समाजवाद भनेको जनताको अधिकतम हित र सेवामा समर्पित भएर समानताका लागि काम गर्ने शासन व्यवस्था हो । राजनीतिक दल तथा सरकार समाजवादको बुझाइमा स्पष्ट हुन जरुरी छ । संविधानको परिधिभित्र रहेर समाजको खुसी र समृद्धिका लागि गरिने असल कार्य नै समाजवादका आधार हुन् । समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न मुलुकको मौलिक विशेषताका आधारमा दिगो सामाजिक तथा आर्थिक रूपान्तरणका खाकासहित नीति तथा कार्यक्रम अगाडि ल्याउनु पर्ने हो तर राजनीतिक दल तथा सरकारले त्यस विषयमा गम्भीर चासो राखेको देखिँदैन ।
संवैधानिक रूपमा अगाडि सारिएको तीनखम्बे अर्थनीति तथा समाजवाद उन्मुख अर्थतन्त्रलाई दलहरूले आआफ्नो सैद्धान्तिक धरातल अनुसार फरक फरक रूपमा लिने गरेका छन् । वामपन्थी दलले समाजवादमा सार्वजनिक क्षेत्रलाई मुख्य खम्बा र निजी तथा सहकारीलाई सहायक खम्बाको रूपमा विकास गरी लैजाने आर्थिक रणनीति लिए पनि कार्यान्वयनमा त्यसरी अगाडि बढ्न सकिरहेको देखिँदैन । वामपन्थी दलहरूले समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट खाकासहितको नीति तथा कार्यक्रम ल्याएर कार्यान्वयनमा अगाडि बढ्नुपर्नेमा त्यस विषयमा बहस र छलफलसमेत नहुँदा जनतामा निराशा छाएको देखिन्छ । त्यस्तै प्रजातान्त्रिक समाजवादी दलहरूले निजी क्षेत्रलाई मुख्य खम्बाका रूपमा विकास गर्ने रणनीति लिए पनि नीतिगत स्थिरता कायम गर्दै लगानी आकर्षण गर्न कठिनाइ महसुस गरिरहेको देखिन्छ । साथै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न पनि ठोस कार्ययोजना अगाडि सारिरहेको देखिँदैन ।
नेपाली समाजको चरित्र पुँजीवादी भए पनि राज्यको चरित्र लोकतान्त्रिक गणतन्त्र र संवैधानिक रूपमा अर्थतन्त्रको चरित्र समाजवाद उन्मुख छ । त्यसैले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न राजनीतिक दल इमानदारी साथ काम गर्नु पर्छ, त्यसका लागि कुनै संवैधानिक अड्चन छैन । मुलुकले अवलम्बन गर्दै आएको तीनखम्बे अर्थनीतिमा समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न निजी क्षेत्रमा रहेको दलाल पुँजीलाई उत्पादनशील पुँजीमा परिणत गर्दै अघि बढ्नु पर्छ । समाजवाद उन्मुख अर्थतन्त्रमा राज्य सबैभन्दा बलियो बन्दै उत्पादनमूलक तथा सेवामूलक क्षेत्रमा वर्चस्व कायम गरेर बजार चलयमान बनाउन सक्नु पर्छ । सहकारीलाई समाजवादको आधार बनाएर साना–साना चार पाँच जनाले सञ्चालन गर्ने स्थानीय लघु सहकारीदेखि ठुलाठुला सहकारीको अवधारणासहित छरिएको पुँजीलाई एकीकृत गरी उत्पादनमा लगाउनु आवश्यक छ ।
समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न दिगो तथा आत्मनिर्भर अर्थतन्त्रको विकास अपरिहार्य छ । आत्मनिर्भर अर्थतन्त्र भनेको समाजवादको महत्वपूर्ण आधार हो, त्यसलाई लोककल्याणकारी अर्थ व्यवस्था पनि भनिन्छ । नेपालमा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न क्रमिक रूपमा उत्पादन बढाएर आयात विस्थापित गर्दै निर्यात प्रवर्धन गर्नु जरुरी छ । त्यसका लागि सर्वप्रथम खाद्यान्न उत्पादनमा जोड दिई खाद्यान्नमा पूर्ण आत्मनिर्भर हुँदै कृषिजन्य वस्तुको निर्यात गर्ने रणनीतिका साथ काम गर्नु पर्छ । आयात निर्यातमा सन्तुलन कायम गर्दै योजनाबद्ध रूपमा नाफामा जाने नीति तथा कार्यक्रम राज्यले अवलम्बन गर्नु पर्छ । आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न मुलुकका निम्ति आवश्यक औद्योगिक उत्पादनका लागि राज्यले औद्योगिक क्षेत्रको विकासमा विशेष जोड दिनु आवश्यक छ ।
समाजवाद उन्मुख अर्थतन्त्रको विकासमा राज्यले सबैभन्दा पहिले पछाडि परेको वर्ग, क्षेत्र, समुदाय, गरिब किसान र मजदुरलाई सामाजिक न्यायसहित आर्थिक रूपमा माथि उठाउने नीति तथा कार्यक्रम ल्याउनु पर्छ । भौगोलिक र क्षेत्रीय सन्तुलन कायम गरेर सामाजिक न्यायसहितको विकास र समृद्धिमा जोड दिँदै समाजवाद उन्मुख अर्थतन्त्रको विकास आजको खाँचो हो । समाजवाद उन्मुख अर्थतन्त्रको मुख्य आधार भौतिक पूर्वाधार विकास भएको हुँदा यातायात, कृषि, पर्यटन, उद्योग, ऊर्जा, सिँचाइ, खानेपानी तथा सरसफाइ, स्वास्थ्य, शिक्षा, सूचना र प्रविधिलगायतका क्षेत्रमा ठुलो लगानी राज्यले गर्दै निजी र सहकारीसँग निरन्तर सहकार्य तथा साझेदारीको रूपमा काम गर्न सक्नु पर्छ । समावेशी आर्थिक वृद्धि र सामाजिक रूपमा न्यायोचित वितरणमा केन्द्रित भएर समृद्धिको अवधारणा ल्याई सहभागितामूलक अर्थतन्त्रको विकासमा जोड दिनु पर्छ ।
विशेषतः राज्यले राष्ट्रिय पुँजीको विकासका लागि राज्य नियन्त्रित उद्योगहरूको विकासमा तीनै तहका सरकारले लगानी बढाउने, उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने नीति आजको आवश्यकता हो । समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न बहुराष्ट्रिय कम्पनीको एकाधिकार पुँजीवादलाई कमजोर बनाउँदै राष्ट्रिय पुँजीको जगेर्ना गरी राष्ट्रिय औद्योगिकीकरणको विकासमा जोड दिनु पर्छ । पुँजी विना समाजवादी क्रान्ति अगाडि बढाउन कठिन हुने भएकाले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न राष्ट्रिय पुँजीको विकास गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणमा जोड दिनुपर्ने छ । निजी क्षेत्र तथा वैदेशिक लगानीका लागि राज्यले अनुकूल वातावरण बनाएर प्रोत्साहन गर्दै राजनीतिक स्थिरता र नीतिगत स्थिरता कायम गर्ने रणनीतिमा जोड दिनु आवश्यक छ ।
उत्पादनका साधनको समुचित प्रयोग, व्यवस्थापन र वितरण प्रणालीको स्पष्ट खाका र दिगो रणनीतिसहित सबै तहका सरकारले आर्थिक नीति तर्जुमा गर्दै कार्यान्वयन गरेर समाजवाद उन्मुख अर्थतन्त्रको विकास मुलुकले चाहेको छ । आर्थिक स्थायित्वसहितको आर्थिक विकास गर्ने रणनीति बनाई उपलब्ध स्रोत तथा साधन परिचालनको आधार निर्माण गर्नु पर्छ । समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न आवश्यक दक्ष जनशक्ति तयार गरेर विदेशी जनशक्तिलाई प्रतिस्थापन गर्नुका साथै स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारीमाथिको परनिर्भरता अन्त्य गर्नु जरुरी छ । राज्यले तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमताका वस्तु तथा सेवाको उत्पादनमा जोड दिई आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिनु पर्छ ।
नेपालको सन्दर्भमा आर्थिक वृद्धिका संवाहक क्षेत्रको रूपमा रहेको कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै उच्च तथा दिगो आर्थिक वृद्धिदर हासिल गर्ने रणनीति बनाई कार्यान्वयनमा जानु पर्छ । त्यस्तै पर्यटन, जलविद्युत्, औद्योगिकीकरण र पूर्वाधारमा लगानी केन्द्रित गरी दिगो आर्थिक वृद्धिदर हासिल गर्ने प्रमुख आधारलाई बलियो बनाउनु पर्छ । आत्मनिर्भर अर्थतन्त्रको विकास गरी पर्याप्त सामाजिक पूर्वाधार र उपभोग्य सामग्रीको उत्पादन गर्नुका साथै उत्पादनका नयाँ प्रविधिको विकासका लागि अध्ययन अनुसन्धानमा पनि विशेष जोड दिनु पर्छ । तीनै तहका सरकारले एकीकृत आन्तरिक बजार व्यवस्थापन गरी उत्पादनलाई आन्तरिक तथा बाह्य बजारमा सहज रूपमा पु¥याउने रणनीति आजको खाँचो हो ।
राज्यले आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा अघि बढाउँदै वैदेशिक लगानी भित्र्याएर विदेश पलायन हुन बाध्य भएका युवालाई देशभित्रै रोजगारीका अवसर उपलब्ध गराउनु पर्छ । लगानीमैत्री वातावरण बनाई वैदेशिक लगानी तथा गैरआवासीय नेपालीलाई आकर्षण गर्ने नीति लिई मुलुकलाई औद्योगिकीरणको दिशामा अगाडि बढाउने साझा कार्यक्रम ल्याई कार्यान्वयन गर्न सक्नु पर्छ । आन्तरिक रूपमा रोजगारीका अवसर उपलब्ध गराउन तथा मुलुकलाई औद्योगिकीरणमा अगाडि बढाउन सार्वजनिक, सहकारी र निजी क्षेत्र सबैले प्रतिस्पर्धात्मक रूपमा काम गर्नु पर्छ । आमजनतालाई स्थानीय स्रोतसाधनमा आधारित भएर आयआर्जनका कार्यक्रम र सिप विकास गरी स्वावलम्बन बनाउने दिशामा अघि बढ्नु आजको प्राथमिकता हो ।
समाजवाद उन्मुख अर्थतन्त्रको विकासमा मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षलाई ध्यानमा राखेर आर्थिक योजनामार्पmत पिछाडिएको क्षेत्र र निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउने रणनीति बनाई राज्यको क्षमता अनुसार वितरण प्रणालीलाई व्यवस्थित गरिनु पर्छ । साथै आर्थिक नीतिले खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको प्रत्याभूति गर्न सक्ने भरपर्दो व्यवस्थापन राज्यले मिलाउनु पर्छ । नेपालमा समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न पर्यटनमा विशेष जोड दिई कुल गार्हस्थ उत्पादनमा दोहोरो अङ्कको उच्च प्रतिफल दिन सक्ने क्षेत्रको रूपमा विकास गर्ने रणनीति बनाएर काम गर्नु पर्छ । नेपालको सन्दर्भमा कुल गार्हस्थ उत्पादनमा कृषिपछि पर्यटनको भूमिका उच्च बनाउन सकियो भने समाजवाद उन्मुख अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ ।
नेपालमा उत्पादन सम्बन्ध बदलिएर पुँजीवादी उत्पादन प्रणाली विकसित भए पनि समग्रमा देशको आर्थिक अवस्था भने पिछडिएको अवस्थामा रहेको छ । अब समाजवाद उन्मुख उत्पादन प्रणाली विकास गर्न राज्य नियन्त्रित उद्योग, सेवा प्रवाह गर्ने कम्पनीको विकास र प्रवर्धनमा सबै तहका सरकार सक्रिय भएर निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्नु पर्छ । मुलुकका लागि आवश्यक पर्ने वस्तु तथा सेवाको उत्पादन र उत्पादनका साधनलाई राज्यको अधीनमा क्रमिक रूपमा बढाउँदै लैजाने रणनीति लिई समाजवाद उन्मुख अर्थतन्त्रको विकासमा जोड दिनु पर्छ ।
नेपालले अहिले पुँजीवादी चरित्रको अर्थ व्यवस्थालाई अँगालेको छ, आर्थिक चरित्रलाई ध्यानमा राखेर राष्ट्रिय पुँजीको विकास गर्दै असमानताको खाडल समाजवाद उन्मुख अर्थतन्त्रमार्फत कम गर्दै जाने आर्थिक रणनीति कार्यान्वयनमा ल्याउनु पर्र्छ । समाजवादी अर्थतन्त्रमा मितव्ययिताको सिद्धान्तलाई आधारशिलाको रूपमा लिई राज्य तथा पार्टीले अनावश्यक खर्च कटौती गरी सफल मुलुक निर्माण गर्ने रणनीति अवलम्बन गर्नु पर्छ । राजनीतिक दलहरूले आधारभूत श्रमजीवी वर्गको उत्थान गर्न लोककल्याणकारी कार्यक्रम अवलम्बन गर्दै जनजीविकाको स्तरोन्नति गर्न सिद्धान्त र व्यवहारमा एकरूपता ल्याई जनआकाङ्क्षा पूरा गर्न मेहनतका साथ काम गर्न सकियो भने समाजवाद उन्मुख राज्य व्यवस्था स्थापनामा सघाउ पुग्ने छ ।