logo
२०८१ बैशाख १३ बिहीवार



चिलीमा नयाँ संविधानका लागि जनमत संग्रह हुने

अन्तर्राष्ट्रिय |


चिलीमा नयाँ संविधानका लागि जनमत संग्रह हुने


सान्टियागो, कात्तिक ३० गते ।
चिलीमा नयाँ संविधान निर्माणका लागि जनमत संग्रह हुने भएको छ । चिलीमा नयाँ संविधान र यसमार्फत राजनीतिक सुधारका लागि भन्दै करिब महिना दिनदेखि नै आन्दोलनकारीहरुले दिनहूँजसो प्रदर्शन गरिरहेका छन् । उनीहरुको मागको सम्बोधन गर्दै चिलीको सरकारले शुक्रबार नयाँ संविधान लेखनका लागि जनमत संग्रह गर्ने घोषणा गरेको हो ।
चिलीको वर्तमान संविधान सन् १९८० मा जारी भएको हो । त्यस संविधानलाई तानाशाहले जबर्जस्ती जारी गरेको भन्दै अब प्रजातान्त्रिक संविधान बनाउने भनेर यो घोषणा गरिएको हो । चिलीका पूर्व शासक अगस्तो पिनोचेटले सो संविधान जारी गरेको र उक्त संविधान प्रजातान्त्रिक संविधान नरहेको भन्दै नयाँ संविधान जारी गर्न जनमत संग्रहको माग प्रदर्शनकारीहरुले गरिरहेका छन् । संविधान तथा सरकारले नागरिकका आधारभूत अधिकारहरु जस्तो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्न नसकेको भन्दै दशौँ हजार नागरिकले प्रदर्शन जारी राखेका थिए ।
शुक्रबार आन्दोलनकारी र सरकारका तर्फबाट प्रतिनिधिहरुले वार्ता गरेका थिए । त्यस वार्ताका क्रममा उनीहरुले यो संविधानलाई विस्थापित गरी नयाँ संविधान निर्माण गर्नका लागि जनमत संग्रह गर्ने विषयमा सहमत भएका बताइएको हो । सरकारको वार्ता टोली र विपक्षी दलहरुका प्रतिनिधिहरुबीच शुक्रबार भएको लामो छलफलपछि सन् २०२० को अप्रिलमा जनमत संग्रह गर्ने विषयमा सहमति भएको समाचारमा जनाइएको छ ।
चिलीका गृहमन्त्री गोन्जालो बुमलले यो सहमति ऐतिहासिक भएको बताउनुभएको छ । उहाँले यस सहमति बमोजिम चिलीमा नयाँ जनमत संग्रह हुनेछ र यसले पुरानो संविधानलाई नै जारी राख्ने कि अर्को संविधान तयार पार्ने भन्ने बारेमा निर्णय दिने बताउनुभयो ।
यसका साथै आगामी संविधानमा नागरिकका के कस्ता आधारभूत आवश्यकताका विषयहरु राख्ने भन्ने बारेमा पनि आगामी जनमत संग्रहले निर्णय गर्ने भएकोले प्रदर्शनकारीहरुले आफ्ना विरोध प्रदर्शनहरुलाई शुक्रबारदेखि नै स्थगित गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?