ‘मिस’ गर्नुभयो ?”
अमेरिकी राष्ट्रपति ट्रम्पको सामाजिक सञ्जालमा भने पहिलो पटक मात्रै ‘ट्रोल’ गरिएको हैन । यसअघि उहाँले स्वीडेनकी एक वातावरण अभियानीबारे टिप्पणी गर्दा सामाजिक सञ्जालमा उहाँको आलोचना गरिएको थियो । सेप्टेम्बर २४, २०१९ मा १६ वर्षीया ग्रेटा थन्वर्गले हाम्रो भविष्यलाई बर्बाद पार्ने अधिकार नरहेको बताउँदै चिन्ता व्यक्त गर्नुभएको थियो ।
संयुक्त राष्ट्र संघमा आफ्नो वक्तब्यको क्रममा थन्वर्गले वातावरण प्रदूषण न्यूनीकरणका लागि भूमिका नखेलेको भन्दै विश्वका शक्ति राष्ट्रको नेतृत्वको आलोचना गर्नुभएको थियो । ट्रम्पले उक्त वक्तब्य सुनेर मिजासिलो टिप्पणी गरेपछि उहाँको आलोचना गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?