• १३ असोज २०८१, आइतबार

जबरजस्ती करणी गर्ने बाबुलाई जन्मकैद

blog

सांकेतिक फाइल तस्बिर

कोकिला ढकाल

इलाम, जेठ ३१ गते । आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति  भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताउनुभयो । 

यस्तै दुई हजार आठसय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको उहाँको भनाइ छ । पीडित बालिका उनका बाबुसहित हजुरआमा र काकासँग बस्दैआएकि थिइन् । परिवारका सदस्य कोही नभएको बेला बाबुले जबरजस्ती करणी गरी कसैलाई नभन्नु भन्दै धम्की दिएको पीडितका काकाले दिएको जाहेरीमा उल्लेख छ । 

जाहेरीमा पीडित बालिकाकी आमा भने मानसिक असन्तुलनका कारण भारतमा उपचाररत रहनुभएको परिवारका सदस्यले बताएका छन् । घटना २०७९ चैत ५ गते भएको थियो । घटनालगतै पक्राउ परेका पीडक पुर्पक्षका लागि थुनामा रहेका थिए ।