logo
२०८१ बैशाख ६ बिहीवार



अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक


वासिङ्टन, माघ १५ गते ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको उनको मध्य पूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा गर्नुभएको छ । ट्रम्पले उहाँको मध्यपूर्व शान्ति योजना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उपस्थितिमा ह्वाइट हाउसमा सार्वजनिक गर्नुभएको हो । उहाँले आफ्नो योजनालाई प्यालेस्टाइनीहरूको निम्ति अन्तिम मौका पनि भन्नुभएको छ ।

शान्ति योजनाको संयुक्त घोषणा त्यतिखेर भएको छ जतिखेर ट्रम्प र नेतान्याहु दुवैले आन्तरिक राजनीतिक चुनौती बेहोरिरहेका छन् । राजनीतिक विश्लेषकहरूले योजनालाई दुबैले आफ्नो निर्वाचन अभियानमा भोट जम्मा गर्ने रणनीतिका रूपमा अथ्र्याएका छन् । शान्ति योजनामा इजरायलले ‘महत्वपूर्ण भौगोलिक सम्झौता’ गर्ने र प्यालेस्टिनी राज्यको इलाकालाई युद्धमार्फत् इजरायलले कब्जा गरेको जेरूसेलमसहितको प्यालेष्टिनी भूमि बराबर दिने प्रस्ताव गरिएको छ । झट्ट हेर्दा यसलाई आपसी सहमतिमा जमिनको सट्टापट्टा गरी इजरायल र प्यालेष्टिनीबीचको विवादलाई अन्त्य गर्ने योजनाजस्तो मान्न सकिन्छ । योजनासँगै सार्वजनिक गरिएको अवधारणात्मक नक्शाले प्यालेटिनी राज्यले दावी गर्दै आएको भूगोललाई छुट्टाएको देख्न सकिन्छ । योजनामा इजरायली र प्यालेष्टिनी समुदायको वस्तीहरूलाई जोड्न दुबै पक्षले अनुकुलता अनुसार पुल, सुरूङ तथा सडक मार्ग, जसलाई ‘व्यवहारिक यातायात समाधान’ भनिएको छ, को व्यवहारिक आदानप्रदानको धारणा पेश भएको छ । यसो गर्दा वेस्ट ब्याङ्कको एक चौथाई जमिन रहेको जोर्डन भ्यालीमा इजरायली पक्षको सार्वभौमसत्ता कायम रहनेछ ।

सम्बोधनमा ट्रम्पले भन्नुभयो, “आजको सम्झौता प्यालेस्टिनीहरूलाई उनीहरूको स्वतन्त्र राज्य स्थापनाको सपना सार्थक पार्ने ऐतिहासिक अवसर हो । सत्तरी वर्षदेखि कुनै प्रगति नभएको सन्दर्भमा यो उनीहरूलाई अन्तिम मौका हुन सक्छ ।” इजरायली नेता बेन्जामिन नेतन्याहुको यहुदी वस्ती विस्तार र जेरूसेलमलाई अविभाजित राजधानी बनाउने कडा नीतिको पक्षमा शान्ति योजना आएपछि यसले प्यालेष्टिनीहरूको आफ्नो स्वतन्त्र राज्य निर्माणको आशालाई असम्भव हुने अवस्था देखिएको छ । योजनालाई इजरायली प्रधानमन्त्री नेतन्याहुले ऐतिहासिक उपलब्धि भनी भन्नुभएको छ । यो प्यालेष्टाइनसँगै मध्य पूर्वका अन्य मुलुकका लागि बृहत् अवसर हो । “यो इजरायलका लागि र मध्यपूर्वका लागि बृहत् योजना हो ।”

संसारको सबभन्दा लामो समयदेखि जारी द्वन्द्वलाई समाधान गर्न प्रस्तावित उक्त योजनाको मस्यौदा राष्ट्रपति ट्रम्पका छोरी ज्वाइँ ज्यारेड कुश्नरको अगुवाइमा भएको हो । ट्रम्पले स्वतन्त्र प्यालेस्टाइन राज्य तथा वेस्ट ब्याङ्कका वस्तीमाथि इजरायलको सार्वभौमिकता पनि प्रस्ताव गर्नुभएको छ ।
यसैबीच, अमेरिकी योजनालाई प्यालेस्टिनी प्रधानमन्त्री महमुद अब्बासले प्यालेष्टिनी समुदाय विरूद्धको ‘षडयन्त्र’ भन्दै अस्वीकार गर्नुभएको छ । “म ट्रम्प र नेतान्याहुलाई भन्छु, जेरूसलेम विक्रीमा छैन । हाम्रा सबै अधिकार विक्रीमा छैनन् न त त्यसमा लेनदेन हुन्छ । यो षडयन्त्र सफल हुँदैन,“ रमल्लाहमा टेलिभिजनमार्फत् सम्बोधन गर्दै उहाँले भन्नुभयो ।
मङ्गलवार गाजा क्षेत्रमा हजारौँ प्यालेस्टाइनीहरूले विरोध प्रदर्शन गरेका थिए । योजना सार्वजनिक गर्ने तयारीसँगै इजरायली सेनाले इजरायल अधिनस्थ वेस्ट ब्याङ्कमा सैन्य उपस्थिति थप बलियो पारेको छ । साउदी अरेबिया र इजिप्टले ट्रम्पको योजनाको स्वागत गरेका छन्। तर साउदी अरेबियाका राजा सलमानले प्यालेस्टाइनी राष्ट्रपतिलाई टेलिफोन गरेर आफ्नो देश प्यालेस्टिनी मुद्दाप्रति कटिबद्ध रहेको पनि बताएका छन् ।

इजिप्टले प्यालेस्टाइन तथा इजरायल दुवैलाई राष्ट्रपति ट्रम्पको शान्ति योजना सचेततापूर्ण विचार गर्न र वार्ता पुनः शुरु गर्न आह्वान गरेको छ ।इजिप्टको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् उक्त आह्वान गरेको छ। तर जोर्डनले भने मध्यपूर्वमा शान्ति स्थापना गर्ने एउटै बाटो भनेको सन् १९६७ भन्दा अघिको सिमाना बमोजिम स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना हो भनेको छ । इजरायलले वेस्ट ब्याङ्क तथा गाजा क्षेत्रलाई सन् १९६७ पछि कब्जा गरेको थियो । लेबननस्थित इरान समर्थित हेज्बोल्लाह समूहले ट्रम्पको योजनाले प्यालेस्टाइनी शरणार्थीको फिर्ता हुने अधिकार तथा प्यालेस्टाइनी जनताको भूमि अधिकार हनन गर्ने भन्दै त्यसलाई थोपर्ने प्रयास भनेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप