logo
२०८० चैत्र १६ शुक्रवार



ड्रोन आक्रमणका कारण साउदी तेल उत्पादनमा आधा कटौती   

अन्तर्राष्ट्रिय |


ड्रोन आक्रमणका कारण साउदी तेल उत्पादनमा आधा कटौती   


दुबई, भदौ २९ गते । यमनका हुथी विद्रोहीहरुले गरेको ड्रोन आक्रमणबाट साउदी अरेबियाको तेल उत्पादन कारखानामा ठूलो क्षति पुगेको साउदी सरकारले जनाएको छ । आक्रमणका कारण विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाको तेल उत्पादन आधा कटौती भएको छ ।    
    
ड्रोन आक्रमणबाट साउदी तेल कारखानामा ठूलो आगलागी भएको थियो, यद्यपी आगो नियन्त्रणमा ल्याइएको साउदी सरकारले जनाएको छ ।    
    
केही महिनादेखि साउदी अरेबियाका तेलकुवा र कारखानाहरुमा हुथी विद्रोहीहरुले मानवरहित विमान (ड्रोन) बाट आक्रमण तिब्र बनाएका छन् । साउदी गठबन्धनले यमनका हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण गरेको भन्दै प्रतिशोध स्वरुप हुथी विद्रोहीहरुले साउदी पूर्वाधारमा आक्रमण गरिरहेका छन् ।    
    
साउदी अरेबियाका ऊर्जा मन्त्री अब्दुलाजिज बिन सल्मानले अब्काक तेल प्रशोधन केन्द्र र खुराइस तेल कुवामा क्षति पुगेका कारण दुबैबाट तेल उत्पादन अस्थायी रुपमा रोकिएको बताउनुभयो । मन्त्री अब्दुलाजिजले जारी गर्नुभएको विज्ञप्तिमा दुबै ठाउँको आगो नियन्त्रणमा आइसकेको उल्लेख छ ।    
    
मन्त्री अब्दुलाजिजको वक्तव्यमा करिब ५७ लाख ब्यारेल कच्चातेलको आपूर्ति कटौती भएको उल्लेख छ । तेल उत्पादन र आपूर्तिमा प्रभाव पर्ने वा नपर्ने विषयमा साउदी अरेबियाको मुख्य तेल कम्पनी साउदी आराम्कोले विश्लेषण गरिरहेको छ ।    
    
इरान समर्थित हुथी विद्रोहीहरुले ड्रोन आक्रमणको जिम्मेवारी लिएका छन् । हुथी विद्रोहीहरुले हाल यमनको राजधानी साना सहित अधिकाँश क्षेत्रमा नियन्त्रण कायम गरेका छन् । साउदी अरेबियाले सन् २०१५ देखि नै यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई समर्थन गर्दै हुथी विद्रोही विरुद्ध हवाई आक्रमण गरिरहेको छ । यस आक्रमणबाट यमनमा ठूलो जनधनको क्षति हुनुका साथै मानवीय संकट उत्पन्न भएको छ ।    
    
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने साउदी अरेबियामा भएको ड्रोन आक्रमण हुथी विद्रोहीले नभई इरानले गरेको दाबी गर्नुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ, “यो आक्रमण यमनबाट भएको कुनै प्रमाण भेटिएको छैन ।”    
    
हुथी विद्रोहीका सैनिक प्रवक्ता याहिया सरीयाले साउदी अरेबियामा १० वटा ड्रान आक्रमण गरिएको र त्यसका लागि सैनिक गुप्तचर सूचना साउदी अरेबियाबाटै प्राप्त गरेको दाबी गर्नुभएको छ ।    
उहाँले परिस्थितिमा सुधार ल्याउन साउदी सरकारले यमनमा जारी राखेको हवाई हमला तत्काल बन्द गर्नुपर्नेमा जोड दिनुभयो ।    
    
इरानले यमनी विद्रोहीहरुलाई हातहतियार र ड्रोन आपूर्ति नगरेको बताउँदै आएको छ । तर राष्ट्रसंघ, पश्चिमा मुलुकहरु र अरब खाडी मुलुकहरुले यमनी हुथी विद्रोहीलाई आर्थिक, सैनिक र राजनीतिक समर्थन दिइरहेको बताइरहेका छन् ।    
    
राष्ट्रसंघका अनुसन्धाताहरुका अनुसार हुथी विद्रोहीसँग रहेका ड्रोनले एक हजार ५०० किलोमिटर दूरीसम्म यात्रा गर्न सक्दछ । यी ड्रोनबाट यमनका छिमेकी मुलुकहरु साउदी अरेबिया र युनाइटेड अरब ईमिरेट्ससम्म सहजै प्रहार गर्न सकिने राष्ट्रसंघको भनाई छ ।    
    
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमार मोहम्मद बिन सल्मानलाई फोन गरी साउदी अरेबियाको प्रतिरक्षाका लागि अमेरिकाले जस्तोसुकै सहयोग गर्ने बताउनुभएको ह्वाइट हाउसले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?