• १९ असोज २०८१, शनिबार

स्वास्थ्य रहन आहार बिहारमा विशेष ख्याल गरौँ : मुख्यमन्त्री आचार्य

blog

रिबन काटेर डायलिसिस सेवाको शुभारम्भ हुँदै । तस्बिर : नारद कोहार ।

नारद कोहार

तौलिहवा (कपिलवस्तु), असोज १७ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य रहन आहार विहारमा विशेष ख्याल गर्नुपर्ने बताउनुभएको छ। कपिलवस्तुको वाणगंगा नगरपालिकाको बैरियामा सामुदायिक डायलिसिस सेवा शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो। 

मुख्यमन्त्री आचार्यले कपिलवस्तुमा डायलिसिस सेवा शुभारम्भ भएकोमा खुसी व्यक्त गर्दै अब मिर्गौलाका बिरामीलाई उपचारका लागि केही भए पनि सहजता भएको बताउनुभयो। 

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेशको साथ र सहयोग रहेको प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ। 

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगरले प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि ५५ बुँदे कार्ययोजनासहित अघि बढेको बताउनुभयो। लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउने गरी काम अघि बढाइएको उहाँको भनाइ छ।


पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीले लामो र अथक प्रयाससहित सबैको साथले तीन वर्षमा यो सेवा शुभारम्भ गर्न सेकेको बताउनुभयो। 

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार मिर्गौलाका बिरामीको सङ्ख्या कपिलवस्तुमा बढेको र तिनीहरूको उपचारमा सहजताका लागि डायलिसिस सेन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो। हाल वाणगंगा नगरपालिका मात्र ३५ बढी मिर्गौलाका बिरामी छन्।