• ९ मंसिर २०८१, आइतबार

वामपन्थी एकताको सुरुवात

blog

भर्खरै नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) सँगको गठबन्धनमा सरकारको पुनर्गठन गरेको छ । यो नयाँ गठबन्धन वामपन्थी एकताका लागि आधा दैलो खुलेको घटनाका रूपमा लिन सकिन्छ । सत्ता स्वार्थको दृष्टिकोण राखेर विश्लेषण गर्नेहरूलाई त केही भन्न सकिँदैन । देशका हितका लागि भने यो अत्यन्तै सकारात्मक र स्वागतयोग्य कार्य हो । तत्कालीन नेकपा विभाजित भएपछि फेरि नेपालका वामपन्थीहरू एक ठाउँमा पुगेका छन् । यो नेपालको राजनीतिमा नयाँ परिवर्तन हो र सकारात्मक पक्ष पनि हो । 

नेपाली जनताले चाहेको एकता, सुशासन, पारदर्शिता र विकास हो । वामपन्थी सहकार्य र एकता त झन् सबै परिवर्तनकामी जनताको आकाङ्क्षा नै हो । चार दल चारतिर फर्किएर सुखी नेपाली र समृद्ध नेपाल बन्दैन । आखिर देशको सम्पूर्ण नीति नै राजनीतिमा निर्धारित भएपछि जनताले पनि दलहरू मिलेकै हेर्न चाहेका छन् । दलबिचको दुरी जति बढ्दै जान्छ, विकास, सुशासन, सुख पनि जनताको घरआँगनबाट टाढिँदै जान्छ ।

वामपन्थी भनेका देशका क्रान्तिकारी शक्ति हुन् । क्रान्तिकारीहरू पुरानो र सानो उपलब्धिमा रमाएर बस्दैनन् । उनीहरू नयाँ नयाँ खोज, अनुसन्धान र परिणाममुखी कार्यमा आफ्नो समय, शक्ति र सिप लगाउँछन् । सोही अनुरूप हालैको एमाले–माओवादीको सहकार्यले पनि वामपन्थी एकताको सुरुवात गरेको छ । यो एकतामा गर्व गर्नु पर्छ । आफ्नै चेतना, विवेक र बुद्धिले प्रचण्ड र ओलीबिच सहकार्य भएकाले यो टिकाउ पनि हुन्छ । यसलाई थप मलजल गर्न अन्य वामपन्थी शक्तिले होस्टेमा हैँसे गर्नु पर्छ ।

विगतमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डबिच चरम उतार चढावपूर्ण सम्बन्ध रह्यो । यो बिग्रेको सम्बन्ध पुनः सुध्रेर अगाडि बढेको छ । अहिले बनेको गठबन्धन वाम तथा देशभक्त प्रगतिशीलहरूको हो । गत सालको चुनावपछि माओवादी आफ्नो नेतृत्वमा सरकार बनाउने तयारीमा थियो । अन्तिम समयमा कांग्रेसले नसघाउने भएपछि माओवादी एमालेसँग सहकार्य गर्ने निष्कर्षमा पुगेको थियो । त्यतिबेला बाध्यतात्मक अवस्थामा एमाले–माओवादीबिच सहकार्य भएको थियो । त्यसैले त्यो धेरै टिक्न सकेन । अहिलेको वाम सहकार्य पनि देखावटी मात्र हुनु हुँदैन । यो सहकार्यले राजनीतिक स्थिरतासँगै सुशासन, सेवाप्रवाह र आर्थिक विकासको प्रत्याभूति दिलाउन सक्नु पर्छ । सहकार्य सत्ता स्वार्थकै लागि मात्र हुनु हुँदैन । 

कांग्रेस–माओवादी सत्ता गठबन्धन अहिले तोडिनुमा कांग्रेसका केही नेताको व्यक्तिगत हठले पनि काम गरेको सार्वजनिक चर्चाको विषय बनेको छ । पछिल्लो समय कोशीमा मुख्यमन्त्रीको चुनाव, राष्ट्रिय सभाको चुनाव आदिमा कांग्रेसको कारण माओवादीसँगको सहकार्यमा दरार आएको सार्वजनिक ठम्याइ छ । यही कारण कांग्रेस र माओवादीबिच अविश्वास बढ्दै गयो । फेरि कांग्रेसको महासमिति बैठकमा तीन वटा कुरा आए । संविधानलाई नै चुनौती दिने गरी धर्म निरपेक्षताबारे प्रश्न उठ्यो, जसबाट माओवादीमा संशय पैदा भयो । दोस्रो, कांग्रेसले रुखबाहेक अन्त भोट हाल्नु हुँदैन । अर्थात् चुनावमा गठबन्धन गर्नु हुँदैन भन्ने बहस चल्यो । कांग्रेसका लागि यो उसको स्वाभाविक प्रस्ताव भए पनि माओवादीसँग तिक्तता बढाउने आधार बन्यो । तेस्रो, उक्त बैठकमा नीतिगत प्रस्तावका रूपमा जनयुद्ध आवश्यक थिएन, असान्दर्भिक र ध्वंसात्मक थियो, क्षति भयो भनेर पेस गरियो । शान्ति प्रक्रियाको सहयात्री मानेकै शक्तिले शान्ति प्रक्रियामा समेत प्रश्न उठाउन खोजेको अनुभूति माओवादीलाई भयो । यसले गर्दा यी दुई दलबिच सरकारमा सँगै बस्न नसकिने तर्फ अविश्वास पैदा भयो र वातावरण धूमिल हुँदै गयो । 

प्रधानमन्त्रीले सेवाप्रवाह, विकासको क्षेत्रमा काम गर्न चाहे पनि त्यसका लागि कांग्रेसले सहयोग नगरेको भन्ने कुरो पनि बाहिर आयो । खास गरी युवा पुस्तामा आशा जगाउने गरी काम गर्न खोज्दा नसकिएको भन्ने पनि रहेको छ । परिणाममुखी काम गर्न नसकेर सत्तामा बसिराख्नुको कुनै अर्थ हुँदैन । त्यसैले माओवादीले गठबन्धन फेरेर भए पनि सरकार निर्माण गर्नुपर्ने आवश्यकता भएको घाम जत्तिकै छर्लङ्ग छ । यी सबै पृष्ठभूमिमा सिद्धान्त मिल्नेहरू बिच समझदारी बनेको हो । यसले विकास, सेवा प्रवाह र सुशासनमा काम गर्न पनि सहयोग पु¥याउँछ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डसँग समन्वय नगरी एकलौटी तरिकाले काम गर्न खोज्नु, चिनियाँ अनुदान अस्वीकार गर्नु पनि गठबन्धन फेरिनुको कारक तìव रहेको माओवादी केन्द्रका नेताहरूले बताउने गरेका छन् । आफूलाई कांग्रेसले घेराबन्दीमा परेकाले नयाँ गठबन्धन बनाउनु परेकोे प्रधानमन्त्री प्रचण्डले पनि बताइसक्नु भएको छ । 

त्यसो त पुरानो गठबन्धनमा दक्षिणपन्थी शक्तिको प्रभुत्व थियो । त्यसले आमजनतामा देखिएको निराशा चिर्न सकिएको थिएन । प्रतिगामी, पुनरुत्थानवादी शक्तिहरूको चलखेल रोक्न पनि त्यसले सकेको थिएन । संविधान, सङ्घीयता, धर्मनिरपेक्षता विरोधी भावना बढेर गएको थियो । मुखले सुशासन भने पनि व्यवहारमा भ्रष्टाचार र कुशासन मौलाएर गएको थियो । समाजवादको दिशा समात्नुपर्नेमा उदारवादलाई ज्यादा सेकताप गर्ने काम भइरहेको थियो तर अहिलेको गठबन्धनमा मुख्य रूपमा वामपन्थीको सहकार्य छ । यो कतिको उदारतापूर्वक प्रस्तुत हुन्छ, आफ्ना नीति, कार्यक्रम कतिको प्रगतिशील र रूपान्तरणमुखी बनाउन सक्छ, यसैमा वामपन्थी एकताको दैलो पूरै खोलिन्छ कि बन्द हुन्छ भन्ने कुरो आगामी दिनले किटान गर्छ ।    

Author

अप्सरा रिमाल