logo
२०८१ बैशाख १३ बिहीवार



चीनको उहानमा ११ हजार स्वास्थ्यकर्मी थप

अन्तर्राष्ट्रिय |


चीनको उहानमा ११ हजार स्वास्थ्यकर्मी थप


बेइजिङ, माघ २४ गते । चीनको नोभेल कोरोना भाइरस अतिप्रभावित क्षेत्र मानिने वहानमा सरकारले ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ । स्वास्थ्य अधिकारीले देशका अति राम्रा मानिएका आईसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली वुहानमा पठाइएको जानकारी दिएका छन् ।

उनीहरुमध्ये तीन हजार जना सघन उपचार कक्षमा काम गर्ने चिकित्सक र नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका गुओ यानहोङले शुक्रबार बताउनुभयो । बेईजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चीनका राम्रो क्षमता भएका चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई वुहानमा पढाइएको जानकारी दिनुभयो ।

हुवेई प्रदेशको महत्वपूर्ण शहर वुहानमा सङ्क्रमण नियन्त्रणका लागि सबैभन्दा बढी ध्यान दिइएको उहाँको भनाइ छ । “हामीले वहानमा अत्यावश्यकपर्ने आइसियु सम्बन्धी स्वास्थ्यकर्मी धेरै पढाइएको छ, हामी पूर्ण सतर्क छौँ,” उहाँले भन्नुभयो ।

अहिले भइरहेका स्वास्थ्यकर्मीले लामो समयसम्म काम गर्दा उनीहरुलाई शारीरिक तथा मानसिक थकान हुने गरेको उहाँले जानकारी दिनुभयो । हुवेइमा माग अनुसारको स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकिएको पनि उहाँले बताउनुभयो ।

डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखा परेको नयाँ कोरोना भाइरसले शुक्रबारसम्म ६३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भए पनि यसले भीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन् । चिनियाँ मुख्य भूमि बाहिर विभिन्न ३० स्थानमा करिब २४० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा बढी जापानी पानी जहाज, डाइमण्ड प्रिन्सेसमा ६१ जना रहेका छन् भने सिङ्गापुरमा ३०, जापानमा २५, थाइल्याण्डमा २५, हङकङमा (मृत्यु भएका एक व्यक्तिसहित) २४, दक्षिण कोरियामा २३, ताइवानमा १६ अष्ट्रेलियामा १५ र मलेसियामा १४ व्यक्तिमा भएको छ ।

त्यसैगरी जर्मनीमा १३, संयुक्त राज्य अमेरिकामा १२, भियतनाममा १०, मकाउमा १०, फ्रान्समा छ, क्यानडामा पाँच, संयुक्त अरब इमिरेट्समा पाँच, बेलायतमा तीन, भारतमा तीन, फिलिपिन्समा (मृत्यु भएका एक व्यक्तिसहित) तीन व्यक्तिमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । रूस र इटाली मा दुई दुई व्यक्तिमा उक्त भाइरसको सङ्क्रमण देखिएको छ । नेपाल, श्रीलङ्का, कम्बोडिया, फिनल्याण्ड, स्पेन, स्वीडेन, बेल्जियममा एक एक जनामा नयाँ कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?