सगरमाथा विजय तेन्जिङ र हिलारीको व्यक्तिगत साहस र सफलता हो । त्यसैले त नेपाल विश्वमै साहसिक पर्यटनका लागि उत्तम भूमिको रूपमा परिचित भयो । नेपाल र न्युजिल्यान्डको सम्बन्ध विस्तारको बीजारोपण पनि यसै सफलतापश्चात् भयो ।
सगरमाथा आरोहणपछिका वर्षमा सर एडमन्ड हिलारीले सगरमाथा क्षेत्रमा हवाई मैदान, विद्यालय, अस्पताल आदि निर्माण र सञ्चालन गरी सुरु गरेको सामुदायिक र सामाजिक सेवाको कार्यको कारण उनी उक्त क्षेत्र र न्युजिल्यान्डमा उनी प्रसिद्ध भए । सन् २००८ को जनवरीमा मृत्यु हुनुअघि उनी न्युजिल्यान्डमा सबभन्दा बढी मन पराउने व्यक्ति थिए । रिजर्व बैङ्क अफ न्युजिल्यान्डले निष्कासन गरेको पाँच डलरको नोटमा हिलारीको तस्बिर छ । कुनै देशको राजा, रानी र राष्ट्रपतिबाहेक जीवित व्यक्तिको तस्बिर नोटमा भएको पहिलो व्यक्ति सायद उनी नै होलान् ।
सन् २०१९ देखि न्युजिल्यान्डको संसद्मा सगरमाथा दिवस आयोजना गर्ने सुरुवात भएको छ । त्यहाँको संसद् सचिवालय र केही सांसदसँगको सहकार्यमा यो कार्यक्रम सुरुवात गरिएको थियो । कोभिड महामारीको कारण एक वर्षबाहेक नियमित रूपमा यो कार्यक्रम हुँदै आएको छ । यस वर्षको कार्यक्रम पनि (२८ मे) को दिन सम्पन्न भयो । कार्यक्रममा न्युजिल्यान्डका मन्त्री, संसद्, सरकारी पदाधिकारी र न्युजिल्यान्डका विभिन्न समुदायका प्रतिनिधिको ठुलो सहभागिता भयो । यो कार्यक्रम सगरमाथाको महत्व, नेपाल– न्युजिल्यान्ड सम्बन्ध र न्युजिल्यान्डमा रहेका नेपाली समुदायको योगदानबारे जानकारी दिने एउटा उच्च माध्यम भएको छ ।
हिलारीसँगको भेट
न्युजिल्यान्डमा अध्ययन गर्न जाने क्रममा र न्युजिल्यान्ड बसोबासको समयमा हिलारी दम्पतीसँग पटक पटक भेट गर्ने अवसर मिल्यो । हिलारीसँग पहिलो पटक काठमाडौँमा १९९८ को अक्टोबरमा भेट भएको थियो ।
दोस्रो भेट सन् १९९९ मा बेलिङ्गटनमा भयो । त्यस समय पङ्क्तिकार भिक्टोरिया युनिभर्सिटी अफ बेलिङ्गटनमा अध्ययनरत थियो । हिलारी दम्पती एउटा कार्यक्रमका लागि बेलिङ्गटन आउँदै छन् भन्ने जानकारी पत्रिकामार्फत पाएको थिएँ । त्यहाँ सर एडमन्ड हिलारीको ओटो बायोग्राफीको विमोचन कार्यक्रम हुँदै रहेछ । हामी पनि लाइनमा बस्यौँ । लाइन व्यवस्थापन गर्ने आयोजकले हाम्रासामु आएर तिमीहरू नेपाली हौ भनी सोधे । हो भनेपछि हामीलाई लाइनबाट निकालेर सिधा हिलारी दम्पती भएको कोठामा लागे । करिब एक वर्षअघि काठमाडौँमा भेट भएको प्रसङ्ग सुनाई भेट्न मन लागेर आएको भनेँ । सर एडमन्डले अटोग्राफ दिए ।
सन् २००३ को मार्च महिनामा सगरमाथा विजयको स्वर्ण वर्षको उपलक्ष्यमा न्युजिल्यान्ड सरकारको तर्फबाट एउटा विशेष कार्यक्रम आयोजना गरिएको थियो । न्युजिल्यान्डको आन्तरिक मामला विभागले कार्यक्रमको संयोजन गरेको थियो । उक्त विभागका एक अधिकारीले पङ्क्तिकारलाई सम्पर्क गरेर उक्त कार्यक्रममा नेपाली समुदायको सहभागितका लागि अनुरोध गरे । बेलिङ्गटनमा त्यस समय नेपालको कुनै औपचारिक संस्था दर्ता भइसकेको थिएन । अनौपचारिक रूपमा मैले प्रतिनिधित्व गर्ने गरेकाले मलाई सम्पर्क गरिएको थियो । नेपाली समुदायले हिलारी दम्पतीसहितको सानो विजय जुलुसमा सहभागी हुने र संसद् प्राङ्गणमा नेपाली संस्कृति झल्कने एउटा नाच प्रस्तुत गर्नुपर्ने थियो । यसका लागि बेलिङ्गटन र आसपासका सहरका नेपालीसँग सम्पर्क गरी सहभागी हुने व्यवस्था मिलाइयो र माग अनुसार एउटा नेपाली नाच पनि प्रस्तुत गरियो । नेपाली समुदायबिच हिलारी दम्पती रमाएका थिए भने नेपाली पनि कार्यक्रममा सहभागी हुने अवसर मिलेकोमा आभारी थियौँ ।
उक्त कार्यक्रममा न्युजिल्यान्डका तत्कालीन प्रधानमन्त्री हेलेन क्लार्क र सर एडमन्ड हिलारीले सम्बोधन गरेका थिए । न्युजिल्यान्डको टेलिभिजन च्यानलहरूले नेपाली नाचलाई आफ्नो समाचारमा प्राथमिकताका साथ प्रस्तुत गरेका थिए । सगरमाथा विजयको स्वर्ण वर्षको उपलक्ष्यमा न्युजिल्यान्ड पोस्टले तेन्जिङ र हिलारीको फोटोसहितको हुलाक टिकट निष्कासन गरिएको थियो ।
हिलारी दम्पतीसँग पछिल्लो भेटघाट फेब्रुअरी २००७ मा भएको थियो– गैरआवासीय नेपाली सङ्घ न्युजिल्यान्डले अकल्यान्डमा आयोजना गरेको नेपाल दिवस कार्यक्रममा ।
हिलारीको मृत्यु
सर एडमन्ड हिलारीको मृत्यु ११ जनवरी २००८ मा अकल्यान्डमा भयो । पङ्क्तिकार कार्यरत महाशाखाको डेपुटी चिफ एक्जेक्युटिभ मेरो डेस्कमा आएर हिलारीको बारेमा पछिल्लो समाचार थाहा छ भनेर सोधेँ, मैले सञ्चार माध्यम र सामाजिक सञ्जालमा हिलारी बिरामी भएको भन्ने समाचार छापिएको थियो भनेँ । उनले भनेँ, ‘बिरामी होइन मृत्यु भएको समाचार आयो । नेपाली समुदायका लागि हिलारी आफ्नो परिवारका सदस्य जस्तै थिए । यो समाचारले तिमीलाई दुःखित बनाएको होला । आज काम नगर, घर जानु ।’ त्यसपछि म घरतिर लागेँ ।
त्यस दिनदेखि करिब एक हप्तासम्म सञ्चार माध्यममा हिलारी र उनले नेपालको सगरमाथा क्षेत्रमा गरेको सामाजिक र सामुदायिक कार्य बारेमा निकै समाचार प्रसारण भयो । हिलारीको अन्त्येष्टि २२ जनवरी २००८ मा भएको थियो । अन्तिम बिदाइ कार्यक्रममा हिलारी परिवारका सदस्य, सरकारी पदाधिकारीपछि नेपाली समुदायलाई प्राथमिकता दिइएको थियो ।
२०७२ को विनाशकारी भूकम्प
नेपाल र नेपालीप्रति न्युजिल्यान्डरहरूको अपार श्रद्धा र माया छ भन्ने २०७२ को विनाशकारी भूकम्पको समयमा देखियो । न्युजिल्यान्ड सरकारको तर्फबाट न्युजिल्यान्ड डलर २० लाखको सहायता भएको थियो तर जनस्तरबाट ठुलो सहयोग भएको पाएँ । न्युजिल्यान्डको हरेक ठुला साना सहरबाट सहायता रकम सङ्कलन भएर थियो ।
बेलिङ्गटन नेपाली सोसाइटीले न्युजिल्यान्ड रेडक्रससँग मिलेर सडक चन्दा सङ्कलन गरेको थियो । बेलिङ्गटन सहरको तोकिएको स्थानमा तोकिएको अवधिभित्र बाटो हिँड्नेहरूबाट स्वेच्छाले चन्दा सङ्कलन गर्ने कार्यक्रम अनुसार पङ्क्तिकार पनि सहभागी भएको थियो । चन्दा सङ्कलन गरिएको बक्सा रेडक्रसलाई बुझाउने र रेडक्रसले नेपाल पठाउने समझदारी थियो । रेडक्रसले सबै हिसाब गरेर हामीलाई के जानकारी गराइयो भने रेडक्रसले विगतमा विभिन्न देशमा हुने दैवी प्रकोपपीडितलाई सहयोग गर्न सङ्कलन गरिएको मध्ये सबभन्दा बढी रकम नेपालको सहयोगमा सङ्कलन गरिएको रहेछ । रेडक्रसले बेलिङ्गटन नेपाली सोसाइटीलाई एउटा प्रमाण पत्र पनि दिएको थियो ।
यसै समयमा एक न्युजिल्यान्डरले सम्पर्क गरी नेपालमा भूकम्पका कारण मृत्यु भएकाहरूको सम्झना र घाइतेको शीघ्र स्वास्थ्यलाभका लागि एउटा प्राथना सभा गर्ने इच्छा व्यक्त गरे । त्यसका लागि नेपाली समुदायको उपस्थितिका लागि अनुरोध गरियो । नेपाली समुदायका केही सदस्यसँग परामर्श गरी नेपाली समुदाय सहभागी हुने उक्त व्यक्तिलाई जानकारी गराएँ । सोही अनुसार कार्यक्रम तय भयो । बेलिङ्गटनको एउटा चर्चमा भएको उक्त कार्यक्रममा नेपाली र अन्य समुदायका व्यक्तिको सहभागिता थियो । बुद्ध, हिन्दु, शिख, मुस्लिम, इसाई, यहुदी र बहाही धर्मका प्रतिनिधिले शान्ति पाठ गरे ।
बेलिङ्गटन क्षेत्रको रौमाती सहरबाट पनि नेपालको भूकम्पपीडितलाई सहयोग गर्न चन्दा सङ्कलन कार्यक्रम राखिएकाले नेपाली समुदायका एक जना प्रतिनिधिको सहभागिताका लागि अनुरोधसहित इमेल प्राप्त भयो । रौमाती सहर बेलिङ्गटन सहरबाट करिब ४० किलोमिटर उत्तरमा पर्छ । बेलिङ्गटन नेपाली सोसाइटीको तर्फबाट म आउँछु भन्ने जानकारी आयोजकलाई दिएँ । यो चन्दा सङ्कलन अन्य भन्दा फरक थियो । रौमाती सहरबाट उक्त कार्यक्रममा सहभागीले आफ्नो घरमा भएका समान जस्तो चित्र, कपडा, भाँडाकुडा, कुर्सी, टेबल आदि स्थलगत लिलाम बिक्री गर्ने र सोबाट सङ्कलन भएको रकम नेपाल पठाउने कार्यक्रम रहेछ । चन्दा सङ्कलन गर्ने कार्यक्रम राखेको केही दिनअघि उक्त क्षेत्रमा बाढीका कारण केही घरलाई क्षति पुर्याएको रहेछ ।
सङ्कलन गरिएको चन्दा पीडित स्थानीय घर परिवारलाई दिने कि नेपाल पठाउने भन्ने बारेमा छलफल हुँदा बहुसङ्ख्यक व्यक्तिले नेपाल पठाउने पक्षमा मत दिए । त्यसपछि मात्र नेपाली समुदायको सहभागितका लागि अनुरोध गरिएको रहेछ । धेरै न्युजिल्यान्डर हिमाल हेर्न नेपाल जान्छन् तर हिमालभन्दा नेपालीको जनजीवन, रहनसहन, खानपिन र संस्कृतिबारे बढी आकर्षित हुन्छन् । यही कारण नेपालीलाई सहयोग गर्ने उत्सुक हुन्छन् ।
सगरमाथा नेपालमा हुनु, यसको प्रथम सफल आरोहण गर्ने व्यक्ति नेपाली र न्युजिल्यान्डर भएको कारण नेपाल र न्युजिल्यान्डबिच जनस्तरमा सुमुधर सम्बन्ध रहेको व्यहोरा उल्लिखित उदाहरण र घटनाले प्रमाणित गर्छ । यो सम्बन्धलाई अझ मजबुत गर्ने न्युजिल्यान्ड संसद्मा सगरमाथा दिवस आयोजना गर्ने कार्यको शुभारम्भ गरिएको हो । प्रत्येक वर्ष यस्तै कार्यक्रम दुवै देशमा सञ्चालन हुनु आवश्यक छ ।