• ९ मंसिर २०८१, आइतबार

जडीबुटीको व्यवसायीकरण

blog

जङ्गल, जडीबुटी, जल, जमिन तथा जनशक्तिको सामथ्र्य हामीले बुझ्न सकिरहेका छैनौँ । यीमध्ये देशमा उपलब्ध जडीबुटीबाट भरपुर लाभ लिन नसक्दा यो क्षेत्र पनि ओझेलमा परिरहेको छ । नेपालको आर्थिक विकासका लागि विभिन्न सम्भावनामध्ये जडीबुटी प्रमुख र कार्यान्वयनयोग्य सम्भावना हो । न्यून आय भएका मानिसदेखि सम्भ्रान्त वर्गका मानिससम्म जडीबुटीको चर्चा हुने गरेको पाइन्छ तर जडीबुटी तथा सुगन्धित वनस्पतिको व्यवसायीकरण गरेर आर्र्थिक स्थिति उकास्न भने सकिरहेका छैनौँ । 

वनस्पति विभाग र यस अन्तर्गतका निकायमार्फत जडीबुटी तथा सुगन्धित वनस्पतिको अध्ययन, अनुसन्धान तथा खेती प्रविधिको विकासलगायतका कार्य हुन सकेको छैन । हालसम्म ८१९ वटा औषधीय वनस्पति पहिचान गरिएको छ, जसमध्ये करिब एक सयभन्दा बढी औषधीय वनस्पतिको व्यापार हुने गरेको छ । वनस्पति विभागले ३३ वटा जडीबुटी नेपालको आर्थिक विकासका लागि प्राथमिकतामा राखेको छ । केही जडीबुटीको खेती तथा सङ्कलन अभ्यास मापदण्ड तयार भएको छ । टिम्मुर र मेन्थाको जडीबुटी बिमा हुने गरेको छ । जडीबुटीमा पनि बिमाको अवसर हुनु जडीबुटी खेतीमा संलग्न हुनेका लागि खुसीको कुरा हो 

जडीबुटीको बजार अन्य कृषि तथा खाद्य बालीको बजारभन्दा बिल्कुलै भिन्न छ । त्यसैले यसको दिगो भण्डारण तथा प्रशोधनको व्यवस्था हुनु आवश्यक छ । जबसम्म जडीबुटीलाई विभिन्न खालका उत्पादनसँग जोड्न सक्दैनौँ तबसम्म जडीबुटीबाट प्राप्त हुने लाभ लिन सक्दैनौँ । जडीबुटी उपयोगका परम्परागत ज्ञानको सही परीक्षण तथा विश्लेषण गर्दै त्यसको बहुउत्पादनमा ध्यान दिनु आवश्यक छ । जडीबुटी कृषि बाली नहुने खालका भिरालो पाखापखेरा, खोल्साखाल्सी तथा त्यसै खेर जाने जमिनमा पनि गर्न सकिन्छ । यसले गर्दा जमिनको सदुपयोगमा पनि जडीबुटीले विशेष अर्थ राख्छ । नेपालबाट निकासी हुने कुल जडीबुटीको ९० प्रतिशत हिस्सा वनजङ्गलबाट सङ्कलित हुने गर्छ । बाँकी १० प्रतिशत मात्र खेतीबाट उत्पादन हुन्छ । साथै निकासी हुने जडीबुटीमध्ये ९० प्रतिशत जडीबुटी कच्चा रूपमा निकासी भइरहेका छन् भने १० प्रतिशत जडीबुटी मात्र प्रशोधित भई निकासी हुने गरेको छ । 

नेपालका जडीबुटीको मुख्य बजार भारत नै हो । प्रशोधित जडीबुटी युरोपेली मुलुकलगायत पश्चिमा देशमा निकासी हुने गरेको छ । यसरी जति जडीबुटी निकासी हुने गरेको छ, ती सबै जडीबुटीलाई प्रशोधन गरेर मात्र निकासी गर्ने प्रबन्ध मिलाउन सक्यौँ हो भने दस गुणासम्म बढी लाभ लिन सकिने सम्भावना छ तर विडम्बना नै भनौँ हाम्रा अमूल्य निधिहरू कौडीको भाउमा बोरामा कोचेर बेचिरहेका छौँ । यसरी एकातिर खेती गर्ने परिपाटी नहुनु अनि अर्कातिर सङ्कलित तथा उत्पादित जडीबुटी पनि प्रशोधन गर्ने अवसर नहुनु दुःख लाग्दो विषय हो । फेरि बजारको व्यवस्था गर्न पनि ध्यान दिन सकिएको छैन । यिनै समस्या जडीबुटी क्षेत्रका मुख्य चुनौतीका रूपमा रहेका छन् । 

जडीबुटी बिमा, जडीबुटी अनुदान, जडीबुटी खेतीमा सहुलियत र न्यूनतम समर्थन मूल्य कायम गर्ने हो भने धेरै कृषकलाई यसतर्फ आकर्षित गर्न सकिन्छ । बढ्दो युवा पलायन नियन्त्रण गर्ने एक औजारको रूपमा पनि यसलाई बनाउन सकिन्छ । जडीबुटीमा चासो तथा आकर्षण नभएको पनि होइन तर यसको दिगो एवं भरपर्दो बजार व्यवस्थाको सुनिश्चितता हुन नसक्दा जडीबुटी खेती गरिरहेका कृषकमा पनि विकर्षण पैदा हुँदै गएको अनुभूति हुन्छ ।

नेपालको भौगोलिक विविधताको कारण यहाँ विविध जडीबुटी प्राकृतिक रूपमा नै उपलब्ध छन् । त्यसैले जङ्गली जडीबुटीको व्यवसायीकरणको प्रबल सम्भावना पनि रहेको छ, जसबाट जडीबुटीजन्य विविध उत्पादन गरी बढीभन्दा बढी लाभ लिन सकिने अवस्था छ । कृषि बालीहरूमा बाँदर, चित्तल, खरायो, दुम्सी तथा बँदेललगायतका वन्यजन्तुबाट हुने क्षतिबाट जोगिने एक दरिलो माध्यम बन्न सक्छ जडीबुटी खेती । कति यस्ता सुगन्धित वनस्पति छन्, जसको सुगन्ध तथा विभिन्न रसायनका कारण वन्यजन्तुहरूले खाँदैनन् । खेतीबालीको छेउछाउमा यस्ता जडीबुटी लगायौँ भने वन्यजन्तुले ती बालीलाई हानिनोक्सानी पु¥याउँदैनन् । यसले बाली पनि जोगिन्छ । जडीबुटीबाट थप आम्दानी पनि हुन्छ । यस्ता वनस्पतिको अध्ययन, अनुसन्धान गरेर कृषकलाई सुझाव दिन सकेमा जडीबुटीको उत्पादनमा थप योगदान पुग्ने छ । 

जडीबुटीको पहिचान, उपयोग, खेती प्रविधि तथा व्यवसायीकरणमा जनचासो बढाउन सकिएको छैन । जडीबुटी सङ्कलन, भण्डारण, प्रशोधन र बजारीकरण प्रणाली सबल छैन । जडीबुटी बजारको सूचना पहुँच कृषकमा पुग्न सकेको छैन । विविध जडीबुटी तथा सुगन्धित वनस्पतिको खेती विस्तार हुन नसक्दा बहुमूल्य वनस्पति स्रोत जङ्गलबाट अवैध रूपमा सङ्कलन हुन गई प्राकृतिक बासस्थानबाट लोप हुने खतरा बढेको छ । बेलाबखत हुने अवैध चोरी, निकासीबाट सरकारलाई राजस्व असुलीमा पनि असर परेको छ ।

नेपाल सरकारले उद्घोष गरेको ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सार्थक कार्यान्वयन गर्नमा जडीबुटी क्षेत्रले अग्रणी भूमिका खेल्न सक्छ । जडीबुटी तथा सुगन्धित वनस्पतिको अध्ययन, अनुसन्धान, पहिचान, विश्लेषण, प्रमाणीकरण र प्रशोधनमा जोड दिई बजारीकरणको सुनिश्चितता गर्नु पर्छ । जडीबुटी पकेट क्षेत्र तोकी पकेट क्षेत्र विशेष कार्यक्रम लागु गर्ने तथा एक गाउँ अनेक जडीबुटी कार्यक्रम कार्यान्वयन गर्न सक्दा बढीभन्दा बढी कृषकलाई जडीबुटी खेतीमा जोड्न सकिन्छ, जसको कारण स्थानीय स्तरमा जडीबुटी तथा सुगन्धित वनस्पतिजन्य उत्पादन तथा प्रशोधनका उद्योग सञ्चालनमा आउने छन् र रोजगारी सिर्जनामा समेत टेवा पुग्ने छ । 

परापूर्वकालदेखि नै जडीबुटी तथा सुगन्धित वनस्पति विभिन्न ओखतीको रूपमा प्रयोग हुँदै आएका छन् । जडीबुटीसम्बन्धी विद्यमान ज्ञान तथा सिप हराउने जोखिम बढेर गएको छ । जडीबुटीको उपयोगसम्बन्धी परम्परागत ज्ञान सिपको समयमै अभिलेखीकरण हुन नसक्दा र नयाँ पुस्तामा जडीबुटीप्रति आकर्षण बढाउन नसक्दा उक्त ज्ञान लोप हुने खतरा बढेको हो । व्यापारिक दृष्टिकोणले महìवपूर्ण जडीबुटीको व्यावसायिक खेती विस्तार तथा उत्पादनमा व्यापकता ल्याउनका लागि लगानीमैत्री नीतिको तर्जुमा भने हुनै पर्छ । यसले यार्सागुम्बा, लौठसल्ला, जटामसी, पाँचऔँलेलगायतका बहुमूल्य जडीबुटीको दिगो सदुपयोग हुन्छ र आर्थिक रूपमा ठुलो लाभ प्राप्त हुन्छ ।

    

Author

रघुराम पराजुली