• १३ पुस २०८१, शनिबार

पाँचथरमा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो, तीन बेपत्ता

blog

फिदिम नगरपालिका–२ को रमितेमा गएको पहिरो। यो पहिरोले मेची राजमार्ग अवरुद्ध छ। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, असोज, १७ गते। पाँचथर जिल्लामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ। बुधबार फिदिम नगरपालिका १ की ४९ वर्षीया थुममाया योङहाङको शव भेटिएसँगै मृतकको सङ्ख्या आठ पुगेको हो।

उहाँको शव धनकुटाको मूलघाट नजिकै तमोर नदी किनारा (तेह्रथुमतर्फ) फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। 

उहाँलाई फिदिम नगरपालिका १ दुमाहा बेसी नजिकैदेखि बाढीले बगाएको थियो। यसअघि सोही स्थानदेखि खोलाले बगाएर बेपत्ता हुनुभएकी निर्मला राईको शव फलामेटार नजिकै धनकुटामा भेटिएको थियो।

असोज १२ गते गएको बाढी र पहिरोमा परी फिदिम नगरपालिका १२ की सम्झना शेर्पा, डोल्मा शेर्पा र पास्तिम्बा शेर्पा, फिदिम १ का गोपी विश्वकर्मा, फिदिम २ की रञ्जना राई र फाल्गुनन्द ५ का नरेन्द्र चेम्जोङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बेनिलाल साहले जानकारी दिनुभयो।

पहिरोमा परेका तीन जना हराइरहेका छन्। हालसम्म फिदिम-१ का सरस्वता पन्दाक, कृष्ण दास र फालेलुङ–५ कि ३६ वर्षीया कमला राई बेपत्ता रहेको साहको भनाइ छ।पहिरोमा पुरिएका पाँच जनालाई सकुशल उद्धार गरिएको छ। 

बाढी र पहिरोले पाँचथरको सदरमुकाम फिदिम नगरपालिकासँगै फाल्गुनन्द, फालेलुङ र मिक्लाजुङ गाउँपालिका धेरै प्रभावित भएका छन्। विस्थापितको विवरण अझैसम्म सङ्कलन हुन सकेको छैन।