बत्तिस वर्षीय एक जना पुरुष दाँत निकाल्न आउनु भयो । शरीरमा दाँतको रोगबाहेक अन्य रोग नभएको जानकारी उहाँले दिएपछि दाँत निकालियो । दुई सातासम्म पनि दाँत निकालेको घाउ ठिक नभएको भनेर उहाँ फेरि आउनुभयो । दाँत निकालेको घाउ सफा नै देखेपछि कारण पत्ता लगाउन रगत परीक्षण गरियो । रगत परीक्षण गर्दा मधुमेह देखिएपछि उहाँ नै अचम्ममा पर्नुभयो । यस्तै अर्का एक पुरुष मधुमेहका रोगी हुनुहुन्थ्यो । गिजाबाट रगत आई मुख र गिजा सफा गर्दा/गराउँदा मधुमेह नियन्त्रणमा आएको र लगातार बढ्दै गएको औषधी पनि घट्दै गएको वास्तविकता उहाँ सुनाउँदै हुनुहुन्थ्यो ।
यस्ता अनगन्ती उदाहरण हाम्रो समाजमा लुकेर बसेका छन् । त्यसो त पश्चिमा देशमा मुखसम्बन्धी रोगले शरीरमा अन्य रोग निम्त्याउँछ, जटिलता ल्याउँछ । शरीरका रोगको निदान र उपचारमा मुख स्वास्थ्य र उपचारले सहयोग गर्छ भन्ने कुरा नौलो होइन तर हाम्रा लागि यो अचम्मको विषय बनेको छ । सन् २०२१ मा संसारभर ५३ करोड ७० लाखलाई मधुमेह छ । रगतमा उच्च ग्लुकोज भएकै कारण सन् २०२३ मा पनि ६७ लाखको मृत्यु भएको थियो, जसमा ८० प्रतिशत कम तथा मध्य आय भएका देशका थिए । तथ्याङ्क अनुसार हरेक १० सेकेन्डमा दुई जनालाई मधुमेह लाग्छ भने प्रत्येक आठ सेकेन्डमा एक जनाको मृत्यु हुने गरेको छ ।
त्यस्तै हरेक वर्ष करिब दस लाख मधुमेहीको खुट्टा काट्न परिरहेको तितो यथार्थ छ । सन् २०३० मा मधुमेहबाट मृत्यु सातौँ कारक बन्दै गरेको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ । जटिलता भई मृत्यु हुनेमा ५० प्रतिशत मुटु तथा धमनी रोगका कारणले भएको देखिन्छ । विश्वको १ प्रतिशत अन्धोपन मधुमेहले भएको देखिन्छ । समग्रमा मधुमेहीमा जटिलता भई मृत्यु हुने सम्भावना सामान्यभन्दा दोब्बर रहेको देखिन्छ । लान्सेट पत्रिका अनुसार विश्वमा वयष्क मधुमेहको सङ्ख्या अनुमान गरिएभन्दा बढीका दरले वृद्धि भइरहेको छ । दुई वर्षमा साढे छ करोड बढेर रोगीको सङ्ख्या ३५ करोड पुगेको छ । ३० वर्षमा रोगी दोब्बर भएका छन् । मधुमेहबाट प्रतिवर्ष ३० लाखको मृत्यु हुने गरेको छ ।
नेपालमा भएगरेका अस्पताल सर्वेमा २० प्रतिशत र समुदायिक सर्वेमा १० प्रतिशत जनसङ्ख्यामा मधुमेह देखिन्छ । हरेक चार जनामा एक जनालई मधुमेह भएको अनुमान छ । अर्को आँकडामा आठ लाखभन्दा बढी मधुमेही छन्, जसमा धेरैलाई रोग भए पनि थाहा छैन । बढेको मधुमेहका कारण हृदयाघात, पक्षाघात, मिर्गौला, आँखा, रक्तनली तथा दाँत र मुखलगायतका बिरामी बढिरहेका छन् । दस वर्षपहिले नै अर्थात् तीस वर्ष नपुग्दै मधुमेहको रोगी बन्नेको सङ्ख्या दिनप्रतिदिन बढिरहेका छन् । मधुमेह रोगीको राजधानी भारत र चीनबिचको देश नेपालमा समान रहनसहन, जीवनशैली र वातावरणले महामारी नै नल्याउला भन्न सकिन्न ।
के हो मधुमेह ?
प्यान्व्रिmयाज ग्रन्थीले निकाल्ने इन्सुलिन आंशिक वा पूर्ण मात्रामा कमी हुन गई वा यसले गर्ने काममा अवरोध भई खानामा भएको कार्बोहाइड्रेट शरीरले उपयोग गर्न नसकी रगतमा ग्लुकोजको मात्रा बढ्नु नै मधुमेह हो । सुरुको अवस्थामा धेरैमा लक्षण नदेखिन सक्छ र देखिइहाले पनि यति सामान्य हुन्छन् कि थाहा नहुने र भए पनि यसकै भनेर छुट्याउन गाह्रो पर्दछ । मधुमेहको शङ्कास्पद लक्षणमा तिर्खा बढी लाग्नु, धेरै भोक लाग्नु, थकाइ लाग्नु, छिनछिनमा पिसाब लाग्नु, पिसाब गरेको ठाउँमा कमिला देखिनु, राति पटक पटक पिसाब लाग्नु, बिनाकारण अचानक तौल घट्नु, धमिलो देख्नु, पटक पटक सङ्क्रमण भइरहनु, घाउखटिरा सजिलै निको नहुनु, हातखुट्टा झम्झमाउनु, पैताला पोल्नु, चेतना हराउनु, जिउ चिलाउनु, चिडचिडापन आउनु, मुख सुक्खा हुनु, मुखबाट दुर्गन्ध आउनु, पेट दुख्नु, बान्ता हुनु, कालान्तरमा अन्य अङ्गमा असर पर्न थालेपछि तत् अनुसारका लक्षण देखा पर्छन् । मधुमेहले घातक परिणाम मुटु, आँखा, मिर्गौला, नसा तथा स्नायु प्रणाली, रक्तनलीमा देखाउँछ भन्ने कुरा लामो समयदेखि मानिँदै आएको छ र हाल छैटौँ जटिलता भनी मुखको स्वास्थ्य थपिएको छ ।
मुख स्वास्थ्य
सामान्य मानिसमा समेत दाँत तथा मुखको समस्या भएर श्वास प्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी रोग, बाथ ज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयाघात, नपुङ्सक, बाँझोपना, मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ र गर्भवतीमा समयभन्दा पहिले बच्चा जन्मने र बच्चा शारीरिक तथा मानसिक रूपले कमजोर हुने सम्भावना रहन्छ भने मधुमेह भएका मानिसलाई दाँत तथा मुखको स्वास्थ्यले नराम्रो असर नदेखाउने कुरै भएन ।
मधुमेह रोगीमा दाँत कीराले खाने, दन्तहर्षा, पाइरिया, हड्डी छिटो खिइने समस्या हुन सक्छ । मुखका कुनाकुनामा सुजन हुने, सुक्खा रहने र चर्किने, फुट्ने, मुख पोलेको अनुभव हुने, असामान्य चेतना र झन्किने, ¥यालको उत्पादन र बहाव कम हुन गई बोल्न अप्ठेरो हुने र विभिन्न सङ्क्रमण पनि देखिन सक्छ । घाउखटिरा, केन्डिडियासिस, सूक्ष्मजीवमा परिवर्तन, प्रतिरोधात्मक शक्तिमा कमी, सङ्क्रमण र दन्तसडनको सम्भावना बढ्छ । गिजा सुन्निनु, दाँत हल्लिनु, दाँत समाउने हड्डीको नोक्सान हुनु, गुलियो दुर्गन्ध आउनु, थुक निकाल्ने ग्रन्थीको सुजन, पेरियोडेन्टल तन्तु पातलिने पनि हुन सक्छ । जिब्रोमा विभिन्न रोग देखा पर्नु, घाउ निको हुन समय लाग्नु, दाँत निकालेको घाउमा दुई दिनपछि दुखाइ हुने समस्या पनि हुन सक्छ ।
अनुसन्धानमा दाँत तथा मुख स्वस्थ राख्दा ‘टाइप २’ मधुमेहको एकतिहाइले रोकथाम हुन सक्छ । ४५ वर्षभन्दा माथिको उमेर भएको मधुमेह रोगीमा मुख स्वास्थ्यमा ध्यान नदिए पाँच गुणा र धूमपानको लतमा भने पेरियोडेन्टल रोगको जोखिम ३० गुणाले बढेको देखिएको छ । गिजाभित्र सङ्क्रमण भएको छ भने ५० गुणाले मुख, गिजा र पेरियोडेन्टल रोगको खतरा बढी देखिन्छ । मधुमेहीको दाँत, गिजा वा मुखको रोगको उपचार गरियो भने उसको रगतमा चिनीको मात्रा कम हुने वा नियन्त्रणमा रहने वा प्रयोग गरिरहेको औषधी वा सुईको मात्रा पनि कम गर्नुपर्ने अवस्था आएको प्रमाणित भएको छ ।
मधुमेह पत्ता लगाउन, मधुमेहीको स्वास्थ्य सुधार्न, मधुमेहलाई नियन्त्रणमा राख्न, औषधीको प्रयोगमा कमी ल्याउन र घातक परिणामबाट जोगिन दन्तस्वास्थ्यको ध्यान दिन अति आवश्यक छ । किनभने मधुमेह एक पटक भइसकेपछि निको हुँदैन । मधुमेह सचेतनाले रोक्न र नियन्त्रण गर्न सकिन्छ तर भइसकेपछि हजारमा र जटिलता भए लाखौँ रुपियाँ खर्च गर्नु पर्दछ । स्वस्थ शरीरको तौल, शारीरिक सक्रियता, दैनिक ३० मिनेटको नियमित हिँडाइ, चिनी र स्याचुरेटेड बोसोको मात्रा घटाउनु पर्छ । फलफूल र सागपात रहेको खाना दैनिक तीनदेखि छ पटक खानु पर्छ । धूमपान गर्नु हुँदैन । यी कुराले जोखिम न्यून भई मधुमेह रोकथाम गर्न सकिन्छ ।
मधुमेहीले सन्तुलित खानपानका साथै व्यायाम तथा योग गर्ने, औषधी र इन्सुलिनको मद्दतले यसलाई नियन्त्रणमा राखे पक्षाघात, हृदयाघात जस्ता जटिल समस्याबाट बच्न सकिन्छ । मधुमेहबारे बिरामी स्वयम् चनाखो र सुसूचित हुनु पर्छ । मधुमेहको उपचारमा परामर्शदाता स्वास्थ्यकर्मी जस्तै बिरामी स्वयम्को इच्छाशक्ति, आत्मबल, धीरता र व्यवस्थापकीय भूमिका महत्वपूर्ण हुन्छ । परिवारका सदस्य र सहयोगीले पनि रोगका बारेमा जानी राख्नु पर्दछ किनभने मधुमेहको पहिलो औषधी शिक्षा वा ज्ञान नै हो ।