• ८ मंसिर २०८१, शनिबार

नयाँ युगको थालनी

blog

आज जेठ १५ गते गणतन्त्र दिवस । ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन र जनजाति आन्दोलनको बलमा संविधान सभामार्फत नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको औचित्य एवं महìवलाई थप सुदृढ गर्न र प्रेरणा प्राप्त गर्न आजको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ । गणतन्त्र दिवस परिवर्तनका निम्ति जीवन उत्सर्ग गर्ने तमाम वीर सहिद, परिवर्तनको पक्षमा रगत पसिना बगाउने सबै वीर वीरङ्गनाप्रतिको सम्मान, प्राप्त उपलब्धिहरूप्रति गौरवका साथै तमाम परिवर्तनका पक्षधर र गणतान्त्रिक मुलुकका निम्ति विशेष उत्सव पनि हो । आमपरिवर्तनकामीको आस्था, विश्वास र प्रतिबद्धताको प्रतीक पनि हो । 

गणतन्त्रपूर्वको अवस्थाबाट प्रशस्त लाभ लिएका सीमित सत्तारूढ वर्ग र त्यस बेलाको कठोर परिवेशबारे पर्याप्त जानकारी नभएका कतिपय नवयुवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका बारेमा हलुका टिप्पणी गर्ने गरे पनि आमपरिवर्तनकामी र न्यायप्रेमी जनसमुदायको दशकौँदेखिको सपना र आकाङ्क्षा हो । अनवरत निष्ठा, त्याग र सङ्घर्षको प्रतिफल हो । राज्यको एकात्मक र केन्द्रीकृत चरित्र, वंशवादमा आधारित शासनव्यवस्थामाथि जनताको सङ्घर्षले प्राप्त गरेको सफलता हो । 

बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपालमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक र सांस्कृतिक समस्या हल गर्न, गणतन्त्र, सङ्घीयता, समावेशिता र सामाजिक न्यायका तमाम एजेन्डाको सकारात्मक सम्बोधन सङ्घीय लोकतान्त्रिक गणतन्त्रका प्रमुख अन्तरवस्तु हुन् । यसलाई नेपाली विशेषताको लोकतन्त्रको रूपमा बुझ्ने र व्याख्या गर्नेसमेत गरिएको छ । समाजवादउन्मुख राज्यको चरित्रले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मौलिक चरित्र एवं विशेषतालाई स्पष्ट गरेको छ ।  

सङ्घीयतामार्फत राज्य जनताको नजिक पुग्नु, समावेशी व्यवस्थामार्फत राज्य व्यवस्थामा सबै वर्ग, लिङ्ग, जाति समुदायको पहुँच र सहभागिताको अर्थपूर्ण व्यवस्था हुनु, गणतन्त्रमार्फत जनताबाट छोराछोरी राज्यका शीर्ष स्थानमा पुग्नु र हुकुमीतन्त्रबाट मुक्त हुनु; गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत महिला, दलित आदिका सामाजिक न्यायको विषयलाई नागरिकको मौलिक अधिकारका रूपमा व्यवस्था गरी राज्यको दायित्व बनाउनु सङ्घीय लोकतान्त्रिक गणतन्त्रका प्रमुख उपलब्धि हुन् । यस अतिरिक्त जनमतबाट शान्तिपूर्ण रूपमा व्यवस्थाको परिवर्तन गर्न पाउने संवैधानिक व्यवस्था अर्को महत्वपूर्ण विशेषता हो । समग्रमा यो आर्थिक समृद्धि र सामाजिक न्यायका लागि संवैधानिक सुनिश्चितता हो । यस अर्थमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र केवल नयाँ राजनीतिक व्यवस्था मात्र होइन, नयाँ युगको थालनी पनि हो । नयाँ आशा, विश्वास र भविष्यको प्रतिविम्ब पनि हो । 

संविधानमा गरिएका व्यवस्थाहरू केवल आत्मसम्मान र गौरवका विषय मात्र नभएर आमनेपालीका लागि अवसर र प्रेरणा पनि बनिरहेका छन् । कतिपय क्षेत्रमा सयौँ वर्षमा नभएका आर्थिक सामाजिक विकासका प्रतिफलहरू गणतन्त्र घोषणापछिको दुई दशक पूरा नहुँदै हासिल भइरहेका छन् । अझ थप प्रतिफल हासिल गर्ने हुटहुटीसमेत जन्मिरहेको छ । गरिबी निवारण, जलविद्युत् उत्पादनको क्षेत्र, सञ्चार, सडकलगायतका अन्य पूर्वाधारका क्षेत्रमा, पछाडि परेको वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायमा पैदा भएको जागरण, आत्मविश्वास र सहभागिताको अवसर आर्थिक सामाजिक रूपान्तरणको अर्को महत्वपूर्ण आयाम हो । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै प्राप्त भएका उपर्युक्त उपलब्धिहरूका बिच अपेक्षित उपलब्धिहरू हासिल गर्ने कुरामा भने केही सीमा प्रकट हुने गरेका छन् । उन्नत राजनीतिक व्यवस्था र अविकसित आर्थिक सामाजिक अवस्थाबिचको अन्तरविरोध वर्तमानको प्रमुख समस्या एवं चुनौती बन्न पुगिरहेको छ । 

शीघ्र परिणामको जनअपेक्षा, राजनीतिक अस्थिरता, नीति एक पक्षको नेतृत्व अन्य पक्षको हुनु, राज्यको राजनीतिक संरचनाबाहेक अन्य स्वरूप परम्परागत ढाँचा र शैलीको हुनु, राजनीतिक र आर्थिक नीतिबिचको अन्तर वर्तमानका प्रमुख अन्तर्विरोधहरू हुन् । यसका अलावा परिवर्तित राज्यव्यवस्था अनुरूप नयाँ सांस्कृतिक मूल्य स्थापित हुन नसक्नु अर्को सीमा एवं कमजोरीका रूपमा प्रकट भएको छ । यद्यपि यतिबेला प्राप्त उपलब्धि, सीमा र समस्याको तुलना गर्दा मूल पक्ष उपलब्धि हो । 

प्राप्त उपलब्धिको रक्षा, सुदृढीकरण र थप विस्तारका लागि आर्थिक विकासको नयाँ मोडेल, संस्थागत सुधार, नयाँ सांस्कृतिक मूल्यबोधको आवश्यकता देखिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र न गणतन्त्रात्मक व्यवस्था हो न त परम्परागत संसदीय प्रणाली नै; यो नेपाली मौलिक विशेषतासहितको नयाँ लोकतान्त्रिक प्रणाली हो । समाजवादतर्फको झुकाव नेपाली लोकतान्त्रिक प्रणालीको विशिष्टता हो । यो वास्तविकतालाई आत्मसात् गरेर मात्र हामी नयाँ अर्थनीति, नयाँ संस्कृति र नयाँ कार्यशैली निर्माणको दिशामा अगाडि बढ्न सक्छौँ । १७ औँ गणतन्त्र दिवसले हामी सबैलाई यही प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना !   

Author

सत्य पहाडी