शिक्षा विकासको आधार हो । शिक्षा एक आधारभूत मौलिक अधिकार पनि हो । परिष्कृत एवं मर्यादित जीवन र सम्मानित रोजगारी तथा उद्यमशीलता विकासको आधारसमेत शिक्षा हो । शिक्षाको समान अवसर विश्वव्यापी मान्यता हो । सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भएपछि यसको घोषणापत्रको बडापत्रमा जाति, लिङ्ग, भाषा वा धर्मका आधारमा भेदभाव नराखी सबै नागरिकलाई शिक्षा दिनुपर्ने कुरा लेखिएको छ ।
शिक्षामा समान अवसरले सम्पूर्ण बालबालिकालाई शिक्षा प्रदान गर्ने मान्यता छ तर देशको भौगोलिक, आर्थिक स्थिति र व्यक्ति तथा समाजको अवस्थाले सम्पूर्ण बालबालिकाले समान रूपबाट शिक्षा प्राप्त गर्ने मौका पाएका हुँदैनन् । अधिकारको पूर्ण उपयोग र अरूको सहअस्तित्व स्वीकार गरी आफ्नो कर्तव्यप्रति सचेत र प्रतिबद्ध हुनु सही अर्थमा सामाजिक न्याय हो । खराब के हो ? असल के हो ? पत्ता लगाउनु, कसैलाई थिचोमिचो नगर्नु, कसैलाई पनि भेदभाव नगर्नु, सहअस्तित्व स्विकार्नु, समभाव राख्नु सामाजिक न्याय हो । गरिब, धनी, सम्पन्न, विपन्न, जातजाति, भाषा, धर्म, आदि कुनै पनि अवस्थालाई आधार मानेर विभेद नगरी समान दृष्टिले सबैलाई समान तरिकाले शिक्षा प्राप्त गर्ने अवसर सुनिश्चित गर्नु सामाजिक न्याय हो ।
पछिल्लो शैक्षिक तथ्याङ्कले लैङ्गिक समता सूचकाङ्क करिब समदरमा पुगेको देखिन्छ । नेपालको संविधानको धारा १८ मा राज्यले नागरिकहरूका बिच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव नगर्ने उल्लेख गरिएको छ । संविधानमा शिक्षालाई नागरिकको मौलिक अधिकारका रूपमा उल्लेख गरिएको छ । देशका सबै नागरिकले शिक्षा पाउनु पर्छ भन्ने राज्यको नीति हो । धारा ३१ मा आधारभूत शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरिएको छ । संविधानले अपाङ्गता भएका र दलित बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क रूपमा शिक्षा प्राप्त गर्ने हकको सुनिश्चितता प्रदान गरेको छ । त्यसै गरी विशेष असहाय र अपाङ्गता भएका बालबालिकालाई सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएको छ ।
कानुनमा यस्तो उल्लेख भए पनि अझै पनि शिक्षामा समान अवसर कायम हुन सकेको छैन । देशका दूरदराजका बालबालिका विद्यालयबाहिर छन् । विद्यार्थीको सिकाइ उपलब्धि अत्यन्तै निराशाजनक छ । निकै कम विद्यालय मात्र बालमैत्री, अपाङ्गतामैत्री, लैङ्गिकमैत्री र विपत्प्रतिरोधी छन् । अशिक्षा, पछौटेपन र चेतनाको अभाव व्याप्त छ । कोभिड–१९, भूकम्प, बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपबाट प्रभावित भएका बालबालिकालाई विद्यालयमा शैक्षिक गतिविधि अगाडि बढाउन कठिन छ । समाजमा अर्थिक एवं सामाजिक रूपले पछाडि परेका, विपन्न र सुविधाविहीन समुदाय एवं फरक क्षमता भएका बालबालिकालाई विद्यालयको मूलप्रवाहमा ल्याउन सकिएको छैन । घरबारविहीन, सुकुमवासी, पूर्वकमैया, कमलरी, हलिया, लोपोन्मुख जातिका बालबालिकालाई विद्यालय शिक्षाको मूलधारमा ल्याउन सकिएको छैन । गरिबी, सामाजिक बहिष्करण, अपाङ्गता, बसाइँसराइ, बालश्रम, बालविवाह, सामाजिक कुप्रथा तथा लैङ्गिक भेदभाव आदिका कारण सबै बालबालिकाले विद्यालयमा भर्ना हुन र नियमित उपस्थित हुन, तोकिएको सिकाइ उपलब्धि हासिल गर्न सकिरहेका छैनन् । शिक्षाको अवसरबाट वञ्चित भएका, सिकाइलाई निरन्तरता दिन नसकेका, अध्ययन पूरा नगरी बिचैमा छाडेका विद्यार्थिको सङ्ख्या धेरै छ ।
जहाँ समस्या हुन्छ, त्यहाँ उपाय पनि हुन्छ । शिक्षामा समतामूलक र सहभागितामूलक पहुँचका लागि शिक्षक, अभिभावकमार्फत पिछडिएको क्षेत्रमा प्रारम्भिक सिकाइको पहुँच वृद्धि गर्नु पर्छ । सबै बालबालिकाको अधिकारको सम्मान गर्दै कुनै भेदभाव गर्नु हुँदैन । तथ्यमा आधारित नीतिगत पैरवीमार्फत विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्नु पर्छ । विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गर्न र शिक्षकमा प्रविधिसँग सम्बन्धित दक्षता विकासका लागि उपयुक्त वातावरण तयार गर्नु पर्छ । समाजमा आर्थिक एवं सामाजिक रूपले पछाडि परेका विपन्न र सुविधाविहीन समुदाय एवं फरक क्षमता भएका बालबालिकालाई विद्यालयको मूलप्रवाहमा ल्याउनु पर्छ । अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षण विधि र अपाङ्गतामैत्री विद्यालयको संरचना कार्यान्वयन गर्न आवश्यक छ । कक्षाकोठालाई पठनपाठनमा नवीन प्रयोग र अनुसन्धानमुखी बनाउनु पर्छ । बालबालिकालाई उनीहरूको उमेर, शारीरिक एवं मानसिक विकास तथा क्षमताका आधारमा रोजगारमूलक शिक्षाको व्यवस्था गर्नु पर्छ । शिक्षाको अवसर सबैका लागि समान रूपमा उपलब्ध हुनु पर्छ र यस्तो अवसरबाट कोही पनि विमुख हुनु नपर्ने सुनिश्चित गर्नु पर्छ । औपचारिक तथा अनौपचारिक दुवै परिप्रेक्ष्यमा जीवनोपयोगी सिपमा आधारित पाठ्यक्रम निर्माण गरी बालबालिकाको जीवनोपयोगी सिपमा सुधार ल्याउनु पर्छ । बालबालिकामा अन्तर्निहित क्षमता प्रस्फुटन गर्न÷गराउन कक्षाकोठामा मात्र शिक्षण सिकाइ प्रक्रियालाई सीमित नराखी समुदाय र वातावरणबाट पनि शिक्षकले धेरै कुरा सिकाउन सक्ने भएकाले उनीहरूलाई गीत, नाच, खोजपूर्ण कार्य, कथा, कविता, खेल जस्ता मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न गराउनु पर्छ । सबै बालबालिकाले उच्च गुणस्तरको शिक्षा प्राप्त गर्ने, सिक्ने र व्यक्तिगत विकासको अवसर प्राप्त गर्नु पर्छ । साथै शिक्षाका सबै पक्षमा बालबालिकालाई प्रोत्साहित गर्नु पर्छ । सुरक्षित, सहयोगी, सक्षम र बालमैत्री वातावरणमा शिक्षा प्रदान गर्नु पर्छ; जसले सिकाइ र व्यक्तित्व विकासलाई सहयोग पु¥याउँछ । शिक्षासँग सम्बन्धित समस्या समाधानका लागि नीतिगत र संरचनागत प्रबन्धलाई प्रभावकारी र नतिजामूलक बनाउनु आवश्यक छ ।
अन्त्यमा, शिक्षा चेतनाको ऊर्जा हो । शिक्षाको मूलधारमा आउन नसकेका बालबालिकालाई समावेशी, बालमैत्री, अपाङ्गतामैत्री, लैङ्गिकमैत्री र विपत्प्रतिरोधी सिकाइ वातावरण निर्माण गरी समतामूलक पहुँच र गुणस्तर वृद्धि गर्नु शिक्षाको आधुनिक चिन्तन हो । त्यसैले सबै बालबालिकालाई शिक्षाको समान अवसर प्रदान गर्नु पर्छ । यस कार्यमा तीन वटै तहका सरकारले पनि ध्यान दिनु पर्छ । कानुनी मान्यता दिएर मात्र सुविधाविहीन समूहले शिक्षाको अवसर प्राप्त गर्न सक्दैनन् । यसर्थ राज्यले शिक्षाबाट वञ्चितका लागि शिक्षाको सहज पहुँच पु¥याउन ठोस कार्ययोजना बनाउन आवश्यक छ ।