• ५ चैत २०८१, मङ्गलबार

बाँकेका तीन क्याम्पसमा मतदान सुरु, एकमा निर्वाचन स्थगित

blog

महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जमा मतदान गर्दै विद्यार्थीहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत ५ गते । बाँकेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जसहित तीन वटा क्याम्पसमा स्ववियुको मतदान सुरु भएको छ । राप्तीसोनारीको जनसिद्देश्वर क्याम्पसमा विवाद भएपछि चुनाव स्थगित भएको छ । 

पुरानो र पश्चिम नेपालकै चर्चित क्याम्पस महेन्द्र बुहुमुखी क्याम्पस, नेपालगन्जको नर्सिङ क्याम्पस र खजुराको ज्ञानोदय पब्लिक बहुमुखी क्याम्पसमा बिहानैदेखि मतदान सुरु भएको हो ।

पश्चिम नेपालका अधिकांस क्याम्पसहरुमा सत्ता गठबन्धन निकट नेविसंघ र अनेरास्ववियूबीच गठबन्धन गरेर स्ववियु निर्वाचनमा गएपनि पश्चिम क्षेत्रकै चर्चित क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भने नेविसंघ र अनेरास्ववियू एक्लाएक्लै चुनावमा होमिएका छन् । 

चार हजार ६६० जना मतदाता रहेको यो क्याम्पसमा सत्ता साझेदार मुख्य ठुला दल निकट नेविसंघ र अनेरास्ववियू एक्ला एक्लै चुनावमा होमिएका छन् भने माओवादी निकट अखिल क्रान्तिकारीले विप्लव, एकीकृत समाजवादी निकट अनेरास्ववियू र धर्मेन्द्र वास्तोला निकट अखिल क्रान्तिकारीसँग गठबन्धन बनाएको छ । 

त्यसैगरि नागरिक विद्यार्थी, नयाँशक्ती लगायतले छुट्टै गठबन्धन गरे चुनावमा उत्रिएको छ । गएको चुनावमा अनेरास्ववियुले जितेको महेन्द्र बहुमुखि क्याम्पसमा यो निर्वाचनमा अनेरास्ववियुको नेतृत्व केशरजंग शाह, नेविसंघबाट सन्तोष रावल र क्रान्तिकारीको नेतृत्व हरेन्द्रबहादुर विकले गर्नुभएको छ । 

नेपालगन्जको नर्सिङ क्याम्पसमा पनि सरकारी गठबन्धन प्रतिस्पर्धामा उत्रिएका छन् । नर्सिङ क्याम्पसमा २४२ जना मतदाता रहेका छन् । खजुराको ज्ञानोदय पब्लिक बहुमुखी क्याम्पसमा सत्ताधारी ठूला दलको गठबन्धन बनेको छ । यो क्याम्पसमा २०१ जना मतदाता रहेका छन् । सत्ता गठबन्धन विरुद्ध यहाँ विपक्षी गठबन्धन निकट विद्यार्थीहरुको संगठनहरुको गठबन्धन बनेको छ ।

त्रिभुवन विश्वविद्यालय आवद्ध राप्तीसोनारीको जनसिद्देश्वर क्याम्पसमा भने चुनाव स्थगित भएको छ । ७६ जना मतदाता रहेको सो क्याम्पसमा १२ जना फर्जी विद्यार्थी माओवादी निकट अखिल क्रान्तिकारीले हालेको नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलले आरोप लगाएर तालाबन्दी गरेको थियो । सोही विवाद बढ्दै गएपछि निर्वाचन स्थगित गरिएको हो ।