logo
२०८१ बैशाख ७ शुक्रवार



विमान दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस्– राष्ट्रसंघ

अन्तर्राष्ट्रिय |


विमान दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस्– राष्ट्रसंघ


संयुक्त राष्ट्रसंघ, पुस २५ गते । इरानमा गत मङ्गलबार दुर्घटनाग्रस्त भएको युक्रेनी विमान बारे पूर्ण रुपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसंघले गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले बिहीबार सो कुराको जानकारी दिनुभएको हो ।

हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओलाई उद्धृत गर्दै हकले भन्नुभएको छ– संयुक्त राष्ट्रसंघ यो विमान दुर्घटनाको अनुसन्धान राम्रोसँग होस् भन्ने चाहन्छ, आइकाओको आधिकारिक भनाई पनि यही हो ।

हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओलाई उक्त विमान दुर्घटनाको सामान्य जानकारी मात्र गराइएको र यसको छानबीनको लागि आवश्यक सहयोग नमागिएको बताइएको छ ।

सोही कारण उक्त निकायले विमान दुर्घटनाको कारण राम्रोसँग पत्ता लागोस् भन्ने चाहेको बताइएको छ ।

हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओले सो विमान दुर्घटनाको पूर्ण रुपमा अनुसन्धान होस् भन्दै यसबाट पत्ता लागेको तथ्यसम्बन्धी प्रारम्भिक प्रतिवेदन आफूलाइ दिनुपर्ने बताएको छ ।

प्रवक्ता हकले उक्त विमानको दुर्घटना भएको दिनदेखि महिना दिनभित्र सो विमान दुर्घटनाको पूर्ण रुपमा अनुसन्धान गरी यसको प्रारम्भिक प्रतिवेदन दिन पनि इरान सरकारसँग आग्रह गरेको ।

अमेरिकामा निर्माण भएको बोइङ कम्पनीको यूक्रेनी विमान गत मंगलबार इरानमा दुर्घटनाग्रस्त भएको थियो ।

सो विमानमा नौ जना चालकदलका सदस्यसहित १७६ जना यात्रामा रहेका थिए । ती सबैजना यात्रुको निधन भएको छ ।
उक्त विमानको दुर्घटनाको कारण अनुसन्धान गरिरहेको जानकारी इरानले दिएको छ । इरानले बिहीबारमात्र दिएको जानकारीअनुसार सो विमानको ‘ब्ल्याकबक्स’ भेटिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उक्त विमानको ‘ब्ल्याकबक्स’ बिग्रिएको अवस्थामा पाइएको जानकारी पनि इरानले बिहीबार दिएको थियो ।

इरानले राजधानी तेहरानको परान्ड उपनगरमा दुर्घटनाग्रस्त युक्रेनी यात्रुवाहक विमानको बारेको प्रारम्भिक जानकारी इरान सरकारले सार्वजनिक गरेको हो ।

इरानको उड्डयन संगठनका प्रमुख अली अबेद्जादेले भन्नुभयो, “विमानको ‘ब्ल्याकबक्स’ बिग्रिएको भेटिएको इरानी प्राविधिकले बताएका छन् । दुवै उपकरणका ‘मेमोरी चिप्स’ मा देखिनेगरी नै क्षति भएको पाइएको छ ।”

त्यसैगरी अहिलेसम्मको अनुसन्धानबाट विमान दुर्घटनापूर्व विमान चालकबाट त्यस्तो कुनै असामान्य खालको सन्देश प्राप्त भएको आवाज पनि प्राप्त नभएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको इरानी अधिकारीले बताएका छन् ।

इरानले युक्रेन र सम्बन्धित देशका प्रतिनिधिहरूलाई दुर्घटनाको बारेमा अनुसन्धानका लािग सूचित गरेको बताइएको छ । तर उता अनुसन्धानका लागि कुनै जानकारी नपाइएको आइकाओले जनाएको छ ।

इरानले गरेको आन्तरिक तथा प्रारम्भिक प्रतिवेदनले विमान आठ हजार फिटमाथि आकाशमा रहेको समयमा राडारसँगको सम्पर्क गुमेको र त्यो सम्पर्क गुमेको छोटो समयमै विमान दुर्घटनाग्रस्त भएको उल्लेख गरिएको छ ।

इरान सरकारले गरेको यो अनुसन्धानमा प्रत्यक्षदर्शीहरुलाई पनि समेटेको छ । उनीहरुले विमान दुर्घटना हुनुभन्दा अघि विमानबाट आगो निस्केको बताएका थिए ।

विमानमा आगो लागेर समस्या देखिएपछि विमान चालकले दिशा बदलेर विमानस्थलतर्फ फर्काउन खोजिएको अनुमान अधिकारीले गरेका छन् । यस तथ्यलाई पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विमान दुर्घटनाको समय इरान र अमेरिकाबीचको द्धन्द्धको समय रहेको थियो । त्यस समय इरानले इराकमा रहेको अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र हानेको थियो ।

सोही समयमा इरानमा विमान दुर्घटनाग्रस्त भएको थियो । त्यसैले इरान आफैले अनुसन्धान गरिरहेको यस दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस् भन्ने अपेक्षा राष्ट्रंघले गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?