जीवछ यादव
लहान, जेठ ५ गते । बरियारपटि गाउँपालिका –३ वडा कार्यालयले वडाका मुसहर बस्तीका ९९ घरपरिवारलाई खाना पकाउन ग्यास चुल्होसहित भर्ती ग्यास सिलिण्डर र बाल्ने लाइटर वितरण गरेको छ ।
वडाका सबै दलित समुदायको प्रतिपरिवारमा ग्यास चुल्हो, सिलिण्डर वितरण गर्ने योजनाअनुसार पहिलो चरणमा वडाका तीनवटा टोलका ९९ घर परिवारलाई सो सामग्री वितरण गरिएको वडाध्यक्ष विनोदकुमार यादवले बताउनुभयो ।
उहाँको अनुसार मुसहर समुदायलाई खाना पकाउन अरुको बगैंचामा रुखबाट खसेका सुकेका पात (स्याउला) सोहाेरेर खाना पकाउने बाध्यता दाउराको अभाव गर्मी समयमा खाना बनाउन प्रयोग गरिने स्याउलाबाट आगलगी हुने घटनालाई ध्यानमा राखी यस वर्ष वडाबाट नौ लाख रुपियाँ बजेट विनियोजन गरेर ग्यास चुल्होसहित सिलिण्डर वितरण गरिएको हो ।
आउने वर्षमा दलित समुदायकमा पर्ने राम (चमार) दुसाध (पासवान), धोबी (रजक) समुदायको तथ्याङ्क सङ्कलन गरी ग्यास चुल्हो र सिलिण्डर वितरण गरिने वडाध्यक्ष यादवले जानकारी गराउनुभयो । उहँले भन्नुभयो, ‘खाना पकाउन बालबालिकालाई पठाउने, समयमा खाना नपाक्दा विद्यालय नपठाउने र जन्मदार्ता समेत नगराउने समस्या देखिएपछि यो कार्यक्रम ल्याइएको हो ।’
ग्याँस चुल्हो र सिलिण्डर वितरण गरेपछि हममी मुसहर समुदाय निकै खुसी भएको ककुल्ती सदाय मनीषादेवी सदाय र विष्णुदेवी सदायले भन्नुभयो । खाना पकाउन भोग्दै आइरहेको समस्यालाई वडा कार्यालयले बुझेको उहाँहरुको भनाइ छ । ‘अब मुसहर बस्तीमा सामुदायिक भवन जनता आवास बालबालिकालाई बिहान–बेलुका पढाउन ट्युशन कक्षा सञ्चालनका लागि माग गरेका छौ । मागलाई प्राथमिकतामा राखेर वडाध्यक्ष यादवले बजेट विनियोजन गरेकाले विपन्न दलितको दुःख पीडा बुझने जनप्रति पाएका छौ’ मुसहर प्रतिनिधिले भन्नुभयो ।
असार–भदौ महिनामा वर्षाको पानीले घरमा खाने अन्न भए पनि दाउरा नहुँदा खाना पकाउन नसकेर भोकै बस्नुपरेको समस्या अब ग्यास चुल्हो पाएपछि टरेको नगियादेवी सदायले बताउनुभयो । बरियारपटि गाँउपालिका –३ का वडाध्यक्ष यादवले विपन्न दलितका समस्यालाई समाधान गर्न बजेट विनियोजन गर्ने अभ्यास सुरु गरेकोमा मुसहर समुदाय खुसी भएको बताउनुभयो ।