तनहुँ समाचारदाता
तनहुँ, जेठ २९ गते । तनहुँको बन्दीपुर गाउँपालिकाको ग्रामीण क्षेत्रमा चितुवा दिउँसै बस्तीमा पसेर मान्छे मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका छन् । एक महिनाकै अवधिमा एक बालक र एक बालिका गरी दुई बालबालिकाको ज्यान गएपछि यहाँका बासिन्दा आतङ्कित बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो ।
चितुवा कराउँदै बस्तीमा आउन थालेपछि दिउँसै ढोका लगाएर बस्नुपर्ने बाध्यता भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । नरभक्षी चितुवाको आक्रमणबाट बन्दीपुर गाउँपालिका–२, कुवादी कामीडाँडाका दलबहादुर गुरुङको पाँच वर्षका छोरा उत्सव गुरुङलाई सोमबार साँझ आक्रमण गर्दा मृत्यु भएपछि गाउँले थप आतङ्कित भएका छन् । एक महिनाको अवधिमा दुई बालबालिकाको मृत्यु भएकाले नरभक्षी चितुवा मार्न वा समातेर चिडियाघरमा थुन्नुपर्ने माग राखिएको गाउँपालिकाका अध्यक्ष थापाले राख्नुभयो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले सोमबार साँझ भएको आक्रमणबाट घाइते बालक गुरुङको बन्दीपुर अस्पताल बन्दीपुरमा उपचारका क्रममा मृत्यु भएको बताउनुभयो । घरको पिँढीमा आमासँगै बसिरहेका बेला एक्कासि आएको चितुवाले आक्रमण गरेको घटनाबाट बालकको मृत्यु भएको बन्दीपुर गाउँपालिका–२ का वडाध्यक्ष तिलबहादुर कुँवरले जानकारी दिनुभयो । चितुवाले आक्रमण गरेर बच्चा लगेपछि पछि पछि घरपरिवार छुट्टाउन गएपछि बालकलाई घाइते बनाएर चितुवा भागेको वडाध्यक्ष कुँवरले बताउनुभयो ।
बन्दीपुर गाउँपालिका–२, मुच्चुक निवासी रेसम गुरुङले दिउँसै मानवबस्तीमा चितुवा पसेर बालबालिकालाई आक्रमण गर्ने शृङ्खला नरोकिएकाले गोली हानेर मार्नुपर्ने माग राखिएको बताउनुभयो । बन्दीपुर गाउँपालिका–३ निवासी नीलकण्ठ भट्टराई दुई वर्षको अन्तरालमा चार बालबालिका चितुवाको आक्रमणबाट मारिएकाले नियन्त्रणको माग राख्दै आन्दोलनमा आएको बताउनुभयो । पछिल्ला छ वर्षको अवधिमा गुरुङसहित १७ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाइसकेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बन्दीपुर गाउँपालिका–५ का वडाध्यक्ष धुव्रप्रसाद लामिछानेले स्थानीय जनताको ज्यानभन्दा ठुलो चितुवा नभएकाले प्रशासनले तत्काल मार्ने निर्णय गर्नुपर्ने बताउनुभयो । डिभिजन वन कार्यालय तनहुँका प्रमुख शरदकुमार अधिकारीले विज्ञ टोली मगाएर चितुवा नियन्त्रण गर्न निकुञ्जमा पत्राचार गरिएको बताउनुभयो । दुई वटा बाख्रासहितको खोर राखिएको भए पनि नियन्त्रणमा लिन नसकिएपछि पत्राचार गरिएको उहाँ बताउनुभयो । नरभक्षी चितुवालाई समातेर राष्ट्रिय निकुञ्जमा छाड्ने वा चिडियाखानामा लैजाने कार्य अघि बढाइएको अधिकारीले जानकारी दिनुभयो ।