नेपाली खेलकुद क्षेत्रमा केही समययता खेल कूटनीति (स्पोर्टस डिप्लोमेसी) को चर्चा खुब हुन थालेको पाइन्छ । नेपाल ओलम्पिक कमिटीको कार्यक्रममा होस् वा मैत्रीपूर्ण क्रिकेट खेल्न आएका वेस्ट इन्डिजका खेलाडीको स्वागत कार्यक्रममा साथै अन्य कार्यक्रममा समेत खेलकुद मन्त्रीलगायतले खेल कूटनीतिको विषय उठाइरहेका छन् ।
नेपालमा मात्र नभई विश्वमा नै खेलकुदले मानिसलाई एकजुट बनाउन विशेष भूमिका खेल्दै आएको छ । राष्ट्रको इज्जत प्रतिष्ठा र गौरवसँग खेलकुद जोडिएको हुन्छ । वर्तमान समयमा खेलकुदलाई स्वास्थ्य र मनोरञ्जनका रूपमा मात्र नभई राष्ट्रिय एकता प्रवर्धन गर्ने र मानिसलाई एकताबद्ध गराउने माध्यमको रूपमा समेत लिने गरिन्छ । समाजमा व्याप्त विभिन्न किसिमका सामाजिक भेदभाव चिर्न पनि खेलकुदले अहम् भूमिका निभाइरहेको हुन्छ । जब मानिस आफ्नो टोलीलाई समर्थन गर्न खेल मैदानमा पुग्छन्, सबै किसिमका भेदभाव बिर्सिएर एकसाथ आफ्नो टोलीलाई जित दिलाउने साझा लक्ष्यमा केन्द्रित हुन पुग्छन् । यसले राष्ट्रिय गौरव, पहिचान र ऐक्यबद्धताको भावना बढाउने कार्य गरिरहेको हुन्छ ।
राष्ट्रहरूबिच एकता र प्रतिस्पर्धाको प्रमुख माध्यम बन्दै आएको खेलकुदमा देशको सीमाना, संस्कृति र विचारधाराभन्दा माथिको शक्ति रहेको हुन्छ, जसले गर्दा मानिसलाई प्रतिस्पर्धा र सौहार्दताको भावनामा एकीकृत बनाउने गर्छ । त्यसैले जब अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुन्छ, सारा जनता आपसी मनमुटाव बिर्सेर एक हुन्छन् र आफ्नो देशको खेलाडीलाई समर्थन गर्न पुग्छन् । खेलकुदको प्राथमिक उद्देश्य मनोरञ्जन, कौशल प्रदर्शन गर्नु र स्वस्थ बनाउनु रहे पनि यसले अन्तर्राष्ट्रिय कूटनीतिमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।
खेलकुद कूटनीति
खेलकुद कूटनीति भनेको देशहरूबिचको सकारात्मक सम्बन्धलाई बढावा दिन, शान्ति प्रवर्धन गर्न र एक अर्काको संस्कृति आदानप्रदान गर्न खेलकुदको प्रयोग गर्नु हो । देश विदेशका मानिसलाई सँगै ल्याउने मात्र नभई एकता र सद्भावको भावना सिर्जना गर्ने माध्यम पनि हो खेलकुद कूटनीति ।
अमेरिका र चीनबिच भएको सन् १९७० को ‘पिङ–पोङ कूटनीति’ विश्व जगत्मा हालसम्म पनि चर्चित खेल कूटनीतिको रूपमा रहँदै आएको छ । टेबलटेनिस खेलाडीको आदानप्रदानले सो समयमा दुई देशबिच रहेको चिसो सम्बन्धलाई पगाल्न मद्दत पु¥याएको थियो । सोही सिलसिलामा सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्सनको ऐतिहासिक चीन भ्रमण भएको र दुई महाशक्तिबिच कूटनीतिक छलफलका लागि ढोका खुलेको थियो । पिङ पोङ कूटनीतिले विश्व स्तरमा शान्ति र कूटनीति प्रवर्धन गर्ने सम्बन्धमा खेलकुदको महìव प्रस्ट्याएको पाइन्छ ।
दक्षिण एसियाको सबैभन्दा लोकप्रिय खेल क्रिकेटलाई पनि विगत लामो समयदेखि नै भारत र पाकिस्तान जस्ता तिक्ततापूर्ण सम्बन्ध भएका मुलुकले कूटनीतिक सम्बन्ध सुधार्ने साधनको रूपमा प्रयोग गर्दै आएको छ । पाकिस्तानका तत्कालीन राष्ट्रपति जिया–उल–हकले सन् १९८७ मा जयपुरमा भएको भारत–पाकिस्तानबिच टेस्टको अवलोकन गर्ने सिलसिलामा भारतका प्रधानमन्त्री राजीव गान्धीलाई पनि भेटेका थिए, जसले गर्दा दुई देशका सरकारहरूको सम्बन्ध सुधारमा ठुलो मद्दत पुगेको थियो ।
यसका साथै सन् २००८ को मुम्बईमा भएको आतङ्ककारी हमलापछि बिग्रिएको भारत–पाक सम्बन्धलाई भारतले आयोजना गरेको २०११ विश्वकप क्रिकेटको सेमिफाइनलले सहज बनाएको मानिन्छ । भारत–पाकिस्तानबिच भएको उक्त सेमिफाइनल खेल भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह र पाकिस्तानका प्रधानमन्त्री युसुफ रजा गिलानीले सँगै बसी प्रत्यक्ष हेरेका थिए ।
खेलकुद कूटनीति भनेको खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाउनु हो । विश्वभरका खेलाडी निष्पक्ष रूपमा खेल र खेलकुदको भावनामा प्रतिस्पर्धा गर्न आउने ओलम्पिक र विश्वकप फुटबल प्रतियोगितामा पनि खेलकुद कूटनीति देख्न सकिन्छ, जहाँ विभिन्न देशका खेलाडीले आफ्नो प्रतिभा र संस्कृति प्रदर्शन गर्ने गर्छन् ।
पछिल्लो समय खेलकुद कूटनीति राजनीतिक समस्या सम्बोधन गर्न र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति प्रवर्धन गर्न प्रयोग हुन थालेयता यसको महत्व झन् बढेको पाइन्छ । उत्तर र दक्षिण कोरियाले सन् २०१८ मा दक्षिण कोरियाको प्योङयाङमा भएको शीतकालीन ओलम्पिकमा एउटै झन्डामुनि सँगै मार्चपास गरेका थिए, जसले दुई देशबिचको सम्बन्धमा केही मात्रामा भए पनि सुधार गर्न सहयोग पु¥याएको थियो । खेलकुद राष्ट्रबिचको कूटनीतिक सेतु हो । कूटनीतिज्ञले प्रायः खेलकुद कार्यक्रमलाई शान्तिपूर्ण संवाद र सहयोगका लागि तटस्थ मैदानका रूपमा प्रयोग गर्ने गर्छन् । खेलकुद कूटनीति भनेको खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध बढाउन, शान्ति प्रवर्धन गर्न र राष्ट्रहरूबिच सांस्कृतिक सम्बन्ध आदानप्रदान गर्ने माध्यमको रूपमा प्रयोग गर्नु हो । खेलाडी, खेलकर्मी र खेल सङ्गठनहरूले विश्वव्यापी मुद्दालाई सम्बोधन गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको विषय उजागर नै छ ।
वर्तमान अवस्थामा विश्वकप फुटबल, ओलम्पिकलगायतका ठुला खेलकुद प्रतियोगिता आयोजना गर्नु पनि खेल कूटनीति अन्तर्गत लिइने गरिन्छ । यस्ता प्रतियोगिता आयोजना गरेर आयोजक राष्ट्रले विश्वजगत्मा आफ्नो आर्थिक, सांस्कृतिक र सामरिक शक्तिको प्रदर्शन गरिरहेको हुन्छ । यसका साथै समृद्ध राष्ट्रका उच्च ओहोदाका व्यक्तिको तुलनामा खेलाडीप्रतिको इज्जत, प्रतिष्ठा र सम्मान पनि माथि रहेको पाइन्छ । ती राष्ट्रका खेलाडीको हैसियत संसारका कुनै राजनीतिज्ञ भन्दा कम देखिँदैन । छिमेकी मुलुक भारतमै क्रिकेट खेलाडीप्रति गरिने सम्मान कुनै राजनेता भन्दा कम छैन भने युरोप र अफ्रिकी देशका फुटबल खेलाडीको लोकप्रियता अझ बढी रहेको पाउँछौँ ।
पछिल्लो समय नेपालकै सन्दर्भमा पनि क्रिकेट खेलाडीप्रति बढेको क्रेज लोभलाग्दो छ । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुनका लागि क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपश्चात् उनको समर्थनमा समर्थकले सडक तथा सामाजिक सञ्जाल तताएको विषय चर्चामै छ । यस्ता विषय सम्बन्धित देशको आफ्नै नीति नियम र कार्यविधिमा भर पर्ने कुरा हो । दबाब दिएर होइन कूटनीतिक तवरबाटै यसको हल खोजिनु पर्छ । नेपालमा पनि केही मात्रामा भए पनि सफल क्रिकेटरले विश्व परिवेशमा रहेको खेलकुद र खेलाडीलाई दिँदै आएको महत्व र सम्मान बिस्तारै आत्मसात् गर्दै गइरहेको सुखद आभास दिलाउँछ ।
भूराजनीतिक दृष्टिकोणले संवेदनशील मुलुक नेपालले पनि खेलकुद कूटनीतिको माध्यमबाट छिमेकी मुलुकसँग सम्बन्ध सुधार गर्न मात्र नभई विश्वस्तरमा आफ्नो उपस्थिति बलियो बनाउन, शान्ति र एकताको प्रवर्धन गर्न र देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन पनि सक्छ । तसर्थ नेपाल जस्ता आर्थिक सामाजिक रूपमा पछि परेको देशले खेलकुदमार्फत अन्य ठुला र विकसित देशसँग बलियो कूटनीतिक सम्बन्ध निर्माण गर्न खेलकुद कूटनीतिको अधिकभन्दा अधिक प्रयोग गर्नेतर्फ सबैले विशेष ध्यान दिन आवश्यक छ ।