• १२ असोज २०८१, शनिबार

स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्न माग

blog

बुटवल समाचारदाता

बुटवल, मङ्सिर १९ गते । एक पटक विदेश गएर फर्किएपछि पुनः विदेश जानु नपर्ने वातावरण बनाउन आग्रह गरिएको छ। वैदेशिक रोजगारीबाट फर्किएकाले नपालमै बसेर विभिन्न आयमूलक काम गर्न इच्छुक भएकाले त्यो वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका हुन्। 

‘परदेशको पसिना : कसरी लिने प्रतिफल ?’ विषयमा केन्द्रित रहेर बुटवलमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाले यस्तो आग्रह गरेका हुन्। मैले गरेको लगानी डुब्दैन भन्ने वातावरण नेपालमै बनाइदिने अवस्था भएमा विभिन्न रोजगारीका कार्यक्रम सञ्चालन गर्न सकिने सुझाव युवाको छ। 

करिब आठ वर्ष खाडी मुलुकमा बसेर फर्किनुभएका स्थानीय युवा नवराज भुसालले भन्नुभयो, ‘हामी नेपालमै केही गर्न हौसिएका छौँ तर कहाँबाट सुरु गर्ने भन्ने अन्योल छ।’ उहाँले वैदेशिक रोजगारीबाट फर्केकाले लिएर आउने रकम मात्र होइन उनीहरूको ज्ञान, सीप र उद्यमी बन्ने मेहनतको उपयोग गर्न सरकारी नीतिमा सुधार ल्याउनु पर्ने माग गर्नुभयो। यसैगरी वैदेशिक रोजगारीबाट फर्केका दुर्गा भुसालले अस्पष्ट नीति र अदूरदर्शी नेतृत्वका कारण वैदेशिक रोजगारीको रकमको सही सदुपयोग र फर्किएकाहरू उद्यमी बन्न नसकेको बताउनुभयो। 

उहाँले वैदेशिक रोजगारीमा जानेको निश्चित प्रतिशत रकम बैङ्कमा अनिवार्य जम्मा गर्ने नीति मात्रै बनाउन सके पनि फर्केपछि सहज हुने र त्यसबाट स्वदेशमा केही गर्ने वातावरण तयार हुने विश्वास व्यक्त गर्नुभयो। 

किताब पब्लिसर्सले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका अर्थ सचिव नेत्रप्रसाद सुवेदीले प्रदेश सरकारले श्रम तथा रोजगार नीति बनाउँदै गरेको जानकारी दिँदै वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप मापन गर्न र उनीहरूलाई सीपअनुसारको रोजगारीमा जोड्न आवश्यक पहल भइरहेको बताउनुभयो। अर्थ विश्लेषक ध्रुव आचार्यले वैदेशिक रोजगारीमा गएका परिवारलाई उत्पादन क्षेत्रमा जोड्ने बताउँदै उनीहरू नेपाल फर्केपछि रोजगारी तथा आयआर्जनका कार्यक्रममा जोड्नुपर्नेमा जोड दिनुभयो। 

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्किएकाको तथ्याङ्क वडास्तरबाटै सङ्कलन गर्ने काम भइरहेको जानकारी दिनुभयो। 

उपमहानगरले वैदेशिक रोजगारीमा जानुपूर्व अपनाउनुपर्ने उपाय, रेमिट्यान्सको सदुपयोग र फर्केका युवाको पुनस्र्थापनाका लागि छलफल, मनोपरामर्श र उद्यमशीलता कार्यक्रमसमेत सञ्चालन गरिएको जानकारी दिनुभयो। श्रमिक सञ्जालकी सदस्य सङ्गीता तिमिल्सिनाले वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्स धेरैजसो आधारभूत आवश्यकतामै खर्च हुँदा देखिनेगरी प्रतिफल नपाइएको बताउनुभयो। सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न थुप्रै कार्यक्रम ल्याएको भए पनि कार्यान्वयन कमजोर भएको उहाँले बताउनुभयो।