logo
२०८० चैत्र १६ शुक्रवार



खाडी क्षेत्रमा अमेरिकी सैनिक संख्या बढाउने ट्रम्पको घोषणा   

अन्तर्राष्ट्रिय |


खाडी क्षेत्रमा अमेरिकी सैनिक संख्या बढाउने ट्रम्पको घोषणा   


वासिङ्टन,असोज ४ गते । संयुक्तराज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने शुक्रबार घोषणा गरेको छ । साउदी अरेबियाका महत्वपूर्ण तेल प्रशोधन केन्द्रहरुमा आक्रमण भएपछि अमेरिकाले उक्त कदम चाल्न लागेको हो ।    
    
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको केही घण्टा नबित्दै सैनिक संख्या बढाउने निर्णय सार्वजनिक भएको हो । अमेरिकाले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रहरुमा इरानले ड्रोन मार्फत आक्रमण गरेको आरोप लगाउँदै आएको छ ।    
    
ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको केन्द्रीय बैंकमाथि नै प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको छ । इरानमाथि तत्कालै सैन्य कारबाही गर्ने योजना नभए पनि अर्को मुलुक विरुद्ध यो सबैभन्दा ठूलो कारबाही हो ।    
    
अमेरिकी अर्थ विभागले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रमा गरिएको आक्रमणमा संलग्न रहेको भन्दै इरानी केन्द्रीय बैंकमाथि नै प्रतिबन्धको घोषणा गरिएको जनाएको छ । साउदी तेल उद्योगमा आक्रमण भएलगत्तै विश्व बजारमा एकाएक तेलको मूल्य वृद्धि भएको थियो ।    
    
अमेरिकी रक्षामन्त्री मार्क एस्परले गत जुनमा इरानले अमेरिकी गुप्तचर ड्रोन खसालेयताका हरेक कार्यहरु अमेरिका र यसका गठबन्धन विरुद्ध केन्द्रित भएको बताउनुभयो । उहाँले साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सको आग्रहमा खाडी क्षेत्रमा थप अमेरिकी फौज पठाउन लागेको जानकारी दिनुभयो ।    
    
रक्षामन्त्री एस्परले अमेरिकी सेना आक्रामक कारबाहीका लागि खाडी क्षेत्रमा पठाउन लागिएको भए पनि उनीहरु हाल मुख्य रुपमा हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा केन्द्रित हुने बताउनुभयो ।    
    
तर अमेरिकी संयुक्त सैन्य प्रमुख जो डन्फोर्डले खाडी क्षेत्रमा पठाइने सैनिक संख्या एक हजारको हाराहारीमा मात्र रहने स्पष्ट गर्नुभयो । कतिपयले राष्ट्रपति ट्रम्पले इरान विरुद्ध युद्ध नै शुरु गर्ने अनुमान गरेपनि अमेरिकी नीति एकाएक फेरिएको थियो ।    
    
गत जुनमा इरानले अमेरिकी जासुसी ड्रोन खसालेपछि तत्काल इरान विरुद्ध कारबाही गर्न राष्ट्रपति ट्रम्पले आदेश दिए पनि अन्तिम क्षणमा उक्त आदेश फिर्ता लिनुभएको थियो ।    
    
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट एकपक्षीय रुपमा अलग हुँदै इरान विरुद्ध कडा प्रतिबन्धहरु घोषणा गर्नुभएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?