सामान्यतया, जलवायु परिवर्तनको प्रभाव लाभदायक पनि हुन सक्छ । हिमालबाट भरपर्दो पानी उपलब्ध भएसँगै यसको अधिकतम लाभ उठाउनु पर्छ । जलाधार क्षेत्र अझै मलिलो र हरियाली हुन सक्छ तर यसको नकारात्मक असर जस्तै, बाढी र ‘ग्लोफ’हरूलाई यत्तिकै बेवास्ता गरेमा व्यवस्थापन गर्न गाह्रो पनि बन्न सक्छ ।
यसपालिको हिउँदमा औसतभन्दा अति न्यून वर्षा भयो । प्रक्षेपण गरिएको भन्दा पनि निकै कम वर्षा भयो । सन् २०१५ मे २४ मा म्याग्दीस्थित कालीगण्डकी नदीमा पहिरोले बाँध बनेको तालमा १५ घण्टाको अवरोधपछि पानी बग्न थालेपछि केही समयका लागि तल्लोतटीय क्षेत्रमा खतरा टरेको थियो । मनसुनको नियमित प्रवाहभन्दा दुई मिटर पानीको सतह बढेपछि पानी बग्न थालेको थियो । पानी बाढीका रूपमा छेउछाउका केही घरसम्म पुगे पनि ठुलो क्षति भने भएन । यस्तै सन् २०२१ जुन १८ मा मनाङमा परेको वर्षाले बाढी र पहिरो गयो । यसले ३५० भन्दा बढी परिवार विस्थापित भए । पछिल्लो वर्ष पनि मुस्ताङको कागखोलामा आएको अनपेक्षित बाढीले स्थानीय क्षेत्रमा ठुलो क्षति पुर्यायो ।
यी केही उदाहरण मात्र हुन् । वैज्ञानिक अनुसन्धानबाट पनि प्रमाणित भइसकेको छ कि कालीगण्डकी क्षेत्रको जलवायु औसतभन्दा फरक भइरहेको छ । यो फरकपनले उक्त क्षेत्रको मात्र होइन, समग्र देश तथा हिमालय क्षेत्रकै वातावरण प्रभावित भएको छ । २८ औँ कोप सम्मेलनले जलवायुजन्य हानिनोक्सानीबारे महत्त्वपूर्ण छलफल गरेको छ । हानिनोक्सानीको क्षतिपूर्ति हुनु पर्दछ भन्ने मान्यता पनि अगाडि सारेको छ ।
कालीगण्डकी नदी उत्पत्ति स्थल
कालीगण्डकी नदी नेपालका तीन वटा नदी प्रणालीमध्ये एक गण्डकी नदीको सहायक नदी हो । चितवन र तनहुँको सङ्गम स्थल देवघाटधाममा यो नदी गण्डकी अर्थात् नारायणी नदीमा मिसिन्छ । कालीगण्डकी नदीको उद्गम मुस्ताङको न्युबिन हिमाल क्षेत्रबाट भएको हो । यो क्षेत्रको उचाइ २० हजार ५४६ फिट अर्थात् छ हजार २६८ मिटर रहेको छ । यो क्षेत्र नेपाल र तिब्बतको सिमानामा पर्छ । स्थानीयस्तरमा यो नदी उद्गम भएको धारालाई छुमा खोला भनिन्छ । यो नदी (धारा) दामोदर कुण्डसँगै रहेको छ । यसपछि कालीगण्डकीबगेर लोमान्थाङ आइपुग्छ । लोमान्थाङ क्षेत्रमा नपुग्दै यसको नाम निछु खोला वा छोरोउ खोला पनि भन्ने गरिएको पाइन्छ । लोमान्थाङमा कालीगण्डकी दक्षिण पश्चिम भएर बग्छ । त्यस स्थानमा यो खोलालाई मुस्ताङ खोला पनि भन्ने गरिन्छ । मुक्तिनाथ क्षेत्रमा कालीगण्डकी नदीसँग झोङ खोला, काक खोला र कृष्णा नदी मिसिन्छन् ।
त्यसपछि नदी कालीगण्डकी घाटी वा अन्धा गल्छी भनिने पहाडको र धौलागिरिको (आठ हजार १६७) पश्चिममा र अन्नपूर्णा–१, (आठ हजार ९१) को पूर्व हुँदै दक्षिणतिर बग्दछ । यही घाटी नै संसारको गहिरो गल्छी हो । यो गल्छी दुई हजार ५२० मिटर गहिरो छ ।
कालीगण्डकी नदी तत्पश्चात् गहिरो गल्छी हुँदै दक्षिण लाग्छ । यो नदीसँग गलेश्वरको राहुघाट खोला, बेनीको म्याग्दी खोला, कुस्मानजिकै मोदी खोला र रिडी बजारमाथि रुद्रबेनीमा बडीगाड मिल्छ । यसपछि महाभारत क्षेत्रको उत्तरी किनारबाट यो नदी बग्न थाल्छ । दक्षिणतर्फ फर्किंदै गर्दा महाभारतलाई छेडेर कालीगण्डकी देवघाटसम्म पुग्छ । प्रमुख सहायक नदीहरू त्रिशूली, पूर्वीराप्ती नदीसँग मिलेर नारायणीसँग मिलेर यो नदी अगाडि बढ्छ । देवघाटबाट नदी गैँडाकोट सहरको दक्षिण पश्चिममा बग्दछ । यसपछि यो नदी दक्षिण पूर्वतर्फ फर्कन्छ र भारतमा प्रवेश गर्दा यसलाई गण्डक भनिन्छ ।
यसरी नारायणीसम्म आइपुग्दा कालीगण्डकीको कुल लम्बाइ ३१६ किमी छ । यस्तै नारायणी नदीसहितको कुल जलाधार क्षेत्र ४३ हजार वर्ग किलोमिटर छ । कालीगण्डकी नदी हिमालय क्षेत्रबाट सुरु भई बग्ने हुनाले यसको बहाव औसतमा समान प्रकृतिको हुन्छ । यसको औसत पानीको मात्रा एक हजार ७६० घनमिटर प्रतिसेकेन्ड मापन गरिएको छ ।
वातावरणीय पक्ष
कालीगण्डकी जलाधारले मात्रै लगभग ११ हजार ७७० वर्ग किमी समेट्छ । यसको उचाइगत फरकपन चाहिँ १८८ मिटरदेखि आठ हजार १४७ मिटर छ । २३.४ प्रतिशत भूभाग खाली जमिन छ । २३.६ प्रतिशत भूभाग कृषिजन्य प्रयोजनका लागि प्रयोग भएको छ । ५१.३ प्रतिशत भूभाग वन तथा अन्य बुट्यानले ढाकेको क्षेत्र पर्दछ र ०.४ प्रतिशत भूभाग पानीले ढाकेको छ । १.३ प्रतिशत भूभाग हिउँले ढाकेको छ । यति धेरै भौगोलिक विविधतायुक्त कालीगण्डकीको क्षेत्र जलवायुजन्य रूपमा पनि विविधतायुक्त छ । टुन्ड्रा अल्पाइन हँुदै समशीतोष्ण तथा उष्ण प्रकृतिको हावापानी पाइन्छ । जलवायुको पक्षमा हेर्दा वार्षिक रूपमा २७५ मिलिलिटर देखि छ हजार २३८ मिलिलिटरसम्म वर्षा हुने गरेको तथ्याङ्क जल तथा मौसम विज्ञान विभागसँग छ । विभिन्न अनुसन्धानले जलवायु परिवर्तनका कारण यो क्षेत्रमा पानी पर्ने तथा जल बहावमा परिवर्तन हुँदै आएको देखाएको छ ।
परिवर्तित जलवायुको प्रभाव
जलवायु परिवर्तनका कारणले गर्दा यो क्षेत्र पनि प्रभावित बनेको छ । स्वाभाविक रूपमा यो क्षेत्र कमजोर भूबनोट भएकाले प्रभाव बढी पर्छ । यसैको सुरुवात विविध घटना बेहोर्नु परेको हो । इसिमोडद्वारा गरिएको एक अध्ययन अनुसार कालीगण्डकी नदीको बहावको मात्रा सन् २०३० सम्ममा हाल भइरहेको मात्राभन्दा २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । त्यही अध्ययनमा परिवर्तित पानीको बहावलाई आधार मानेर सन् २०९० सम्म यसको मात्रा ३५ प्रतिशत बढ्ने देखिएको छ । जलवायु परिवर्तनको अर्को असर तापव्रmममा वृद्धि हुनु हो । शताब्दीको उत्तरार्धमा २६ प्रतिशत जति बढ्ने देखिन्छ । वार्षिक रूपमा बेसिनको औसत तापमान ०.०४ डिग्री सेल्सियसले बढ्ने अनुमान गरिएको छ ।
यही अध्ययन अनुसार कालीगण्डकी बेसिनमा तापव्रmम वृद्धि तल्लो उचाइको बेसिनको तुलनामा माथिल्लो उचाइका बेसिनमा बढी हुने देखिएको छ । यो गम्भीर चिन्ताको विषय हुन सक्छ किनभने हिउँ र हिमताल माथिल्लो क्षेत्रमा हुन्छन् । कालीगण्डकी बेसिनको उच्च उचाइ क्षेत्रको प्रमुख विशेषतामा तीन हजार पाँच सय मिटरभन्दा माथिको उचाइमा तीन हजार २५२ हिमताल छन् । यी तालमा जलवायु परिवर्तनका कारणले पानीको सतह डरलाग्दो रूपमा बढिरहेका छन् ।
तापव्रmमको वृद्धिले हिमतालको विस्फोट र तल्लो तहमा ग्लोफ (हिमताल विस्फोट भएर आउने बाढी) जस्ता समस्या देखिन सक्छ । एक्कासि ठुलो मात्रामा बग्ने पानीको मात्राले तल्लो तटमा विनाश निम्त्याउने सम्भावना हुन्छ नै । नेपालको भोटेकोशीमा सन् १९८५ मा हिमताल विस्फोट भएर भएको दुर्घटनामा नाम्चे लघु जलविद्युत्लाई पूर्ण रूपमा ध्वस्त पारेको थियो । उक्त दुर्घटनामा जलविद्युत् प्लान्ट र पाँच जनाको ज्यान गएको थियो (इसिमोड २०११) । इसिमोडले सन् २००९ मा पहिचान गरेबमोजिम कालीगण्डकी बेसिन क्षेत्रमा (दुई हजार वर्ग किमीभन्दा बढी) एक हजारभन्दा बढी हिमनदी पहिचान भएका छन् । त्यसमध्ये ४८ हिमताल अलिक बढी जोखिमजन्य पहिचान गरिएको छ ।
निष्कर्ष
हाल सञ्चालनमा रहेका धेरैजसो जलविद्युत् आयोजनाहरू रन अफ रिभरमा आधारित छन् । यसबाट उत्पादन हुने बिजुलीको मात्रा दैनिक बहावमा धेरै निर्भर छ । भविष्यमा नदीमा बहाव बढ्ने अनुमान गरिएकाले जलविद्युत् प्लान्ट अर्को प्रविधितर्फ जानुपर्ने आवश्यकता देखिएको छ । पानीको मात्रामा सन्तुलन र जलवायु परिवर्तनको प्रभाव जलस्रोत योजना र व्यवस्थापनका लागि पनि महŒवपूर्ण हुन्छन् । पानीको मात्रामा वृद्धि जीवन पद्धतिमा सकारात्मक र नकारात्मक दुवै हुन सक्छ । आगामी अवधिमा जलवायु परिवर्तनको कारण जलस्रोत योजना र व्यवस्थापनमा प्रभाव पर्ने देखिन्छ । यो सत्यलाई कालीगण्डकी बेसिन क्षेत्रभित्र पनि भोग्नुपर्ने हुन्छ ।
पछिल्लो समय कालीगण्डकी नदी र यो जलाधार क्षेत्रभित्र जलविद्युत् उत्पादनका रूपमा एउटा हबका रूपमा विकास गर्न लागिएको छ । यसमा देशको एउटा ठुलो जलविद्युत् कालीगण्डकी ए १४४ मेगावाटको आयोजना सञ्चालित छ । त्यसबाहेक अन्य आयोजना निर्माण, सञ्चालन, अध्ययनका व्रmममा छन् ।
कालीगण्डकी नदीबाट जलवायु परिवर्तनको कारण ठुलो फाइदा लिन सकिन्छ । मनसुनमा पानीको मात्रा बढ्ने र त्यसले सम्भावित ऊर्जा उत्पादन बढाउने देखिन्छ । सँगसँगै सुक्खा मौसममा पनि उच्च मात्रामा विद्युत् निकाल्न सकिन्छ । सुक्खा मौसममा हाइड्रोपावर प्लान्टले सधैँ यसको डिजाइन गरिएको क्षमताभन्दा कम बिजुली उत्पादन गर्दछ । पानीको मात्रामा भएको उच्चतम वृद्धिलाई उपयोग गर्न सक्ने हो भने यसले विद्युत् उत्पादन बढाउन सकिन्छ । पानीको उपयोगलाई व्यवस्थित गर्न सक्ने हो भने यसको उपयोग धेरै क्षेत्रमा गर्न सकिन्छ ।
समग्रमा पानीको उपलब्धताको समस्या देखिँदैन । वर्षा, हिउँ पग्लने, पानीको उपजको कारणले पानीको मात्रा उच्च रहन्छ र अझै बढ्दै जाने देखिन्छ । अनुसन्धानले निष्कर्ष निकालेको छ कि कालीगण्डकी बेसिनको माथिल्लो र मध्य उपबेसिनको उच्च उचाइमा पानीको सन्तुलन घटकहरू सबैभन्दा बढी हुने छन् । जलवायु परिवर्तनको असरलाई ध्यान दिँदै कालीगण्डकी बेसिनमा खानेपानी आपूर्ति र मागको योजना बनाउन आवश्यक देखिन्छ । धेरै जलविद्युत् आयोजना सञ्चालनमा रहेका र त्यसले लाभ लिन पनि सक्छन् । कालीगण्डकी क्षेत्रमा पानीको उपलब्धता र त्यसको मात्रामा भएको वृद्धिले स्रोतलाई पहिचान गरी त्यसको उचित उपयोग गर्न सकेको खण्डमा जीवनस्तरका लागि लाभदायक हुन सक्छ ।
सामान्यतया, जलवायु परिवर्तनको प्रभाव लाभदायक पनि हुन सक्छ । हिमालबाट भरपर्दो पानी उपलब्ध भएसँगै यसको अधिकतम लाभ उठाउनु पर्छ । जलाधार क्षेत्र अझै मलिलो र हरियाली हुन सक्छ तर यसको नकारात्मक असर जस्तै बाढी र ग्लोफहरूलाई यत्तिकै बेवास्ता गरेमा व्यवस्थापन गर्न गाह्रो पनि बन्न सक्छ ।