०५८ साल जेठ १९ गते शुक्रबार । ‘दरबार हत्याकाण्ड’ को त्यो त्रासदीपूर्ण रात । तत्कालीन राजा वीरेन्द्र शाह र उनका परिवारको अन्त्य । त्यो हत्याकाण्ड नेपालको इतिहासमा सम्भवतः सबैभन्दा बीभत्स र रहस्यमय घटना । दरबार हत्याकाण्ड भएको २३ वर्ष भयो । इतिहास उधिन्नेहरूका लागि २३ वर्ष छोटो लाग्न सक्छ तर इतिहास बनेको कुनै घटना भोग्नेका लागि २३ वर्ष निकै लामो हो । दरबार हत्याकाण्डपछि जन्मिएको व्यक्ति अहिले युवाको प्रतिनिधित्व गर्ने र तार्किक हस्तक्षेप गर्न सक्ने भएको छ । यो पुस्ताले इतिहासको त्यो रहस्यमय घटनालाई कसरी बुझ्दो हो ? के उक्त घटनाको सही दस्ताबेज निर्माण भएको छ ?
यो संहार र दस्ताबेजको कुरा गर्दा तत्कालीन दरबारका सैनिक सचिव विवेककुमार शाहले लेखेको ‘मैले देखेको दरबार’ र राजा वीरेन्द्रका चिफ एडिसी सुन्दरप्रताप रानाले लेखेको ‘दरबारको दुःखान्त’ नामक संस्मरण पनि चर्चामा आएकै हुन् तर ती संस्मरणले घटनाको यथार्थ र गहिराइ छुन सके कि सकेनन् भन्ने कुरा अलग हो ! यो आलेखको उद्देश्य पनि त्यो समयको सम्झना र त्रासदीको स्मरण गर्नु हो !
२३ वर्षअघिको कुरा हो तर समाचार सुविधा, पहुँच र सामाजिक सञ्जालको जालोमा जेलिएको यो आजको समाजको दाँजोमा दुई दशकअघिको त्यो समय पनि ‘दुर्गम’ ठहरिने रहेछ । मोबाइल फोन भर्खर सुरु भएको थियो । आम रूपमा मोबाइल त ‘विलासी’ र दुर्लभ चिज थियो ।
टेलिभिजनमा नेपाल टेलिभिजन मात्र थियो । समाचारका लागि पत्रिका र एफएम रेडियोकै दबदबा थियो । जेठ २० गते शनिबारको बिहानी, जे जति सञ्चार माध्यम छन्, ती माध्यमबाट भन्दा सहरका चोक चोकमा मान्छेको कानेखुसीमार्फत सृजित समाचार ‘माउथ टु माउथ’ फैलिएको थियो । त्यो दिन सायद ‘समाचारपत्र’ दैनिकमा आयो दरबार काण्डको समाचार । अरू पत्रिकाले छाप्न भ्याएनन् वा सकेनन् उनै जानून् ? बरु मुखामुख बनेको हल्लाले सहर तातेको थियो ।
जेठ २० गते बिहान १० बजेसम्म त सहरका चोक चोकमा संशयसहितको ‘मौन आक्रोश’ उर्लिएको थियो । देशमा कुनै विपत्, विस्मय वा अप्रत्याशित घटना हुँदा आमजनता सुसूचित हुने भनेको राष्ट्रियस्तरका सञ्चार माध्यमबाटै हो । गाम्भीर्यका हिसाबले दरबार हत्याकाण्डपछि रेडियो, टेलिभिजनले घण्टा घण्टामा बुलेटिन फुक्नुपर्ने हो । पत्रिकाले बिहान, मध्याह्न र सन्ध्याकालीनका लागि पूरक प्रकाशन गर्नुपर्ने खालको थियो तर देशमा ‘हेड अफ दी स्टेट’ को रहस्यमय हत्याको खबर दिनुको सट्टा कसैले ‘शोकधुन’ बजाए भने कसैले सानातिना समाचार पस्किए ।
राजपरिवारको त्यो बीभत्स हत्याको सनसनीपूर्ण खबर, अन्योल, आक्रोश अफवाहले सहर तातेको थियो । सामान्य ‘कात्रो’ मा दिवङ्गत राजारानी बेरिएको दृश्यले यस्तो दर्शन दिन्थ्यो कि जीवन, भोगाइ, सुखसयल र मानसम्मान व्यक्ति अनुसार फरक भए पनि मृत्युपछिको यात्रा सबैको साझा रहेछ । जीवनको अन्तिम यात्रामा राजा वीरेन्द्रको शवलाई छोप्न पर्याप्त रामनामीसमेत नपुगेर नीराजनको हिस्सा तानेर वीरेन्द्रलाई ओढाएको कुरा वीरेन्द्रका एडिसी सुन्दरप्रताप रानाले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
राजारानी बितेको खबर त खरबारीको डढेलो झैँ फैलिएको थियो । चोक चोकमा उत्सुकता र आक्रोश मिश्रित भिड थियो । तैपनि केटौले उत्सुकताले छाउनी अस्पतालको गेटैनिर पु¥यायो ! मान्छे त छाउनी अस्पतालको दायाँबायाँ खचाखच रहेछन् । हामी छाउनी अस्पतालको गेटनजिकै थियौँ, दायाँबायाँ सर्वसाधारण खचाखच । अस्पतालबाट राजारानीको शव नलगेसम्म चाहेर पनि भिड छिचोलेर घर फर्कने उपाय थिएन । तसर्थ कुरिरह्यौँ, भिडमा एकाकार भयौँ । स्वतःस्फूर्त जम्मा भएको भिडभित्र स्वतःस्फूर्त झुन्ड थिए ।
जेठको गर्मी र लामो दिन, तैपनि सर्वसाधारण टसमस नगरी अस्पतालबाहिर थिए । अपराह्नतिर वीरेन्द्र, ऐश्वर्यलगायत सदस्यको शवयात्रा सुरु भयो । अस्पतालबाट शव निकालेर किम्डोल, डल्लु, शोभा भगवती हुँदै पशुपति लैजान सुरु गरेपछि जम्मा भएको भिड पनि सोही दिशामा मोडिएर ‘मलामी’ मा परिणत भयो !
शवको खट बोकेका सैनिक ब्राह्मणहरू, सरकारका तर्फबाट शवयात्रीका रूपमा सामेल तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, अन्य उच्च पदस्थ र सेनाका हाकिमदेखि जवानसम्मको पहिलो पङ्क्तिको लस्कर अनि पछिपछि जनसाधारणको लहर थियो । शवयात्राले चार सय मिटर पनि पार गर्न नपाउँदै कुनै घरको छतबाट हो वा सडक छेउको डिलबाट कसैले प्रधानमन्त्रीको गाडीमा ताकेर ढुङ्गा इँटा प्रहार गरेछ । ‘भिआइपी’ जोगाउन सेना चनाखो हुनुप¥यो, एकछिन ठप्प भएर सेनाले दायाँबायाँ राइफल सोझ्याउँदा त भिड तर्सिएर फनक्कै विपरीत दिशामा फर्कियो । जता जाँदै छौँ, उतैबाट एक्कासि भिडको मुस्लो फर्किंदा ज्यान चेपुवामा परेको त्यो घटना सम्झिँदा अहिले पनि आङ जिरिङ्ग हुन्छ ।
जेठ १९, शुक्रबारे दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, तीन जना छोराछोरी दीपेन्द्र, श्रुति र नीराजन तथा शाही नातेदारको ज्यान गयो । यस हत्याकाण्ड गर्ने युवराज दीपेन्द्र हुन् भनी विदेशी समाचारले १९ गते रातिदेखि नै फुक्न थालिसकेको थियो । यस घटनामा रत्न, कोमल शाह, पारस, हिमानी, कुमार गोरखशमशेर, केतकी चेस्टर, प्रेरणा, शीताष्मा, दिलाशा, पूजा, राजीव शाहीलगायत शाही नातेदार कोही घाइते मात्र भए त कोही सकुशल बाँच्न सफल भए । घटनाका प्रत्यक्षदर्शी जो जो थिए अहिलेसम्म सबैको एउटै कुरा बाहिर आएको छ, ‘दीपेन्द्रको सनकले हत्याकाण्ड मच्चियो !’ दीपेन्द्रको प्रेम प्रसङ्ग र विवाहको कुरामा पारिवारिक बेमेल हुँदा इगो उत्पन्न भई त्यो हदसम्मको नरसंहार भएको कुरा बाहिर आयो ।
सत्ता आकाङ्क्षा, व्यक्तित्वको टकराव, अहङ्कार, महìवाकाङ्क्षा र शक्तिको उन्मादका कारण पारिवारिक कलह र नरसंहार हुने गरेका इतिहास प्रशस्तै छन् । नेपालकै सन्दर्भमा पनि ‘कोतपर्व’ को कटु इतिहास पढ्न त हामी बाध्य छौँ नै । दीपेन्द्रसँग सङ्गत गरेका मान्छे, समकक्षी, उनको सुरक्षामा नजिकबाट सामेल भएका व्यक्तिको कुरा पत्याउने हो भने दीपेन्द्र निकै ‘सन्की’ थिए ।
होला, दरबार हत्याकाण्ड दीपेन्द्रको सनककै कारण भए होला तर केही सरल र सामान्य जिज्ञासा भने आज पनि जीवित छन् ! दसौँ जनालाई एकै चिहान बनाउने गरी भएको उक्त नरसंहारका लागि दीपेन्द्रलाई व्यक्तिगत वा शासकीय रूपमा उक्साउने अरू कुनै तत्वको हात थियो कि ?
विज्ञानको एउटा मान्यता छ नि, ‘नाइट्रोजन ग्यास आफू बल्दैन तर बल्न प्रेरित गर्छ ।’ के दीपेन्द्रमार्फत दरबारमा हत्याकाण्डरूपी ‘ज्वाला’ दन्काउन नाइट्रोजन ग्यासले झैँ उत्प्रेरकको काम गर्ने तìव अरू केही थिए ? यस कोणबाट गहिरो अनुसन्धान नहुँदा हत्याकाण्डमा सधैँ एउटा ‘रहस्य’ को पर्दा लागिरह्यो ।
शक्तिशाली फौजको घेराभित्र रहेको दरबार, राजपरिवारका प्रत्येक व्यक्तिपिच्छे अलग अलग सुरक्षा बन्दोबस्ती तैपनि त्यत्रो संहार हुँदा ‘डिफेन्स’ शून्य अवस्था । दरबारको छत्रछायामै हुर्केका र नेपाली सेनाको सेनापतिसमेत बनेका रुकमाङ्गद कटवालले दरबारको सैनिक सचिवालय र सुरक्षाका सन्दर्भमा आफ्नो आत्मकथामा लेखेका छन् ‘औपचारिक दृष्टिले दुवै सेना एउटै देखिए पनि खासमा दुइटा हो ।’ के साँच्चै दरबार सचिवालय र एडिसी खटनपटनमा सैनिक नेतृत्वको भूमिका छायामा थियो ? तत्कालीन सेनापति प्रज्वलशमशेर जबराले यस विषयमा खास केही लेखेको÷बोलेको थाहा छैन ।
हुन त नेपालको शासकीय स्वरूपमा राजतन्त्र इतिहास बनिसकेको छ । यस सन्दर्भमा तत्कालीन राजा वीरेन्द्र र उनका परिवारको बीभत्स अन्त्यको नमिठो इतिहास कोट्याउनु व्यर्थ लाग्न सक्छ । तैपनि त्यो नमिठो घटनाको ‘कालो इतिहास’ हामीले चाहेर पनि मेटाउन त सक्दैनौँ ।
‘भवितव्य’ त भयो भयो, हुने हार दैव नटार । राष्ट्रप्रमुख र उनका परिवारको हत्या जस्तो त्यति ठुलो भवितव्यपछि मृतकको पोस्टमार्टमसम्म गरिएन, राज्यको तर्फबाट विधिशास्त्र जाँचबुझ पनि भएन ? यस्ता अनेकौँ प्रश्न गर्ने प्रशस्त ठाउँ छोडेर घटनाको दस्ताबेज तयार पारिएको छ ।
सेनाका कतिपय हाकिमले अड्कल काटे झैँ के दीपेन्द्रले ‘उन्मुक्त र लापर्बाह’ शैलीको जीवन अँगाल्नुमा उनका ‘दौँतरी’ खालका अङ्गरक्षकको पनि हात छ ? राजपरिवारको बाहिर देखिने औपचारिक जीवन र वैयक्तिक जीवनमा के आकाश जमिनको फरक थियो ? भइगो यस्ता काल्पनिक प्रश्न यही छोडौँ !
घटनापछिका केही सन्देहात्मक परिघटनाको कुरा गरौँ ! दरबार संहारको जानकारी पाउनासाथ देशको कार्यकारी प्रमुख, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गोलीकाण्ड भएको त्रिभुवन सदनको अवलोकन गर्न चाहेका थिए रे तर कोइरालाले घटनाको जानकारी मङ्गल सदनमै लिएर फर्किनु प¥यो ।
त्यत्रो जघन्य घटनापछि राजपरिवार कसैको पनि पोस्टमार्टम नगरिनुमा रत्नको ‘भावनात्मक आग्रह’ मात्र हो वा अरू केही ? रक्षा विज्ञ, अपराधशास्त्र र विधिविज्ञान प्रयोगशालाको उपयोगबाट घटनाको गहन अनुसन्धान हुनुपर्ने थियोे तर राजनीतिक चरित्रका पात्रमार्फत तयार पारिएको जाँचबुझ प्रतिवेदनले गर्दा ‘कन्स्पिरेसी थ्योरी’ मा ज्यादा बहकिने नेपाली चरित्रलाई झन् मलजल ग¥यो ।दरबार हत्याकाण्डको मूल कारण के थियो ? पारिवारिक विग्रहको विस्फोटक रूप थियो या त्यो बेला गिरिजाप्रसाद कोइरालाले भने झैँ कुनै ‘ग्य्रान्ड डिजाइन’ ? यी सबै उपशङ्का अहिलेसम्म इतिहासकै गर्तमा गुम्सिएका छन् ।
अझ खुलस्त भन्नुपर्दा दरबार संहारपछि राजगद्दीमा बस्न पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारले आक्षेप र आशङ्काको सुइरो ज्यादा सहनु प¥यो । जनआकाङ्क्षाका खातिरबिना रक्तपात र भलाद्मी तरिकाले गद्दी त्याग गर्न सक्ने ज्ञानेन्द्रले गद्दीकै लागि ‘रक्तपात’ को षड्यन्त्रमा सामेल भए होलान् भनी कसरी विश्वास गर्ने ? पूर्वराजा ज्ञानेन्द्रलाई बारम्बार लाग्दो हो ‘अनुसन्धानका सबै उपाय अवलम्बन गरेको भए सायद यति सारो अवगालबाट त बचिन्थ्यो होला ।’
कार्ल माक्र्सले भनेका छन्, “इतिहास दोहोरिन्छ : पहिलो पटक वियोगान्तका रूपमा र दोस्रो पटक प्रहसनका रूपमा ।” अनि विन्स्टन चर्चिलको भनाइ छ नि, “हिस्ट्री इज रिटन बाई द भिक्टर्स ।” अझ यसको नेपाली भावको कुरा गरौँ, ‘इतिहास चढ्न सक्नेको घोडा हो ।’ कुनै बखतको घटनाविशेष नै त इतिहास बन्ने हो ! त्यसैले इतिहास ‘प्रहसन’ पनि नबनोस् र चढ्न सक्नेको ‘घोडा’ मात्र पनि नबनोस् ! दिवङ्गत राजा वीरेन्द्र र परिवारप्रति हार्दिक श्रद्धाञ्जली !