बनेपा समाचारदाता
बनेपा, कात्तिक ११ गते । असोज दोस्रो सातामा आएको बाढीपहिरोबाट प्रभावित बनेका काभ्रेपलाञ्चोकका स्थानीय तह खोज, उद्धारको कार्यक्रम सकिएसँगै अब राहत वितरण, प्रभावित परिवारको पुनर्वास र पुनर्निर्माणतर्फ अघि बढेका छन् । बाढीपहिरोबाट प्रभावित भएका जिल्लाका स्थानीय तह प्रभावित घरपरिवारलाई राहत वितरण, घर पूर्ण क्षति भएका परिवारका लागि सरकारले उपलब्ध गराउने राहत रकम वितरण तथा प्रभावित परिवारको तथ्याङ्क सङ्कलनमा लागेका हुन् ।
जिल्लाको रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले खोज, उद्धारको काम सकिएसँगै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा वितरण तथा बाढीपहिरोबाट पूर्ण रूपमा घर क्षति भई समस्यामा परेका ११० परिवारलाई पाँच जनासम्मको परिवारका लागि १५ हजार र पाँच जनाभन्दा माथि सदस्य भएका परिवारलाई २० हजारका दरले राहत रकम उपलब्ध गराइएको बताउनुभयो । उहाँले बाढीपहिरोमा परी मृत्यु भएका १२ जनाको परिवारलाई सरकारले उपलब्ध गराएको दुई लाख रुपियाँमा गाउँपालिकाले किरिया खर्चबापत ५० हजार रुपियाँ थप गरी हस्तान्तरण गर्ने कामसमेत सम्पन्न गरिएको बताउनुभयो । उहाँले तिहारअघि बाढीपहिरोबाट घर पूर्ण क्षति भएका परिवारलाई राहत रकम वितरण गरिसक्ने गरी काम गर्नका लागि घर पूर्ण रूपमा क्षति भएका परिवारको तथ्याङ्क सङ्कलन गर्ने कामलाई तीव्रता दिइएको भन्दै प्रारम्भिक तथ्याङ्क अनुसार बाढीपहिरोबाट गाउँपालिकाभित्र रहेका करिब ३५० घर पूर्ण रूपमा क्षति भएको बताउनुभयो ।
पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले खोज, उद्धारसँगै सबै वडा जोड्ने सडकको ट्र्याक खोलिएको बताउँदै बाढीपहिरोबाट क्षतिग्रस्त खानेपानी आयोजनालाई दीर्घकालीन समाधानका लागि योजनाको स्टिमेट गर्नेलगायतको काम अघि बढाइएको बताउनुभयो । उहाँले बाढीपहिरोबाट घर पूर्ण क्षति भएका पाँच सय परिवारलाई तीन चरणमा राहत वितरण गरिएको बताउँदै बाढीपहिरोपछि आफन्तकोमा गएर बस्नुभएको र पछि सम्पर्कमा आएका २५० परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको बताउँदै बाढीपहिरोबाट घर पूर्ण क्षति भएका करिब एक सय परिवारलाई नबिल बैङ्कले अस्थायी घर बनाइदिने विषयमा छलफल भएको बताउनुभयो । नगरप्रमुख भण्डारीले जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने विषयमा भौगोलिक अध्ययन गरिने बताउँदै बस्ती नै स्थानान्तरण गर्नु परेको खण्डमा उपयुक्त स्थानमा स्थानान्तरण गर्न नेपाल सरकारका सम्बन्धित निकायसँग छलफल गरिने बताउनुभयो ।
यस्तै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बाढीपहिरोबाट क्षति भई अवरुद्ध भएका सडक खोल्ने काम सम्पन्न, बिजुली, इन्टरनेट सेवा, टेलिफोन सेवा सुचारु भएसँगै आवश्यक घरधुरीमा राहत पुर्याइएको बताउनुभयो । उहाँले बाढीपहिरोबाट बस्ने घर र जग्गा नभएका परिवारको पुनर्वासका लागि नेपाल सरकारलाई सिफारिस गर्न तथ्याङ्क सङ्कलनको काम अघि बढाइएको भन्दै बाढीपहिरोबाट पूर्ण रूपमा घर क्षति भएका परिवारका लागि आवास निर्माणका लागि नबिल बैङ्कसँग छलफल अघि बढेको बताउनुभयो । उहाँले बाढीपहिरोबाट ठेक्का आह्वान भएका ११ वटा योजनाको ठेक्का रद्द गरी नयाँ लागत अनुमान तयार गर्ने, घर पूर्ण रूपमा क्षति भएका परिवारलाई तत्कालका लागि सरकारबाट प्रदान गरिने पाँच जनासम्मको परिवारका लागि १५ हजार र पाँच जनाभन्दामाथि सदस्य भएका परिवारलाई २० हजारका दरले सम्बन्धित व्यक्तिको खातामा राहत रकम उपलब्ध गराउने काम अघि बढाइएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष अधिकारीले बाढीपहिरोबाट गाउँपालिकाभित्रका चार हजार चार सय घरपरिवार नै प्रभावित बने पनि प्रारम्भिक तथ्याङ्क अनुसार ५५० वटा घर पूर्ण क्षति र करिब एक हजार तीन सय घर आंशिक क्षति भएको बताउनुभयो । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले बाढीपहिरोबाट प्रभावित तथा पूर्ण क्षति भएका घरपरिवारको तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने काम भइरहेको बताउँदै तथ्याङ्क प्राप्त भएपछि राहत वितरण, पुनर्निर्माणको काम अघि बढाइने बताउनुभयो ।