राममणि दाहाल
मकवानपुर, चैत १९ गते । मकवानपुरको कैलाश गाउँपालिका ६ मा लागुऔषध कारोबारीले लुटेर लगेको प्रहरीको पेस्तोल फेला परेको छ । कैलाश गाउँपालिका ६ स्थित दुम्सीखर्क जङ्गलबाट सोमबार लुटिएको पेस्तोल त्यहाँ पुगेको प्रहरी टोलीले खोजीको क्रममा वडा नं. १ को बोल्नेलेकमा मङ्गलबार फेला पारेको हो ।
लुटिएको पेस्तोल र लुटपाटमा संलग्नको खोजीका लागि घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले लुटेर लगेको पेस्तोल खोजीको क्रममा कैलाश गाउँपालिका १ को बोल्नेलेकमा फेला परेको जानकारी दिनुभयो ।
लागुऔषध कारोबारी रहेको सूचना पाएर सोमबार इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहित गएको प्रहरी टोलीको साथा रहेको पेस्तोल लागुऔषध कारोबारीले लुटेर भागेका थिए । गोली लोड भएको अवस्थाको पेस्तोल लुट्ने र प्रहरीमाथि कुटपिटको घटना भएपछि सोमबारबाट ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।
"लागुऔषध कारोबारीले लुटेर भागेको टाइप-५४ को पेस्तोल फेला परेको छ", प्रहरी नायव उपरीक्षक अर्यालले भन्नुभयो, "लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ ।"
लागुऔषध कारोबारीसहितका १०-१५ जनाको समुहले प्रहरीमाथि कुटपिटसमेत हुलहुज्जत गरी पेस्तोल लुटेर लगेको थिए ।
हवल्दार तामाङ र सहायक हवलदार मग्राती लागुऔषध कारोबार भइरहेको सूचना पाएर जङ्गलमा गएकोमा अफिम र मोटरसाइकल छाडेर लागुऔषध कारोबारी भागेका थिए । अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालयतर्फ आउँदै गर्दा ठुलो समूहमा रहेका स्थानीयले घेरा हालेर प्रहरीलाई कुटपिट गरेका थिए ।