जनार्जन खत्री
सर्लाही, जेठ २७ गते । सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित बलरा नगरपालिकामा आइतबार बिहान पोखरीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ ।
बलरा नगरपालिका –९, अचलगढमा स्थानीय मुनिलाल यादवका श्रीमती ८० वर्षीया राधिकादेवी यादवको पोखरीमा डुबेर मृत्यु भएको हो । राधिका बिहान ५ बजेतिर मर्निङवाकमा निस्कनुभएको थियो ।
उहाँ अचलगढस्थित पूर्व–पश्चिम हुलाकी सडकको पुल मुनी रहेको पोखरीमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वृद्धा पुलबाट चिप्लिएर पोखरीमा खसेको हुनसक्ने र यस सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीको भनाइ छ ।