लक्ष्मण पौडेल
भैरहवा, भदौ ६ गते । रुपन्देही प्रहरीले भन्सार छलीको सामान नियन्त्रणबाट साढे नौ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका कार्यालयको सक्रियतामा आर्थिक वर्ष २०८०-०८१ मा राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ ।
भारतसित जोडिएका विभिन्न सीमा नाकाबाट भन्सार छलेर चोरी पैठारी गरिएका सामान नियन्त्रणमा लिएर जिल्लामा आर्थिक वर्ष २०८०-०८१ मा प्रहरीले नौ करोड ५४ लाख ५७ हजार ८३ रुपियाँ राजश्व सङ्कलन गरेको हो ।
तस्कर समूहले खुल्ला सिमानाको फाइदा उठाउँदै दैनिकजसो भारतबाट मालवस्तु तस्करी गरी ल्याउने गरेका छन् । प्रहरीले नियमित जसो यस्ता भन्सार छलीका वस्तु बरामद गरिरहे पनि तस्करी निस्तेज भने भएको छैन ।
प्रहरीले जिल्लास्थित सीमा क्षेत्रबाट दिनहुँजसो भन्सार छलीका सामान नियन्त्रणमा लिएका कारण राजश्व सङ्कलन वृद्धि भएको हो । प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ४८ प्रतिशतले राजश्व सङ्कलन वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९-०८० मा प्रहरीले ६ करोड ४५ लाख नौ हजार ९२७ रुपियाँ राजश्व सङ्कलन गरेको थियो । गत वर्ष भन्सार छलीमा संलग्न आरोपमा ११६ व्यक्ति, १२ ट्रक, एक कन्टेनर, एक ट्याक्टर, १३ पिकअप, १९६ मोटरसाइकल र पाँचवटा अटोरिक्सा नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरीका प्रवक्ता मनोहरप्रसाद भट्टले बताउनुभयो ।
उहाँका अनुसार गत वर्ष बाइलर कुखुरा ६ हजार २४७ गोटा, बाइलर कुखुराका चल्ला १० हजार पाँच सय गोटा, १७ क्यारेट अण्डा, ५१ बाख्रा, २५० गोटा हाँसका चल्ला र कुखुरा तथा हाँस लगायत कारोबारमा संलग्न २२ जना पक्राउ गरेर कारबाहीका लागि पशु चेकपोष्ट कार्यालय बेलहिया बुझाइएको थियो । त्यसबाट एक करोड २१ लाख ६ हजार ३८० रुपियाँ राजश्व सङ्कलन भएको र दुई जनामाथि अभद्र व्यवहारमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार गत वर्ष भन्सार छलीमा गरिएको कडाइका कारण राजश्व सङ्कलनमा वृद्धि भएको हो । जिल्लाका सुरक्षा निकायबिचको समन्वयमा अवैध तरिकाले नाकाबाट भन्सार छलेर भित्र्याइएका समानसँगै व्यक्ति र उनीहरूले प्रयोग गर्ने सवारीका साधन समेत नियन्त्रणमा लिइएको प्रहरी प्रमुख राठौरले जानकारी दिनुभयो ।
गतवर्ष भन्सार छलेर भित्र्याइएको आठ हजार १२८ किलो माछा, १५० किलो सिद्रा र तिनको ओसारपसारमा संलग्न १० मोटरसाइकल नियन्त्रणमा लिइएको र त्यसबाट २१ लाख आठ हजार तीन सय रुपियाँ राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ । “हामीले अवैध तरिकाले भित्र्याइने खाद्यान्न नियन्त्रणमा विशेष ध्यान दिएका छौँ,” प्रहरी प्रमुख राठौरले भन्नुभयो, “त्यसका लागि प्रहरीका सबै युनिटलाई कडाइ गर्न निर्देशन गरिएको छ ।” गतवर्ष नाकाबाट भन्सार छलेर भित्र्याइएको एक हजार ३८१ बोरा प्याज, चार वटा ट्रक, २६ मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । त्यसबाट ९८ लाख ७९ हजार ५९५ रुपियाँ राजश्व सङ्कलन भएको प्रहरी जनाएको छ ।
गत वर्ष भन्सार छलेर भित्र्याइएको ६३ हजार १५० किलो चिनी, एक ट्रक र ओसारपसारमा संलग्न १९ मोटरसाइकल नियन्त्रणमा लिएर भैरहवा भन्सार बुझाइएको थियो । त्यसबाट ६६ लाख ५७ हजार नौ सय रुपियाँ राजश्व सङ्कलन भएको थियो । प्रहरी प्रवक्ता भट्टका अनुसार लत्ताकपडा बरामद, लागू औषध नियन्त्रण र फैसला कार्यान्वयन लगायतबाट राजश्व सङ्कलन वृद्धि गरिएको हो ।