logo
२०८० चैत्र १५ बिहीवार



सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोड्यो   

अन्तर्राष्ट्रिय |


सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोड्यो   



वेलिङ्टन, न्यूजील्याण्ड, भदौ ३१ गते । प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । प्रशान्त महासागर क्षेत्रमा सोलोमन द्वीप ताइबानको सबैभन्दा ठूलो गठबन्धन मुलुक थियो ।    
    
सोलोमनले आफ्नो कुटनीतिक सम्बन्ध चीनसँग जोडेको छ । विज्ञहरुका अनुसार प्रशान्त महासागर क्षेत्रका अरु मुलुकले पनि ताइवानसँगको कुटनीतिक सम्बन्ध तोड्ने सम्भावना छ ।    
    
सोलोमनको पछिल्लो निर्णयले ताइबान मात्र नभई अमेरिकालाई पनि असर पर्न सक्नेछ । सोलोमन द्वीप अस्ट्रेलिया र संयुक्तराज्य अमेरिकाको बीचमा अवस्थित छ । यस क्षेत्रमा दोस्रो विश्वयुद्धमा जापान र अमेरिकी गठबन्धनका सेनाबीच भिषण युद्ध भएको थियो ।    
    
सोलोमन द्वीपका प्रधानमन्त्री मनासेह सोगाभारका प्रवक्ता अलेक्स अक्वाईले संसदमा भएको मतदानमा ताइवानसँगको कुटनीतिक सम्बन्ध तोडेर चीनसँग जोड्नुपर्छ भन्ने पक्षमा २७ जना सांसदले मतदान गरेको र छ जना अनुपस्थित रहेको जानकारी दिनुभयो । त्यसपछि मन्त्रिपरिषदको बैठकले पनि सर्वसम्मत रुपमा चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।    
    
अक्वाईले सोलोमनको राजधानी होनियारास्थित ताइवानी राजदूतावासको झण्डा हटाइएको पनि बताउनुभयो । तर यस बारेमा राजदूतावासका कर्मचारीले केही प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।    
    
ताइवानका राष्ट्रपति चाई इङ–वेनले ताइवानले आफ्नो राजदूतावास बन्द गर्ने र त्यहाँ रहेका सबै प्राविधिक तथा मेडिकल कर्मचारीलाई फिर्ता बोलाइने बताउनुभयो ।    
    
“चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने सोलोमनको निर्णयको म खेद र भत्र्सना गर्दछु” चाईले बताउनुभयो ।    
    
यसैबीच, चीनले सोलोमन द्वीपको निर्णयको स्वागत गरेको छ । “सोलोमन द्वीप सरकारको यो निर्णयलाई चीनले अत्यन्त सकारात्मक रुपमा लिएको छ । एक चीन नीतिप्रति सोलोमनको प्रतिबद्धता रहेको हामीले ठानेका छौं,” चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।    
    
चीनले ताइवानलाई आफ्नै भूमि ठान्दछ । चीनको मुख्य भूभागबाट ताइवान सन् १९४९ मा अलग्गिएको थियो ।    
    
प्रशान्त महासागर क्षेत्रमा करिब ६ लाख ६० हजार जनसंख्या रहेको सोलोमन द्वीप चीनका लागि रणनीतिक महत्वको रहेको छ । प्रशान्त क्षेत्रमा ताइवानसँग कुटनीतिक सम्बन्ध रहेको सोलोमन सबैभन्दा ठूलो राष्ट्र हो । सोलोमनको अर्थतन्त्र मुख्य रुपमा कृषि, माछा मार्ने र वनमा आश्रित छ । यहाँ ठूलो परिमाणमा खनिज पदार्थ रहेको विश्वास गरिन्छ ।    
    
ताइवानलाई कुटनीतिक मान्यता दिने विश्वभर अब १६ वटा मुलुकमात्र बाँकी रहेका छन् जसमा प्रशान्त क्षेत्रका साना पाँच वटा राष्ट्र छन् । प्रशान्त क्षेत्रका मार्शल द्वीप र पलाउसँग अमेरिकाको अति निकट सम्बन्ध रहेको छ । यी दुबै मुलुकले तत्काल ताइवानसँग सम्बन्ध तोड्ने सम्भावना कम छ । तर जानकारहरुका अनुसार किरिबाटी, नाउरु र टुभालुले निकट भविष्यमै ताइवान छाडेर चीनसँग सम्बन्ध जोड्नेछन् ।    
    
अमेरिकी रिपब्लीकन सिनेटर मार्को रुबिओले सोलोमनको कदमबाट अमेरिका चुप लागेर बस्न नहुने बताउनुभएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?