• ९ पुस २०८१, मङ्गलबार

पूर्वाधार नबन्दा कर्णालीमा लगानी भित्र्याउन गाह्रो

blog

ललित बसेल

सुर्खेत, फागुन २६ गते । पूर्वाधार विकास नहुँदा कर्णाली प्रदेशमा लगानी भित्र्याउन कठिन भएको उद्योगी व्यवसायीले बताएका छन् । 

सुर्खेतमा बिहीबार भएको नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशको छैटौँ सभामा सहभागी उद्योगी व्यवसायीले कर्णालीमा लगानी भित्र्याउन पूर्वाधार विकास गर्नुपर्ने सुझाव दिएका हुन् । कर्णालीमा विशेष गरी पर्यटन, जलविद्युत्, कृषि र जडीबुटीमा लगानी गर्न सकिने उद्यमीको भनाइ छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं सार्क चेम्बरका उपाध्यक्ष चण्डिराज ढकालले कर्णाली विकासमा पछि पर्नुमा लगानीका लागि आवश्यक पर्ने नीति नियम र पूर्वाधारको विकास नहुनु रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले पहिले सरकारले पूर्वाधारको विकास गरिदिए उद्योगीले लगानी गर्न सक्ने भन्दै त्यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई पूर्वाधारको विकास गरिदिन आग्रह गर्नुभयो । उहाँले कर्णालीमा विशेषगरी पर्यटन, जडीबुटी, कृषि र जलविद्युत्मा प्रशस्त लगानी भित्रिन सक्ने बताउनुभयो । उहाँले कोरोना–१९ पछि तङ्ग्रिन थालेको उद्योग व्यवसाय बैङ्कको चर्को ब्याजले पुनः पिल्सिएको टिप्पणी गर्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले कर्णालीलाई भूगोलभन्दा पनि राज्य सञ्चालकका कारण ठगेको आरोप लगाउनुभयो । कर्णालीको सम्भावनालाई लगानीमैत्री वातावरण निर्माण गर्न सके विकास गर्न सकिने उहाँले बताउनुभयो । उहाँले अहिलेको जस्तो जटिल समस्या व्यवसायीले कहिल्यै भोग्नु नपरेको बताउनुभयो । महासङ्घका केन्द्रीय सदस्य उमेश डालमियाँले कर्णालीमा लगानी भित्र्याउने हो भने पूर्वाधार तयार गरिदिनुपर्ने माग गर्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीमा लगानी भित्र्याउन निकै प्रयास गर्दा उद्योगी व्यवसायी पूर्वाधार विकास नहुँदा सफल नभएको बताउनुभयो । उहाँले विशेष गरी प्रदेश र सङ्घीय सरकारले विकासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गरिदिनुपर्ने सुझाव दिनुभयो । बैङ्क तथा वित्तीय संस्थाले ऋण दिन कन्जुस्याइँ गरेको चर्चा गर्दै कोरोना र चर्को ब्याजका कारण पनि आर्थिक चलायमान हुन नसकेको अध्यक्ष शाहीले बताउनुभयो । देशमा आर्थिक सङ्कट समाधान गर्न र उद्योग वातावरण तयार गर्न सरकारले निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्नुपर्ने उहाँले जनाउनुभयो । 

सो अवसरमा उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डीबी बस्नेत, महासङ्घका पूर्वकोषाध्यक्ष निरक केसी, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेल, वस्तुगत समितिका कमल नेपालले शुभकामना व्यक्त गर्दै प्रदेशका उद्योगी व्यवसायीको समस्यालाई प्रदेशले समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । 

शाही अध्यक्षमा निर्विरोध

नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशको छैटौँ प्रदेश सभाले चौथो कार्यकालका लागि पनि सुर्खेतका पदमबहादुर शाहीलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । कोषाध्यक्षबाहेक अन्य सबै पदमा निर्विरोध चयन भएको हो । शाही २०६९ सालमा क्षेत्रीय अध्यक्ष हुनुभएको थियो भने सङ्घीयतापछिको दुई कार्यकाल पनि अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो । योसहित उहाँको यो चौथो कार्यकाल हो । 

निर्विरोध निर्वाचित हुने अन्य पदाधिकारीमा जिल्ला नगर उपाध्यक्षमा सल्यानका सुदन श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा सुर्खेतका हर्षविक्रम खड्का हुनुहुन्छ । यस्तै सदस्यहरूमा हुम्लाका नामग्याल तामाङ, सल्यानका कुमार बुढाथोकी, दैलेखका कुमार प्याकुरेल, सुर्खेतका लक्ष्मी कार्की, इन्द्रप्रसाद शर्मा, खड्कबहादुर शाही र कमल नेपाल चयन हुनुभएको छ । कोषाध्यक्षमा कालीकोटका भानुभक्त बराल र जाजरकोटका कर्णबहादुर खत्रीको उम्मेदवारी परेकाले सहमतिको प्रयास जारी राखिएको नवनिर्वाचित अध्यक्ष पदमबहादुर शाहीले बताउनुभयो ।