उच्च स्तरको नैतिकता भएको व्यक्तिले कठिन परिस्थितिमा पनि नैतिक सिद्धान्तमा अडिग रही काम गर्ने सम्भावना हुन्छ भने नैतिकताको तल्लो तहमा रहेको व्यक्तिले अनैतिक काम गर्ने सम्भावना हुन सक्छ । विभिन्न संस्कृति र समाजमा नैतिकता सापेक्षिक हुन सक्छ । परिणामवाद जस्ता केही नैतिक सिद्धान्तले निश्चित कार्य, सन्दर्भ वा संस्कृतिका कारण नैतिक रूपमा सही वा गलत हुन्छन् भन्ने दाबी गर्छ । त्यसैले, नैतिकता सापेक्षिक शब्द हो कि होइन भन्ने पनि बहसको विषय बनेको छ ।
सामान्यतया, नैतिकताको तहले व्यक्ति वा संस्थाको प्रतिष्ठा, सम्बन्ध र सफलतामा महत्वपूर्ण प्रभाव पार्न सक्छ । यो व्यक्तिगत र व्यावसायिक जीवनमा विचार गर्नुपर्ने महत्वपूर्ण विषय हो । सामाजिक रूपमा निर्धारित सही वा गलतभन्दा पनि अनैतिक मार्ग अनन्त सुखको यात्रा हुनै सक्दैन ।
मानिस सधैँ नैतिक हुन सक्दैन । कहीँ न कहीँ त ऊ चुकेकै हुन्छ तर कम्तीमा हामी यसलाई स्वीकार गरेर अगाडि बढ्न सक्छौँ । सधैँ आफूलाई चोखो छु भनेर साबित गर्नुपर्ने जरुरत नै किन प¥यो ? आफ्नो ख्याति, पद, शक्ति र पैसाको प्रयोग गरेर अनैतिक कार्यबाट बच्न खोज्नेहरू पनि नदेखिएका होइनन् ।
हामीकहाँ दैनिक जीवनयापनका गतिविधि जस्तै उपयोगिताको बिल तिर्नु, सडकमा सवारी चलाउनु, अस्पताल जानु जस्ता सरल कुरा पनि उच्च नैतिकताका आधारमा गर्दा चुनौतीपूर्ण हुन सक्छन् । अर्थात् विदेशको जस्तै गर्न खोज्दा झमेलाहरू बेहोर्नु पर्ने हुन सक्छ । यसको कारक अव्यवस्थित प्रणाली नै हो । सांस्कृतिक, सामाजिक र वातावरणीय सन्दर्भमा ध्यान दिएर सचेत र जिम्मेवारीपूर्वक काम गर्न र जिउन यहाँ कठिन हुने गरेको हो । यस्ता अभ्यासहरूका बारेमा कुरा गरौँ, जसले आमजनतालाई असर गरेको छ ।
नेपालमा यति धेरै राजनीतिक चेतना देखिन्छ कि घरघरमा विश्वकै राजनीति थाहा भए जसरी कुरा हुन्छ । लगभग सबैले सजिलैसँग आफूले भोट दिएर जिताएका नेतालाई गाली गर्छन् । ती राजनीतिज्ञहरू वास्तवमा आफ्नै प्रतिविम्ब हुन् भन्ने कुराको हेक्का भने छैन । कुरा गर्दै जाँदा केही न केही दोष गाली गर्नेको पनि देखिन्छ । कसैले प्राध्यापक भएर आफ्नो छोराछोरीका लागि भारतबाट प्रमाणपत्र ल्याएका छन्, अनि फेरि अनुत्तीर्ण भएको आफन्तका छोराछोरीलाई पास गराउन अङ्क थप्ने काम गरेका छन् । कसैले पैसा ख्वाएर हुन्छ कि भनसुन गरेर आफ्नो काम गराएका छन् । ‘जस्तो देश त्यस्तै भेष त गर्नै प¥यो नि’ भनेर फेरि आफैँ ठुलो स्वर गरेको पनि सुनिन्छ ।
बागमती, विष्णुमती र अन्य धेरै नदीको प्रदूषणले पानीको गुणस्तर र यस क्षेत्रमा बसोबास गर्ने मानिसको स्वास्थ्यका साथै जलीय जीवन र नदीको सांस्कृतिक र धार्मिक महत्वमा महत्वपूर्ण नकारात्मक प्रभाव पारेको छ । ती नदीहरूले वर्षौंदेखि तिनीहरूको वरपरका क्षेत्रलाई स्वच्छ पानीको स्रोत उपलब्ध गराउँदै आएका थिए । यद्यपि, प्रभावित मानिस पानी प्रदूषित गर्ने क्रसर/ढलको अव्यवस्थित प्रयोगबारे आवाज उठाउन असमर्थ छन् । नेपालको बागमती नदी सफा अभियानमा थुप्रै धनराशि खर्च हुँदा पनि खासै कुनै महत्वपूर्ण काम भएको देखिँदैन ।
राजनीतिक रूपमा समर्थित अनैतिक काम गर्नेहरू नेपालमा एउटा ठुलो चिन्ताको विषय हो । यी यस्ता व्यक्ति वा समूहहरू हुन्, जसले राजनीतिज्ञहरू र राजनीतिक दलहरूसँग सम्पर्क राख्छन् र यो सम्बन्धलाई जवाफदेहिताबिना आफ्नो स्वार्थका लागि प्रयोग गर्छन् । यस्ता कामले विधिको शासन र लोकतान्त्रिक संस्थाहरूको विश्वसनीयतालाई कमजोर पारेर समाजमा महत्वपूर्ण नकारात्मक प्रभाव पार्न सक्छन् । तिनीहरूले स्वतन्त्र अभिव्यक्ति र राजनीतिक सहभागिता साथै आर्थिक विकासमा पनि प्रभाव पार्न सक्छन् ।
कतिपय सरकारी कार्यालयमा सजिलै काम गर्न र गराउन कठिन छ । जब कार्यालय परिसरमा प्रवेश गरिन्छ, भर पर्नका लागि कुनै सोधपुछ गर्ने ठाउँ हुँदैन । फेरि विभिन्न तहका कर्मचारीबाट हस्ताक्षर गराउनका लागि आफ्ना कागजातहरू बोकेर ढोकाढोका वा झ्यालझ्यालमा घुम्नुपर्ने स्थिति छ । त्यो कार्यका लागि एक जना कर्मचारीको नियुक्त गर्न सके प्रभावकारी रूपमा काम हुने देखिन्छ ।
सरकारी कार्यका लागि निवेदन लेख्न सर्वसाधारणलाई पनि लगभग असम्भव छ । उच्च शिक्षित/साक्षरहरूका लागि पनि कठिन पर्छ । त्यसैले, कार्यालय क्लर्क (लेखनदास) ती कामहरूका लागि धेरै महत्वपूर्ण हुन सक्छ । यद्यपि, दर्ता भएका लेखनदासको पहिचान गर्न गाह्रो छ र त्यसमाथि पनि तिनीहरूको पारिश्रमिकको कुनै आधिकारिक दरहरू छैनन् ।
अन्य ठाउँ जस्तै अस्पतालमा पङ्क्ति मिच्नु नेपालमा धेरै सामान्य छ । यदि तपाईं यसलाई नैतिकतापूर्वक त्यहाँको प्रणाली अनुरूप विशेष गरी वृद्ध बिरामीहरू र गम्भीर अवस्था भएकाहरूलाई प्राथमिकता दिएर गर्न चाहनुहुन्छ भने सामान्य जाँचका लागि पनि पूरा दिन लाग्न सक्छ । फेरि आफ्नो पालो कुरी पङ्क्तिमा बस्दा विदेशी हुन खोजेको भनी टिप्पणी सुन्ने मात्रै होइन हास्यास्पद पात्र होइन्छ । आमजनताको आपत्कालीन अवस्था छ भने कष्ट भोग्नुबाहेक कुनै विकल्प हुँदैन । आपत्कालीन ओछ्यान प्रबन्ध गर्नका लागि पनि भनसुन चाहिन्छ ।
सडकमा हिँड्दा पैदलयात्रीले जेब्रा क्रसिङ प्रयोग गरेर राम्ररी बाटो काट्दा पनि कुर्न नसकिने अवस्था छ । व्यस्त क्रसिङहरूमा पैदलयात्रीको पङ्क्ति लगभग कहिल्यै समाप्त हुँदैन । यदि नैतिकताको पालना गर्दै पर्खिरहने हो भने दैनिक गतिविधिहरू सम्पन्न हुन लगभग असम्भव छ । ट्राफिक लाइटहरूले यो समस्या समाधान गर्न मद्दत गर्न सक्छ तर भएका ट्राफिक लाइट प्रायः मर्मतको कमीको कारणले काम गर्दैनन् । मर्मतको कमी देशका सबैजसो क्षेत्रको व्यापक समस्या हो । चीनको सहयोगमा स्थापित ट्रली बस जस्तो सेवा डुब्नु यसको ज्वलन्त उदाहरण हो ।
नेपाल सरकारको अनिवार्य सेवा कार्यक्रम अन्तर्गत दुई वर्षका लागि नयाँ चिकित्सा स्नातकलाई दुर्गम क्षेत्रमा पठाउने नीति छ । ग्रामीण र सहरी क्षेत्रबिच स्वास्थ्यकर्मीको वितरणमा क्षेत्रीय भिन्नतालाई सम्बोधन गर्ने यसको उद्देश्य छ तर यसको कार्यान्वयन पनि प्रभावकारी हुन सकेको छैन । यस्तै नियामक निकायको मिलेमतोमा मापदण्ड पूरा नगरी अस्पताल, क्लिनिक, चिकित्सा प्रयोगशाला र औषधी पसल खोल्ने गरिएका घटना पनि सार्वजनिक भएको पाइन्छ । यीबाहेक भारतबाट नक्कली शैक्षिक/व्यावसायिक प्रमाणपत्र ल्याउने, उत्तीर्ण हुन परीक्षकलाई प्रभाव पार्ने, कर छली गर्नेलगायतका अनैतिक अभ्यासहरू पनि भइरहेका सुन्नमा पाइन्छ ।
यी मुद्दाहरूलाई सम्बोधन गर्न सरकार, नागरिक समाज, निजी क्षेत्र र व्यक्तिहरू समावेश भएको व्यापक र बहुपक्षीय दृष्टिकोण आवश्यक छ । यसमा प्रभावकारी नीति र कानुनी ढाँचा, भ्रष्टाचारविरुद्ध लड्ने संस्था र संयन्त्र तथा शिक्षा र चेतना अभिवृद्धि कार्यक्रम समावेश हुनु पर्छ । यसले बलियो लोकतान्त्रिक संस्था र कानुनको शासनको निर्माणमा मद्दत गर्छ ।