logo
२०८१ बैशाख १३ बिहीवार

  कोरोना भाइरसको जाेखिम 



प्रमकाे उपस्थितिमा बैठक, पूर्व तयारीकाे निर्देशन

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


प्रमकाे उपस्थितिमा बैठक,  पूर्व तयारीकाे  निर्देशन


इश्वरचन्द्र झा
काठमाडौं, माघ १३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न काठमाडौं उपत्यकासहित पर्यटकीय शहरहरुमा स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ । भाइरसको संक्रमितका लागि काठमाडौं उपत्यकासहित पोखरा, चितवन, लुम्बिनि लगायतको शहरमा ‘आइसोलेसन बेड’को व्यवस्था गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा कोरोना भाइरसको संक्रमणबारे छलफल गरिएको छ । उक्त छलफलबाट सम्बन्धित मन्त्रालयले आ आफ्नो जिम्मेवारीमा पर्ने क्षेत्रमा पूर्वतयारी र आवश्यक सावधानी अपनाउन निर्देशन दिइएको छ । विश्व स्वास्थ्य संगठनले क्षेत्रीय स्तरमा कोरोना भाइरसको संक्रमणको जोखिम उच्च रहेको जनाएपछि नेपालमा आवश्यक सतर्कता अपनाउन थालिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वस्तरमा कोरोना भाइरसको संक्रमणको जोखिम मध्यम रहेको छ ।
चीनमा कोरोना भाइरस संक्रमणको जोखिम धेरै उच्च रहेकोले नेपाली नागरिक एवम् विद्यार्थीलाई सहयोग वा समस्या भए कुटनीति नियोगमा सम्पर्क गर्न आग्रह गरिएको छ । चीनको वेइजिङ्गमा नेपाली राजदूताबास रहेको छ । त्यसैगरी, ग्वान्जाओ, हङ्कङ र ल्हासामा महावाणिज्य दूताबास छन् । वेइजिङ्गस्थित दूताबासले विद्यार्थीहरुको सहुलियतका लागि ‘वी च्याट’ समूह बनाएर छात्रछात्रासँग निरन्तर सम्पर्क बनाएको छ ।
भाइरसको जोखिम न्यूनीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा विदेशबाट आउने सबै यात्रीको निगरानीका लागि उपकरण र चिकित्सकसहितको सहायता केन्द्र सञ्चालन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले उक्त केन्द्र चौबिसै घण्टा सेवा दिने बताउनुभयो ।
चीनसँग जोडिएको सीमा क्षेत्रमा आवतजावत गर्दा सावधानी अपनाउन मन्त्रालयले सर्वसाधारणमा अपील गरेको छ । चीनसहित विश्वका अन्य राष्ट्र र नेपालमै पनि नेपाली नागरिकमा हालसम्म कोरोना भाइरसको संक्रमण फेला परेको छैन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी नेपालमा फेला परेको संक्रमित चिनियाँ नागरिक रहेको प्रष्ट्याइसकेको छ । मन्त्रालयले निगरानीमा राखेर उहाँको सम्पर्कमा आएका व्यक्तिहरुबारे सोधखोज गर्दैछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने चीनमा कोरोना भाइरसको संक्रमण प्रकोपको रुप लिइरहँदा नेपालमा त्यसको नकारात्मक प्रभाव पर्न नदिन अपनाउनुपर्ने पूर्व सतर्कता अपनाउने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ्ले विमानस्थलमा आउने हवाइजहाज अवतरण पूर्व यात्रुहरुलाई आधारभूत जाँच गराउन आग्रह गर्ने र उक्त जाँचको व्यवस्था मिलाउन विमानस्थल कार्यालयलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।
मन्त्रालयले विमानस्थलमा कार्यरत कर्मचारीले कार्यस्थलमा मास्क, पञ्जा र आवश्यकता बमोजिमको सावधानी अपनाउन निर्देशन दिएको छ । मन्त्रालयले चीनबाट आउने पर्यटकमा संक्रमणको लक्षण देखिए होटेल तथा एजेन्सीले स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसहित मुख्यसचिब र मन्त्रालयका सचिबको उपस्थिति रहेको थियो ।
मृतकको संख्या बढ्यो
चीनमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या बढेको छ । संक्रमणले ८१ जनाको मृत्यु भएको छ । जसमध्ये ७६ जना भाइरसको उद्गमस्थलको रुपमा पहिचान गरिएको वुहान शहर सम्मिलित हुबेइ प्रान्तका छन् । हालसम्म तीन हजार जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भइसकेको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
चिनियाँ अधिकारीहरुले संक्रमण फैल्न नदिन नयाँ वर्षको विदा समेत लम्ब्याएको छ । आइतबारसम्मको विदामा तीन दिन थप गरिएको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस अधानम घेब्रेयसस वेइजिङ् पुग्नुभएको छ । कोरोना भाइरसको संक्रमणबारे चीन सरकारसँग छलफल गर्न उहाँ वेइजिङ् पुग्नुभएको हो ।
चीनमा कोरोना भाइरस सम्बन्धि तथ्याङ्क
मृत्यु ८१
संक्रमित २८२७
सम्भावित ५,७९४
सघन बिरामी ४६१
उपचारपछि घर फर्केका ५१

संक्रमण कहाँ, कति ?
थाइल्याण्ड ८
अमेरिका, अष्ट्रेलिया ५
सिंगापुर, ताइवान, मलेसिया र दक्षिण कोरिया ४
फ्रान्स, जापान ३
भियतनाम दुई
नेपाल र क्यानाडा एक

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?