• ९ मंसिर २०८१, आइतबार

पुटिनलाई सहज बन्दै चुनाव

blog

युक्रेनसँगको जारी युद्धले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय जगत्मा नराम्रो छवि बने पनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको मुलुकभित्र भने शक्ति झन् बढेको छ । यही मार्चमा त्यहाँ राष्ट्रपतिका लागि चुनाव हुन लाग्दा उहाँलाई टक्कर दिने विपक्षी कोही देखिएको छैन । उहाँलाई टक्कर दिने विपक्षी नेता एलेक्सी नाभाल्नीको ४७ वर्षको उमेरमा हालै जेलमा निधन भएकाले चुनाव उहाँकै पक्षमा जाने लगभग निश्चित नै छ । 

यो चुनावको सफलताले राष्ट्रपति पुटिन सन् २०३० सम्म सत्तामा रहने मात्र होइन, उहाँको लोकप्रियता मापन पनि हुने छ । हालै गरिएको सर्वेक्षण अनुसार ७८.५ प्रतिशत रुसी मतदाताले पुटिनलाई नै मत दिने जनाएका छन् । पछिल्लो पटक २०१८ मा निर्वाचित भएका पुटिनले २०२१ मा थप दुई कार्यकाल राष्ट्रपति बन्न बाटो खुला गर्ने गरी संविधानमा संशोधन गरी आफू सत्तामा रहिरहन मार्गप्रशस्त गर्नुभएको थियो । 

यस पटकको चुनावलाई युक्रेनमाथि आक्रमण गर्ने पुटिनको निर्णयप्रतिको जनमत सङ्ग्रहका रूपमा पनि हेरिएको छ । यो चुनावमा रुसले कब्जा गरेका युक्रेनी भूभाग दोनेत्स्क, लुहान्स्क, जापोरिजा र खेर्सनका बासिन्दाले समेत रुसी राष्ट्रपतिका लागि मतदान गर्ने छन् । अमेरिकालगायतका पश्चिमा मुलुकका लागि भने पुटिनको विजय टाउको दुखाइको विषय हुने निश्चित छ । खास गरी उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) मा आबद्ध देशका लागि पुटिन थप आक्रामक र निर्दयी हुने विश्लेषकहरू बताउँछन् ।

युक्रेनसँगको युद्धसँगै रुसी अर्थतन्त्र समस्याग्रस्त हुने र त्यसको प्रत्यक्ष असर राष्ट्रपति पुटिनमाथि पर्ने अमेरिकालगायतका पश्चिमा देशहरूको अनुमान सत्य साबित भएन । युद्धको असर सोचे जस्तो नदेखिएपछि उनीहरूले युद्ध अन्त्यको बाटो खोजेको देखिएको छ । युक्रेनसँगको युद्ध अझै लम्बिँदै गयो भने रुस चीनसँग अझै निकट हुन सक्ने अमेरिकालाई चिन्ता थपिएको छ । त्यसैले युरोपका कतिपय देश रुस–युक्रेन युद्ध छिट्टै अन्त्य गर्ने पक्षमा देखिएका छन् ।

युक्रेनमा पनि यही मार्च ३१ मा राष्ट्रपतीय चुनाव हुनुपर्ने संवैधानिक व्यवस्था छ । सन् २०२२ को फेबु्रअरी २४ मा रुसले आक्रमण सुरु गरेसँगै युक्रेनमा सैनिक कानुन लागु गरिएको छ । यो कानुनको अन्त्य नभएको खण्डमा भने त्यहाँ राष्ट्रपतीय चुनाव सारिने वा नयाँ मिति घोषणा हुने छ । रुससँग युद्धमा होमिएका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीका लागि यो चुनाव सहज छैन । जेलेन्स्कीका कारण युद्धमा १८ प्रतिशत भूभाग गुमाएको र युद्ध जित्ने सम्भावना नदेखिएको युक्रेनी मतदाताले उहाँलाई विश्वास गर्ने सम्भावना कम हुँदै गएको छ । त्यहाँ युक्रेनलाई निकास दिन सक्ने नेतृत्वको खोजी भएको छ ।

रुससँगको युद्धमा युक्रेनलाई साथ दिइरहेका अमेरिका, बेलायत, नेटो र युरोपेली सङ्घको ध्यान अहिले इजरायल–हमास युद्धमा केन्द्रित भएको छ । अहिलेको अवस्थामा युक्रेनलाई पश्चिमा सहयोग कम हुँदै जानु रुसका लागि थप आक्रामक बन्न सहज हुनु हो । युद्धमा रुसी सेनातर्फ ठुलो क्षति भए पनि जनस्तरमा क्षति कम भएकाले रुसभित्र पुटिनको लोकप्रियता घटेको छैन । युक्रेनतर्फ भने सेना साथै गैरसैनिक नागरिकसमेत धेरै मारिएका र राजधानी किभलगायतका सहरमा व्यापक भौतिक क्षति भएको, धेरै नागरिक विस्थापित भएकाले जेलेन्स्कीप्रति जनता विश्वस्त हुन सकेका छैनन् । 

पश्चिमा सहयोगको भरमा युद्ध जित्न सक्ने आधार नदेखिएकाले युक्रेनले रुससँग घुँडा टेक्नुपर्ने अवस्था आउँदै छ । त्यसैले अब युद्ध जति लम्बिँदै जान्छ, बढी क्षति युक्रेनले नै बेहोर्नुपर्ने भएकाले पनि वार्ताद्वारा युद्ध अन्त्य गर्नेतिर लाग्नु युक्रेनका लागि हितकर हुने देखिन्छ । शक्तिशाली रुससँग युखेन लामो समयसम्म युद्ध गर्ने अवस्थामा थिएन । पश्चिमा मुलुकहरूले हतियार र आर्थिक सहयोग दिइरहेकाले अहिलेसम्म युद्ध लम्बिएको हो । पछिल्लो समय पश्चिमा मुलुकको ध्यान मध्यपूर्वमा केन्द्रित भएकाले रुस–युक्रेन युद्ध ओझेलमा परेको छ । पश्चिमा मुलुकलाई मध्यपूर्वमा अल्झाएर यही मौकामा रुसले युक्रेनमाथिको सैन्य कारबाहीलाई झन् तीव्रता दिएको छ । 

युक्रेनले युरोपेली सङ्घ (इयु) र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्यता लिने तयारी गरेपछि रुष्ट भएको रुसले आफ्नो सुरक्षा खतरामा पर्ने भएकाले दुवै सदस्यताबाट रोक्न युक्रेनमाथि आक्रमण गरेको हो । सुरुमा यो कारबाही धेरै दिन नचल्ने र छिट्टै टुङ्गिने अपेक्षा गरिएको थियो । पश्चिमा मुलुकको आर्थिक तथा हतियार सहयोगले युक्रेन अहिलेसम्म युद्धमा टिक्न सकेको हो । पश्चिमा मुलुकको सहयोग घट्ने क्रममा रहेकाले अब युक्रेनलाई युद्धमा टिकिरहन सहज छैन । यो स्थितिमा युद्ध लम्बिनु भनेको युक्रेनलाई पूर्ण रूपले तहसनहस बनाउनु मात्र होइन, रुसमा विलय गराउन सक्ने आधार बन्न सक्छ । त्यस्तो अवस्था आयो भने रुसको चीन, उत्तर कोरिया र इरानसँगको निकटता अरू बढ्ने र नेटोको पूर्वी युरोप विस्तार योजनालाई ठुलो चुनौती खडा हुने छ । 

विश्वकै ठुलो राष्ट्र रुससँग धेरै हतियार र ठुलो सङ्ख्यामा सेना रहेकाले सानो राष्ट्र युक्रेन एक्लैले लामो समयसम्म युद्ध गर्नु भनेको मुलुकलाई पूर्ण रूपले ध्वस्त बनाउनु मात्र हुने छ । विदेशीको आर्थिक र हतियार सहयोगमा युद्ध जारी राख्नु कुनै हिसाबले पनि युक्रेनलाई फाइदा भएन । छिमेकी रुससँग वार्ता गरी दुवैलाई मान्य हुने निकास छिटो खोज्नु नै अहिलेको आवश्यकता हो । अहिलेको अवस्था के छ भने पर्याप्त हतियार र सेना रहेको रुस लामो समयसम्म युक्रेनसँग युद्ध गर्न सक्छ । बाह्य हतियार र आर्थिक सहयोगबिना युक्रेनले रुससँग प्रतिवाद गरिरहन गाह्रो छ । युद्ध लम्बिँदै जाँदा पश्चिमा मुलुकको हतियार त बिक्री हुन्छ तर यसले समस्याको निकास भने दिँदैन बरु यसले थप अविश्वास पैदा गराउँछ । 

सोभियत सङ्घको विघटनभन्दा चार महिनाअघि स्वतन्त्र भएको युक्रेन रुससँग टाढिएर युरोपतिर ढल्किन खोज्दा यो दुर्गति भएको हो । चलचित्र अभिनेताबाट राजनीतिमा आउनुभएका राष्ट्रपति जेलेन्स्की नेटो र इयुतिर आकर्षित हुनु नै अहिले समस्याको मूल कारण हो । यो उहाँको राजनीतिक र कूटनीतिक कच्चापनले युक्रेन इतिहासकै सबैभन्दा अप्ठेरो अवस्थामा आइपुगेको छ । दुई असल छिमेकी भएर बस्ने वातावरण नबनाएकै कारण यो सङ्कट आएको हो । जेलेन्स्कीको कमजोरीले नै पुटिन युद्धद्वारा निकास खोज्ने अवस्थामा पुग्नुभयो । भूराजनीतिक धरातल बिर्सिंदा युक्रेनवासीले युद्धको पीडा भोग्नु प¥यो । 

वास्तविकता त के हो भने सोभियत सङ्घको विघटनपछि लगभग टाट पल्टिन लागेको रुस पुटिन नेतृत्वले पुनः शक्तिशाली बन्यो । यसैले रुसमा उहाँको प्रभाव राम्रो छ । रुसलाई पुनः शक्तिशाली बनाउन पुटिनको योगदान महत्वपूर्ण रहेको सन्दर्भमा उहाँले युद्धको होइन, शान्तिको बाटो समाएर युक्रेनसँगको विवाद शान्तिपूर्ण समाधान गर्नुपथ्र्यो । युक्रेनलाई मनाउन नसक्नु पुटिनको पनि कमजोरी हो तैपनि युद्धमा होमिएको अहिलेको अवस्थामा युद्धबाटै छिनोफानो गर्ने उहाँको सोचलाई जेलेन्स्कीकै कच्चापनले थप मलजल गरेको छ । 

अहिले अन्तर्राष्ट्रिय आवाज र दबाब कमजोर भयो भने पुटिनको महत्वाकाङ्क्षाले पूरै युक्रेनलाई रुसमा विलय गराउने खतरा एकातिर छ भने अर्कोतिर तत्कालीन अन्य रुसी गणराज्य पनि रुसको प्रभावमा पर्ने छन् । रुसमा सर्वेसर्वा नेता पुटिनलाई चुनौती दिने कुनै ताकत नभएकाले उहाँको महत्वाकाङ्क्षा अरू बढ्ने सम्भावना छ । पुनः सोभियत सङ्घ ब्युँताउने जस्तो महìवाकाङ्क्षा उहाँमा पलाएको छ । सन् २००० देखि लगातार सत्तामा रहनुभएका पुटिनकै कारण शक्तिशाली बनेको रुसले अब युक्रेनसँगको युद्ध जिते मात्र उहाँको सत्ता थप बलियो हुन्छ भन्ने भाष्य बनेको छ । 

रुस आफ्नो सीमा सुरक्षा र प्रभाव क्षेत्रप्रति संवेदनशील छ । युक्रेनले आफ्ना रुस समर्थित राष्ट्रपतिलाई सन् २०१४ मा अपदस्थ गरेलगत्तै युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वीपलाई रुसले गाभेको थियो । रुस आफ्नो सीमा र प्रभाव क्षेत्र कमजोर बनाउने पक्षमा छैन । रुसलाई कमजोर बनाउन नेटोको इस्टोनिया, लाटभिया, लिथुवानिया र पोल्यान्डमा चार बहुराष्ट्रिय बटालियन छन् भने रोमानियामा बहुराष्ट्रिय ब्रिगेड छन् । रुसले नेटोका सदस्य राष्ट्रको सीमा उल्लङ्घन गरे त्यसमा अवरोध गर्न उसले बाल्टिक राज्य र पूर्वी युरोपमा हवाई नीति पनि विस्तार गरेको छ । रुसले नेटो फौज त्यहाँबाट हटाउन चाहेको छ । यसमा ठुलो भूराजनीतिक खेल छ । 

नेटोको पूर्वी सीमा बलियो बनाउन अमेरिकाले पोल्यान्ड र रोमानियामा हजारौँ थप फौज पठाएको छ र थप सेनालाई तयार अवस्थामा राखिएको छ । उसले त्यहाँ ठुलो सङ्ख्यामा हतियार पनि पठाएको छ । थप लडाकु विमान दक्षिणी युरोपमा पठाएको छ र नौसैनिक जहाज पनि पूर्वी भूमध्यसागरमा नेटोका युद्धपोतसँगै गस्तीमा पठाएको छ । त्यसै गरी डेनमार्क, स्पेन, फ्रान्स र नेदरल्यान्ड‌ले लडाकु विमान र युद्धपोत पूर्वी युरोप र पूर्वी भूमध्यसागरमा पठाएका छन् । रुसलाई घेराबन्दी गर्ने पश्चिमा मुलुकको यस्तो तयारीलाई चुनौती दिन पनि युक्रेनलाई आफ्नो प्रभावबाट बाहिर जान नदिन सैन्य कारबाहीको विकल्प नदेख्नुभएका पुटिनको यो कदमले उत्तरी युरोपमा लामो समयदेखि महसुस गरिएको स्थायित्व अन्त्य भएको छ । रुससँगको डरले पछिल्लो पटक फिनल्यान्ड नेटोमा आबद्ध भएको हो । 

   

Author

रामप्रसाद आचार्य