• ८ मंसिर २०८१, शनिबार

कानुन र कार्यशैली

blog

नागरिकमैत्री शासन, समाजवाद उन्मुख राज्य तथा सुशासनका तगारो हुन् बिचौलिया । यी अनौपचारिक अर्थतन्त्रका मलजलकर्ता पनि हुन् । भ्रष्टाचार निवारण नहुनुमा यिनीहरूको ठुलो भूमिका रहेको छ । उत्पादक तथा उपभोक्ता तथा दुवैका रोग हुन् यिनीहरू । यिनीहरूले उत्पादकलाई श्रमको न उचित मूल्य दिन्छन् न उपभोक्तालाई उचित मूल्यमा किनेर खान दिन्छन् । विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीका शब्दमा ‘न्यायाधीश र झगडियाबिच मिलाउँछु भनी लेनदेनमा संलग्न हुने व्यक्तिलाई बिचौलिया’ भनिन्छ ।

देशका हरेक क्षेत्रमा सूक्ष्म ढङ्गले केलाउँदा बिचौलिया जताततै यत्रतत्र सर्वत्र आफ्नो सञ्जाल बनाउन सफल भएका छन्, जसले राज्य तथा गैरराज्यका पात्रको सदाचार, नैतिकता, इमानदारी तथा आत्मनिरीक्षणमाथिको क्षयीकरण तथा स्खलनको सङ्केत गर्दछ । जुन विधिको शासनको उपहास पनि हो । राजनीतिक, प्रशासनिक, न्यायिक, सामाजिकलगायत सबै भ्रष्टाचार र अनियमिततालाई सहजीकरण यिनै बिचौलियाले गर्छन्, जुन दुर्भाग्यपूर्ण छ । 

अहिले कृषिमा बिचौलिया, स्वास्थ्यमा बिचौलिया, शिक्षामा बिचौलिया, मालपोतमा बिचौलिया, यातायातमा बिचौलिया, प्रशासनमा बिचौलिया, उद्योग कार्यालयमा बिचौलिया, सहकारीमा बिचौलिया, अध्यागमनमा बिचौलिया । पर्यटनमा, जग्गा किनबेचमा, घरभाडा लिनदिन, फसेको ऋण उठाउन सबैतिर यिनीहरूकै बोलवाला छ भन्ने आरोप छ । यो बिचौलियाको राजबाट नागरिकले कहिले उन्मुक्ति पाउने हुन् भन्ने प्रश्न झन् झन् पेचिलो बन्दै गइरहेको छ । त्यसो भए यिनलाई कसले जन्मायो ? कसले हुर्कायो ? यी प्रश्नको जवाफ राज्यले खोज्नु पर्छ । एउटा चेतनशील नागरिकले खोज्नु पर्छ, एउटा राष्ट्रसेवकले खोज्नु पर्छ, एउटा शिक्षकले खोज्नु पर्छ, एउटा जनप्रतिनिधिले खोज्नु पर्छ, सम्पूर्ण न्यायकामी जनताले खोज्नु पर्छ । 

नेपालको संविधानले श्रमिकको हकको व्यवस्था गरेको छ । आज त्यही श्रमिकको ज्याला तथा फलमा नै एउटा बिचौलियाले धावा बोलेको छ । उपभोक्ताको हकमाथि पनि कुठाराघात भएको छ । उपभोक्ता बिचौलियाको सकसमा परेका छन् । खाद्यसम्बन्धी हकको पनि हनन भएको छ । कृषि उपजको उचित मूल्य प्रदान गर्ने नीतिको सार्थकता प्रमाणित भएको छैन । यसले बिचौलिया मोटाएका छन्, कृषक दुब्लाएका छन् । यसको समाधानका केही उपाय सुझाउन कोसिस गरिएको छ ।

कर्मचारीतन्त्रका सङ्क्रामक रोगहरू जस्तै नातावाद, कृपावाद, ढिलोवाद, शासकीय संस्कृति, ओठे जवाफ, काम पन्छाउने प्रवृत्ति, एकतर्फी सीमित सञ्चार, भेदभाव आदिले बिचौलियालाई सहज वातावरण निर्माण गर्न भूमिका खेलेका छन् । त्यसैले यस्ता कुरा तत्काल बन्द गर्नु पर्छ । हाम्रो कार्य संस्कृतिमा बदलाव ल्याउनु पर्छ । 

जब राजनीति र प्रशासनबिच टकराव सुरु हुन्छ, त्यहाँ आरोप तथा प्रत्यारोप हुन्छ । अनि विश्वासको खडेरी देखा पर्छ । यही खडेरीले कानुन तथा नियम जटिल, घुमाउरा, प्रक्रिया प्रदान बन्छन्, जसको एक मात्र अभीष्ट कार्यान्वयनकारी निकायलाई कज्याउने हुन्छ । यो अविश्वासको परिणाम हो । त्यसकै भुमरीमा सेवाग्राही तथा जनताले दुःख पाउँछन् । त्यसैले कानुनमा हुने अनौठा तथा घुमाउरा बाटा पनि यसका जन्मदाता हुन् । त्यस्ता हजारौँ कानुन होलान्, एउटा प्रतिनिधि उदाहरण हेरौँ– नेपालको यातायात क्षेत्रलाई समेट्ने सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४९ मा लिखित परीक्षासम्बन्धी व्यवस्था छ, जसमा लिखित परीक्षामा एक पटक जुन कारणले अनुत्तीर्ण भए पनि ९० दिन कुरेर मात्र अर्को परीक्षा दिन पाइन्छ । केही सोझासिधा सेवाग्राहीले त ९० दिन पर्खेलान् तर अधिकांशले त प्रणालीको कमजोरीलाई फाइदा उठाएर चोर बाटो खोज्न थाल्छन । झन् बिचौलिया भेटेपछि त बाटो मात्र होइन, राजमार्ग नै पत्ता लागिहाल्छ । 

अर्को यातायात व्यवस्था नियमावली, २०५० को नियम २० को ‘ख’ मा तीन पटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण भएपछि फेरि अनलाइन फाराम भर्नेदेखि झन्झटिलो दर्ता, लिखित आदि प्रक्रिया सुरु हुन्छ । अनि यस्तो भएपछि कसले झन्झट बेहोर्छ । यदि तीनपटके प्रथालाई निश्चित समयमा १० पटकसम्म दिन सक्ने बनाइदिएको भए अर्काको सहारा माग्न नै पर्दैनथ्यो । प्रदेशलाई राजस्व पनि बढ्थ्यो । जनताको मुहारमा पनि मुस्कान आउँथ्यो । जुनबेला बागमती प्रदेशमा एउटा मात्र लाइसेन्स कार्यालय थियो, त्यसबेला केही हदसम्म ठिक थियो होला । अहिले यो बिचौलियामैत्री छ, सेवाग्राहीमारा छ । बिचौलियालाई एक घण्टाका लागि प्रहरी भ्यानमा उठाउने होइन, कानुन तथा नियम संशोधनबाट तथा प्रणाली निर्माणबाट सधैँका लागि जरा उखेल्नु पर्छ । 

जोकोहीलाई पनि अचम्म लग्न सक्छ, एउटा स्मार्ट लाइसेन्स छाप्न तीन वर्ष लाग्छ भनेर तर यो हामीले भोगिरहेको नियति हो । यही नियतिले जन्म दिएको छ तिनीहरूलाई । एउटा लाइसेन्स लिन जो कोही पनि तीन वर्ष कुर्दैन । कसैले शक्तिको दुरुपयोग गर्छ भने कसैले भक्तिको सदुपयोग गर्छ । केही पनि नहुनेले त्यस्तै सहारा खोज्न थाल्छ किनभने उसलाई ट्राफिकको दिनहुँ कचकच सहनु छैन । अनि फेरि बिचौलियाकै काम आइहाल्यो । हामीलाई हरेक प्रदेशमा लाइसेन्स प्रिन्टर राख्न के ले रोकेको छ ? यो हरेक कार्यालयमा पनि राख्न सम्भव छ । अनि कोहीकसैको शरणमा जानु पनि पर्दैन । उत्तीर्ण गरेको सात दिनमा लाइसेन्स हातमा आउँछ । बिचौलिया निराश हुन्छन् । 

अर्को यिनको जन्म हुनुमा हाम्रो समाज र संस्कृतिले तय गरिरहेको बाटो पनि हो । हामी दिनप्रतिदिन आध्यामिकताबाट टाढा भइरहेछौँ । हाम्रा सामाजिक मूल्य तथा मान्यता, दया, करुणा, पाप, धर्म, सहयोग, भ्रातृत्व जस्ता भावनात्मक सम्पत्ति बिस्तारै पलायन भइरहेका छन् । विवेकभन्दा पनि आवेग हाबी भइरहेको छ । ‘इद’ सक्रिय भएको छ । ‘इगो’ बढिरहेको छ । इद र इगोलाई नियन्त्रण गर्ने ‘सुपर इगो’ कमजोर हुँदै गएको छ (सिग्मन्ड फ्रायड) । यसले पनि जसरी हुन्छ कमाउनु पर्छ, रमाउनु पर्छ भन्ने भावना जन्मायो । त्यही भावनाले यिनलाई जन्म दियो । त्यसैले हाम्रो नागरिक शिक्षा बलियो बनाउनु पर्छ । मानिसलाई योग, ध्यानमा आकर्षण गर्नु पर्छ । विद्यालयको प्राथमिक तहदेखि नै नैतिकताको पाठ्यक्रिम अनिवार्य राख्नु पर्छ । आध्यामिकताको ओइलाउँदो वृक्षमा पनि हाल्नु पर्छ । 

बिचौलिया फस्टाउने मुख्य कारण भनेको हाम्रा अस्तव्यस्त सरकारी संरचना पनि हुन् । यी सबै संरचनालाई सेवाग्राहीमैत्री बनाउनु पर्छ र बनाउन सकिन्छ । त्यसका लागि एउटा कार्यालयमा देखिने ठाउँमा ठुलो सेवा प्रवाह तालिका राख्न सकिन्छ । सेवा प्रवाहका कक्ष, फाँटहरू क्रमशः १/२/३ गर्दै राख्न सकिन्छ । सेवाग्राहीले १ नम्बर कोठा देखेपछि २ नम्बर सहजै देखोस् । १ नम्बर हाकिमको होइन, सेवा सुरु हुने विन्दुमा हुनु पर्छ । सेवाग्राहीलाई तातो वा चिसो पानी, सफा शौचालय, उचित स्तनपान कक्ष, फ्री वाइफाई प्रबन्ध गर्नु पर्छ । 

सेवाग्राहीमा अन्योल पनि बिचौलियाको उर्वरभूमि हो । हरेक कार्यालयमा नागरिक हेल्प डेस्क राखेर उपयुक्त कर्मचारीको व्यवस्थापन गर्नु पर्छ । हेल्प डेस्कमा राख्ने कर्मचारी सम्भव भएसम्म त्यो कार्यालयको बहुसङ्ख्यक लक्षित वर्गको वेशभूषा तथा भाषाको प्रतिनिधित्व गर्ने राख्नु पर्छ, जसले नागरिकको कार्यालयप्रतिको अपनत्व तथा स्वामित्व प्रवर्धन गरोस् । नागरिक वडापत्र सबैले देखिने ठाउँमा, ठुला अक्षरमा, सुनिने र देखिने दुवै माध्यममा राख्नु पर्छ । यो उपायबाट पनि बिचौलिया हटाउन तथा घटाउन सकिन्छ ।    

हाम्रो परनिर्भर संस्कृति पनि गजबको छ । हामी धेरै कुरामा स्वनिर्भर छैनौँ । हामी कृषि उपजमा पनि परनिर्भर बनिरहेका छौँ । हामी भोगविलासमा रमाउने प्रवृत्तिमा लम्किरहेका छौँ । हँुदा हँुदा हामीसँग आफ्नो काम आफैँ गर्नु पर्छ भन्ने चेत पनि हराउँदै गएको छ । हामी हरेक सेवा तथा वस्तुको सहज उपभोग गर्ने लतमा फसेका छौँ । त्यसमाथि हामीमा प्राविधिक ज्ञानको कमी छ । यही बानीले पनि बिचौलियाको व्यवसाय मौलाएको छ । हामी स्वयम् जागरुक भएर आफ्नो काम आफैँ गर्ने बानी बसाल्यौँ भने पनि धेरै बिचौलिया पलायन हुन्छन् । हामी ऐना मेहनत गरेर पुछिरहेका छाँै, ऐनाको फोहोरलाई सरापिरहेका छौँ तर फोहोर आफ्नै अनुहारमा भएको पत्तै पाएका छैनाैँ । 

अन्त्यमा बिचौलिया आफैँ जन्मेका होइनन्, हामीले जन्माएका हौँ । प्रणाली तथा कार्यशैलीले जन्माएका हुन् । सोचले जन्माएका हुन् । परनिर्भरताले हुर्काएका हुन् । सेवा प्रवाहको असफलताले जन्माएका हुन् । दण्डहीनताले प्रश्रय गरेका हुन् । हाम्रो शिक्षा प्रणालीको परिणाम हुन्, उपज हुन् । हामी सबैको साझा प्रयासबाट मात्र यसलाई निस्तेज गर्न सकिन्छ । त्यसैले बिचौलियारूपी वृक्षलाई ढाल्न तथा जरा काट्न आफ्नो हातको हतियार बेलैमा प्रयोग गर्न ढिला गर्नु हुँदैन, जुन सुशासनको प्रथम पाइला हो ।