logo
२०८० चैत्र ६ मंगलवार



डार्फर नरसंहारको आरोप खेपेका पूर्व राष्ट्रपति बसिरलाई अन्तर्राष्ट्रिय अदालत समक्ष बुझाउने निर्णय

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


डार्फर नरसंहारको आरोप खेपेका पूर्व राष्ट्रपति बसिरलाई अन्तर्राष्ट्रिय अदालत समक्ष बुझाउने निर्णय


खार्तुम, माघ २९ गते । सुडान सरकारले डार्फर नरसंहारको आरोप खेपिरहेका पूर्व राष्ट्रपति ओमार अल–बसिरलाई अन्तर्राष्ट्रिय फौजदार अदालतसमक्ष बुझाउन सहमति जनाएको छ । सुडानको सत्तारुढ परिषदका एक सदस्यले बसिरमाथि डार्फर घटनामा युद्ध अपराधको आरोप लागेको जानकारी दिनुभयो । हेगस्थित अदालत (आइसिसी) ले बसिर र उहाँका अरु तीन जना सहयोगमाथि आमहत्या, मानवता विरुद्धको अपराध र युद्ध अपराधको आरोप लगाएको छ ।
“आइसीसीले दोषी ठहर गरेका व्यक्तिहरु सबैलाई हेग पठाइनेछ,” परिषदका सदस्य मोहम्मद हस्सन अल–टाइसेले एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिनुभयो । “सिफारिस गरिएकाहरुमा एक जना अल–बसिर र अरु तीन जना छन् ।” तर उहाँले यी चारै व्यक्तिलाई कहिले आइसिसी समक्ष हस्तान्तरण गरिन्छ भन्ने स्पष्ट गर्नु भएन । टाइसेले डार्फरका विद्रोही समूह समक्ष डार्फर क्षेत्रमा शान्ति कायम गर्न सरकारले वार्ता गरिरहेको जानकारी दिनुभयो । डार्फरमा सन् २००३ मा भड्किएको हिंसामा करिब तीन लाख मानिस मारिनुका साथै लाखौं मानिस विस्थापित भएका छन् ।
टाइसेले डार्फरमा शान्ति स्थापना गर्ने सन्दर्भमा युद्ध अपराधको छानबिन गर्न एउटा विशेष अदालत गठन गर्ने बारेमा पनि विचार विमर्श भइरहेको बताउनुभयो । जुबामा जारी वार्तामा सहभागी विद्रोही समूहका एक सदस्यले पनि सरकारी तयारीका बारेमा जानकारी दिनुभएको छ ।
वार्तापछि संवाददाताहरुसँग कुरा गर्दै विद्रोही प्रतिनिधिमण्डलका सदस्य निमिर मोहमद अब्दुरहमानले युद्ध अपराधका मुख्य दोषीलाई आइसिसी समक्ष हस्तान्तरण गर्ने सरकारी प्रयत्न सराहनीय रहेको बताउँदै अबका दिन शान्ति र न्यायका लागि सरकारले उचित कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । डार्फरमा अल्पसंख्यक अफ्रिकी समुदायले तत्कालीन अरब–समर्थित अल–बसिरको सरकार विरुद्ध सशस्त्र विद्रोह गरेका थिए । उनीहरुले अफ्रिकी अल्पसंख्यक समुदायमाथि बसिरको सरकारले आर्थिक र राजनीतिक रुपमा विभेद गरेको आरोप लगाउँदै आएका थिए । सुडान सरकारका प्रवक्ता फैजल मोहम्मद सलिहले पनि पूर्व राष्ट्रपति अल–बसिर र उहाँका तीन सहयोगीलाई आइसिसी समक्ष हस्तान्तरण गर्न लागिएको एएफपीलाई जानकारी दिनुभयो ।
बसिरको शासन विरुद्ध जनताले महिनौं प्रदर्शन गरेपछि गत वर्ष अप्रिलमा सेनाले बसिरलाई पदच्यूत गरेको थियो । करिब तीन दशक शासन गरेका बसिरलाई हाल भ्रष्टाचारको अभियोगमा दुई वर्षको सजाय सहित हिरासतमा राखिएको छ । बसिर विरोधी प्रदर्शनकारीहरु, डार्फरका बासिन्दा तथा विद्रोही समूहहरुले बसिरलाई आइसिसी समक्ष हस्तान्तरण गर्न माग गरिरहेका छन् । आइसिसीले दोषी ठहर गरी पक्राउ पूर्जी जारी गरे पनि बसिरले आफू सत्तामा रहँदा रसिया र चीन समेतका कतिपय देशको औपचारिक भ्रमण गर्नु भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?