logo
२०८० चैत्र १५ बिहीवार



दादुराको महामारीको नियन्त्रणमा सघाउन आग्रह

अन्तर्राष्ट्रिय |


दादुराको महामारीको नियन्त्रणमा सघाउन आग्रह


संयुक्त राष्ट्रसंघ, मङ्सिर २५ गते । दक्षिणी प्रशान्त महासागरीय देशहरुमा केही समय यतादेखि फैलिएको दादुराको महामारी विरुद्ध लड्न राष्ट्रसंघले आग्रह गरेको छ ।

ती देशमा बढ्दै गएको प्रकोप कम गर्न हाल अष्ट्रेलिया र न्युजिल्याण्डले सहयोग गरिरहेका छन् । त्यस महामारी विरुद्धको अभियानमा सघाउन अरु देशलाई पनि आग्रह गरिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो आग्रह गर्नुभएको महासचिवका प्रवक्ताले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

दक्षिणी प्रशान्त महासागरीय क्षेत्रका कम्तीमा पनि तीन लाख नागरिकमा यसको सङ्क्रमण देखिएको समाचार यसअघि नै आएको थियो । यसको प्रकोप प्रतिदिन बढ्दै जान सक्ने खतरालाई मध्यनजर गर्दै यसका लागि सघाउन आग्रह गरिएको हो ।

खासगरी समोआ, फिजी, टोंगा, भानुआतु, कुक आइल्याण्ड, नाउरु, टुभालू आदिमा दादुराको प्रकोप बढ्दै गएको छ । यसको प्रकोपका कारण यहाँ सयौँ नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ ।

महामारी नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघीय बालकोष, युनिसेफको नेतृत्वमा केही सहायता सहायता एजेन्सीहरुले काम गरिरहेका छन् ।

ती देशमा अझै ठूलो सहयोग र प्रतिबद्धताको आवश्यकता रहेको पनि बालकोषले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले यहाँको अवस्थालाई अझ गम्भीर रुपमा लिन आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघको यो पछिल्लो आग्रह बमोजिम अष्ट्रेलिया र न्युजिल्याण्ड सरकारले भने सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर अरु पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने सहायता एजेन्सीहरुसमक्ष सहयोगको आग्रह गरिएको हो ।

यसैबीच टापुहरुले भरिएको देश समोआमा दादुराको महामारीबाट मध्य अक्टोबरबाट हालसम्म ७० जनाको मृत्युको भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

सो रोग निगरानी टोलीकाअनुसार चार हजार ६९३ दादुराको सङ्क्रमण सरकारले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

हाल मात्र पनि यस रोगबाट सङ्क्रमित १५९ अस्पतालमा भर्ना छन् । समोआ हाल आपतकालको अवस्थामा रहेको छ ।

गत बिहीबार र शुक्रबार प्रायः सार्वजनिक र सरकारी सेवा बन्द गरिएको थियो । गत डिसेम्बर ८ मा ९० प्रतिशत सर्वसाधारणलाई दादुरा विरुद्धको सार्वजनिक खोप लगाइएको सरकारी स्रोतले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?